जेठ ७, २०८१ सोमबार May 20, 2024

विद्यार्थीसँग असुलेको बढी रकम फिर्ता नगरे शुल्क नतिर्ने सिएमसीका विद्यार्थीको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कलेजले बढी असुलेको रकम फिर्ता नगरेसम्म तोकिएको शुल्क पनि नतिर्ने चितवन मेडिकल कलेजका विद्यार्थीले चेतावनी दिएका छन् । भदौ पहिलो सातादेखि कलेजमा तालाबन्दी गरेर पढाइ र परीक्षा बहिष्कार गर्दै आएका उनीहरूले न्याय नपाएपछि आन्दोलनको स्वरूप बदलेका हुन् । पढाइलाई निरन्तरता दिन विद्यार्थीले मंगलबार तालासमेत खोलेका छन् ।

आठ संकायका विषयको पढाइ हुने सिएमसीमा सबै विद्यार्थीसँग कलेजले तोकेभन्दा बढी शुल्क असुलेको छ । तर, १० मंसिरमा सञ्चालकसँग सहमति गर्दै सरकारले एमबिबिएस र बिडिएसका विद्यार्थीको पहिलो र दोस्रो वर्षका अतिरिक्त शुल्क मात्रै फिर्ता या समायोजन गर्ने जनाएको थियो । सरकारले सञ्चालककै पक्षपोषण गर्दै विद्यार्थीलाई थप अन्याय गरेको भन्दै विद्यार्थीले आन्दोलनलाई निरन्तरता दिँदै आएका छन् ।

नर्सिङ, बिपिएच, बिएमएलटी, बिएमआइटी, फार्मेसीलगायत विषय पढ्ने विद्यार्थीसँग असुलेको बढी शुल्क पनि फिर्ता गर्न उनीहरूको माग छ । यी विषयमा छात्रवृत्ति पाएका विद्यार्थीसँग ६ लाख र अन्यसँग १३ देखि २० लाखसम्म अतिरिक्त शुल्क कलेज प्रशासनले असुलेको विद्यार्थी बताउँछन् ।

‘एमबिबिएस र बिडिएस संकायका विद्यार्थी मात्रै ठगिएको होइन, कलेजमा पढाइ हुने आठवटै संकायका विद्यार्थीको ०७२/७३ देखिको रकम फिर्ता वा समायोजन हुनुपर्छ,’ एमबिबिएस चौथो वर्षमा अध्ययनरत असीम अख्तरले भने । अहिलेसम्म सबै विद्यार्थीसँग ५६ करोड बढी ठगी भएकोमा सात सय विद्यार्थीको ३२ करोड फिर्ता गर्नुपर्ने र २२ करोड समायोजन हुनुपर्ने विद्यार्थीले जनाएका छन् । नयाँ पत्रिका दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया