जेठ ७, २०८१ सोमबार May 20, 2024

स्ववियु चुनावमा क्याम्पस प्रमुखहरूबाट ठूला विद्यार्थी संगठनको प्रतिबद्धता र सुरक्षाको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः  त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सामुदायिक क्याम्पसमा १४ फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा क्याम्पस प्रमुखहरूले ठूला विद्यार्थी संगठनको प्रतिबद्धता र सुरक्षाको माग गरेका छन् ।

केन्द्रीय स्ववियु निर्वाचन अनुगमन समितिले स्ववियु चुनावबारे छलफल गर्न सोमबार गरेको उपत्यकाका क्याम्पसहरूको भेलामा प्रमुखहरू स्ववियु चुनाव गराउनुपर्ने पक्षमा देखिए पनि ठूला संगठन अन्तिमसम्म तयार हुनेमा भने आशंका व्यक्त गरेका छन् । विगतका वर्षमा स्ववियु चुनावको तयारी भए पनि अन्तिममा स्थगित भएको स्मरण गर्दै उनीहरूले प्रतिबद्धता र सुरक्षित वातावरण बनाउन आग्रह गरे को खबर नयाँपत्रिका दैनिकले प्रकाशित गरेको छ ।

भेलामा क्याम्पस प्रमुखहरूले नेकपाको विद्यार्थी संगठन अनेरास्ववियु र कांग्रेसको विद्यार्थी संगठन नेविसंघ अन्तिमसम्ममा स्ववियु चुनावको पक्षमा उभिए मात्र सम्पन्न गर्न सकिने धारणा राखे । अन्तिमसम्म चुनाव गराउने विषयमा ठूला विद्यार्थी संगठन एकमत हुनेमा क्याम्पस प्रमुखहरूले आशंका व्यक्त गरे ।

नेविसंघमा केन्द्रीय कार्यसमिति नहुँदा र क्याम्पसमा समेत धेरै समूह हुँदा समस्या हुने धारणा क्याम्पस प्रमुखले राखेको छलफलमा सहभागी त्रिविका एक अधिकारीले बताए । त्यसैगरी, नेकपाको विद्यार्थी संगठन एक भए पनि तलसम्म एकीकृत नभएकाले समस्या हुने आशंकासमेत उनीहरूको थियो ।

अनेरास्ववियुको केन्द्रीय कमिटी एक भए पनि क्याम्पस कमिटी एकीकृत भइसकेका छैनन् । भेलामा स्ववियु चुनाव गराउन त्रिविले क्याम्पस प्रमुखहरूलाई पत्रसमेत दिएको छ । अघिल्लो वर्ष कार्यतालिका सार्वजनिक गरेर मिति नजिकै आउँदा चुनाव स्थगित भएकाले त्यस्तो अवस्था आउन नदिन क्याम्पस प्रमुखहरूले ध्यानाकर्षण गराएका छन् । स्नातकोत्तर प्रथम सेमेस्टरमा भर्ना प्रक्रिया चलिरहेकाले त्यसलाई ख्याल गरेर मात्र तालिका ल्याउनसमेत उनीहरूको सुझाब छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया