जेठ ७, २०८१ सोमबार May 20, 2024

लाख दिएर करोड असुल्ने राजपा नेता यादव पक्राउ, नयाँ शक्ति पार्टीका अर्का नेता रौनियार फरार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः लाख ऋण दिएर करोडको तमसुक बनाउने र जग्गा बन्धकी मात्रै होइन, रजिस्ट्रेसन नै पास गरेर १५ सय व्यक्तिलाई ठग्ने खुंखार साहुकार रामबाबु राय यादव प्रहरी फन्दामा परेका छन् ।

आफ्ना कर्तुत सार्वजनिक भएपछि भेष बदलेर भाग्दै गरेको अवस्थामा यादवलाई बुधबार दिउँसो साढे १२ बजे प्रहरीले सर्लाहीको हरिपुरबाट पक्राउ गरेको खबर प्रमुखताका साथ नयाँपत्रिका दैनिकले छापेको छ ।

सहयोगीले चलाएको मोटरसाइकलमा बसेर उनी मलंगवातिरबाट नवलपुरतर्फ आउँदै थिए । कालो मास्क लगाएका उनले सजिलै कसैले नचिनून् भनेर गम्छाले टाउको ढाकेका थिए । हरिपुर-१ स्थित मलंगवा सडकखण्डमा प्रहरी एम्बुसमा परेका उनले फुत्किने कोसिस गरेका थिए । प्रहरीले छाड्ने संकेत नदेखाएपछि आफू राष्ट्रिय जनता पार्टीको केन्द्रीय सदस्य भएको भन्दै धम्क्याए ।

रायलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको छ । प्रहरीले उनीविरुद्ध अनुसन्धान सुरु गरिसकेको छ । प्रहरीका अनुसार रायविरुद्ध बुधबार मात्रै २० भन्दा धेरै लिखित उजुरी परेका छन् ।

हजारभन्दा धेरैलाई पाँच अर्ब ऋण दिएको कागज बनाउने सर्लाहीकै अर्का साहुकार रौनियारको पनि प्रहरीले खोजी गरिरहेको छ । प्रहरीका अनुसार उनी भागेर भारत गएका छन् । रौनियारसँग भारतीय नागरिकता पनि छ । उनले सर्वसाधारणलाई ऋण दिएर उनीहरूको जग्गा नै हडप्ने गरेका थिए ।

सर्लाही, महोत्तरी, धनुषा, सिराहा, रौतहटलगायतका हजारजनाभन्दा धेरैलाई पाँच अर्बभन्दा बढी ऋण दिएको कागज उनले गराएका छन् । रौनियार गत निर्वाचनमा तत्कालीन नयाँ शक्ति पार्टीका तर्फबाट सर्लाही २ (क)मा उम्मेदवार थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया