चैत्र १५, २०८० बिहिबार March 28, 2024

अर्थहीन अनुसन्धान- प्रा.डा. निरञ्जन पराजुली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनी वा गरिब देश जहाँ भए पनि अनुसन्धानलाई जर्नलमा प्रकाशन गरी त्यसको संख्यात्मक उपलब्धिलाई गणना गर्ने होडबाजी अचेल निकै बढेको छ विश्वमा । एक जर्नलमा प्रकाशित शोधलाई अर्कोले उद्धृत वा ‘साइट’ गरेमा त्यसलाई प्राज्ञिक क्षेत्रमा उपलब्धिका रूपमा हेरिन्छ । जसअनुसार अनुसन्धान र शोधकर्ताको बौद्धिक क्षमताको मूल्यांकन गर्ने प्रचलन छ । जसको जर्नलमा शोध लेख धेरै प्रकाशन भयो अर्थात् ‘साइटेसन’ बढी भयो, उसैलाई सफल शोधकर्ता मानिन्छ । युरोप, अमेरिकादेखि नेपालसम्म जर्नलको ‘र्‍याङकिङ’ र ‘साइटेसन’को आधारमै कुनै व्यक्तिको रोजगारीदेखि विकसित देशमा आवासीय अनुमति पाउनेसम्मको सुनिश्चितता गर्दछ ।

जर्नलले यसरी विश्वबजार तताएको पछिल्लो दुई दशकदेखि मात्र हो । त्यसअघि इन्टरनेटको पहुँचलगायत कारण अनुसन्धानको दायरा पनि संसारमा साँघुरो नै थियो । सन् १९९६ देखि सन् २०१७ सम्म करिब ६८ लाख शोधलेख प्रकाशन भएको एक अध्ययनले देखाएको छ । तर, विगतमा कैयौँ नोबेल पुरस्कार विजेताको शोधलेख अन्य जर्नलमा बिरलै वा नगण्य साइटेसन भएको भेटिन्छ । र, त्यसरी थोरै साइटेसन भए पनि विश्वमा प्राज्ञिक उन्नयन र विकास अवरुद्ध भएको थिएन, यसले निरन्तरता पाएकै थियो । जसको जगमा आजको पुस्ता उभिएको छ । यस लेखको मुख्य आशय शोधलेखको संख्यात्मकभन्दा गुणात्मक सुधारमा केन्द्रित हुनुपर्छ भन्ने हो ।

करिब दुई शताब्दी लामो इतिहास भएको ‘ब्रिटिस साइन्स एसोसिएसन’की पूर्वअध्यक्ष उता फ्रिथले पनि हालै अनुसन्धानको गुणस्तरमा जोड दिन आग्रह गरेकी छिन् । ‘स्लो साइन्स रिभोलुसन’को नाममा ‘फ्रिथ’ले संख्यात्मकभन्दा गुणस्तरीय शोधलेख प्रकाशन हुनुपर्ने तर्क गरेकी छिन् । अर्थहीन शोधलेखभन्दा वर्षको एउटा मात्र गुणस्तरीय शोध प्रकाशनमा उनको जोड छ । करिब तीन सय ५१ वटा अनुसन्धानमूलक शोधलेख जर्नलमा प्रकाशन गरेकी ‘फ्रिथ’ले आफ्नो कमजोरी स्विकार्दै भनेकी छिन्– मैले कुनै आमूल परिवर्तन हुने खालको शोधलेख प्रकाशन गरेजस्तो लाग्दैन ।

विश्वका उत्कृष्ट विश्वविद्यालयमध्ये १५औँ स्थानमा पर्ने ‘युनिभर्सिटी कलेज लन्डन’की प्राध्यापक उता फ्रिथले ‘ट्रेन्स इन कग्निटिभ साइन्सेस’ नामक जर्नलमार्फत यस्तो बताएकी हुन् । तर, प्रायः यसरी विज्ञहरूले आत्मालोचना गरेको पाइँदैन । भावी पुस्तालाई नयाँ बाटोमा डोर्‍याउन वास्तविकतालाई ढाकछोप होइन, विकल्प प्रस्ट्याउनुपर्छ । हाल एकथरि नेपाली प्राज्ञिक समूह पनि विदेशीलाई पछ्याउँदै जर्नलको संख्यात्मक वृद्धिको अन्त्यहीन बाटोमा हिँडिरहेको छ । र, अर्काथरि प्राज्ञिक समूह भने शोधग्रन्थको चोरी, जर्नलमा नक्कली तथ्यांक र अरूको सारेर किताब लेख्ने नक्कली अभ्यासमा तल्लीन देखिन्छ ।

देशको आवश्यकता, उत्पादन र औद्योगिक क्षेत्रमा योगदान पुर्‍याउन नसक्ने सैद्धान्तिक अनुसन्धानको अर्थ छैन

फलस्वरूप देशको आवश्यकता पहिचान गरी गुणात्मक अनुसन्धानमार्फत उत्पादन र रोजगारीमा उच्च शिक्षालाई जोड्न सकिएको छैन । परिणामतः बहुमूल्य जडीबुटी कौडीको मूल्यमा विदेश निर्यात भइरहेको छ । अर्बौंको व्यापार हुने फार्मास्युटिकल कम्पनीलाई चाहिने एउटा पनि कच्चापदार्थ (केमिकल) देशमा उत्पादन हुन सकेको छैन । कृषिमा सामान्य प्रविधिगत सुधार गर्न सकिएको छैन । यसरी मूल्यांकन गर्दा के हामी अर्थहीन अनुसन्धान त गर्दै छैनौँ ? भन्ने प्रश्न सोझिएको छ । विश्वविद्यालयका सेवा आयोगले उत्पादन र रोजगारीमूलक अनुसन्धानलाई मात्र शिक्षक छनोटको आधार बनाउनुपर्नेमा त्यसो हुन नसकेको कारण प्राज्ञिक क्षेत्र प्रयोगात्मक र बजारमुखीभन्दा सैद्धान्तिक वा कोरा अनुसन्धानमा लिप्त भएको हो ।

बेलायती संस्था ‘टाइम्स हायर एजुकेसन’का अनुसार सन् २०१६ देखि २०१८ सम्ममा संसारमा सबैभन्दा बढी जर्नल प्रकाशन गर्नेमा पाकिस्तानी गणितका प्राध्यापक ‘तसावर हयात’ रहेछन् । जसले सो अवधिमा सहकार्यात्मक शोधमार्फत करिब ९ सय ९६ पेपर (जर्नल) प्रकाशन गरेछन् । त्यसैसरी बेलायतका प्राध्यापक ‘ग्रेगरी लिप’ले यिनै ३ वर्षमा चिकित्सा शास्त्रमा करिब ५ सय ४८ पेपर प्रकाशन गरेछन् । तर, पक्कै पनि यसरी बढीभन्दा बढी शोध लेख छपाउने होडले विश्वमा गुणस्तरीय अनुसन्धान र दिगो विकासका सूचकांकहरू पहिल्याउन मद्दत गर्दैन । नेपालमा पनि हाल यो जोखिम बढ्दो छ । आगामी एक दशकमा नेपाली प्राज्ञिक क्षेत्र पनि अनुसन्धानको नाममा संख्याको जोडघटाउमा चुर्लुम्म डुब्ने निश्चित छ । र, देशले अनुसन्धानको प्रतिफल नपाउने पक्का छ ।

जर्नलमा कसरी साइटेसन बढाउने भन्ने खेलले नेपालमा मात्र होइन, संसारमै अनुसन्धानकर्ताहरू तनावग्रस्त भएको विभिन्न अध्ययनले पनि पुष्टि गरेको छ । प्रसिद्ध वेबसाइट ‘वेब अफ साइन्स’का अनुसार विश्वमा प्रकाशित करिब १० प्रतिशत शोधलेख कसैले ‘साइट’नगरेको पनि भेटिएको छ । त्यसबाहेक विश्वका उत्कृष्ट विश्वविद्यालयमा शोधलेख जर्नलमा प्रकाशित नभए पनि शोधार्थीलाई पिएचडी उपाधि दिने गरेको पाइन्छ । त्यसैले जर्नल र साइटेसनको गलत खेलमा फस्दा नेपालजस्तो कम विकसित देशको प्राज्ञिक क्षेत्र विचारको बन्धक भएको छ ।

नेपालमा विदेशी जर्नलमा प्रकाशित शोधलेखलाई अन्तिम सत्य भनी भ्रमपूर्ण रूपमा बुझेको पनि भेटिन्छ । यो मान्यता सर्वथा गलत हो । प्रकाशित शोधलेखको समीक्षा जुनसुकै वेला पनि हुन सक्छ । नयाँ अनुसन्धानले पुराना मान्यतालाई विस्थापित गर्न सक्छ भन्ने यथार्थ भुल्नु हुँदैन । वास्तवमा जर्नलमा प्रकाशित सबै शोधलेख आलोचनामुक्त वा शतप्रतिशत सत्य हुन्छन् भन्ने होइन । तर, वैज्ञानिक जगत्मा एकले अर्काको कामको खुलेर आलोचना कमै गर्छन् ।

खासमा यस्तो हुनुको मुख्य कारण अनुसन्धानकर्ताहरू आफ्नो साइटेसन कसरी बढाउने भन्ने खेलमा फसेको कारण ‘सोसल नेटवर्किङ’ बिगार्न कोही चाहँदैनन् । जर्नलको संख्यात्मक परिणाममा जोड दिएका कारण अचेल विश्वमा फर्जी जर्नलको पनि ठूलै समस्या छ । भारतीय विश्वविद्यालय अनुदान आयोगले त्यस्ता तीन हजार जर्नलको सूची केही समयअगाडि निकालेको थियो । तर, नेपालमा यस्ता फर्जी जर्नलको समस्या भने खासै छैन, तर थेसिस लेखनमा कृति चोरीलगायत समस्या भने व्यापक नै छ ।

नेपालमा वर्तमान अवस्थाको विवेचना गर्दा गुणस्तर शोधलेख प्रकाशन गर्न आवश्यक प्रयोगशाला र उपकरण विश्वविधालयमा पटक्कै छैनन् । त्यसैले नेपाली अनुसन्धानकर्ताबाट प्रयोगशालामा आधारित अनुसन्धानबाट वर्षको एक वा दुई गुणस्तरीय शोधलेख अपेक्षा गर्न सकिँदैन । जसका कारण अनुसन्धानलाई उत्पादन अर्थात् रोजगारीसँग जोड्न सकिएको छैन । प्राज्ञिक महत्वका अनुसन्धानले नेपाली आवश्यकता र धरातल पहिचान गर्दैन । त्यसैले त स्नातकोत्तर पास गरेका विद्यार्थी बेरोजगार भएका छन् । विश्वविद्यालयहरूले परम्परागत अनुसन्धानलाई त्यागेर रोजगारमूलक अनुसन्धानमा जोड दिन आवश्यक छ । यदि विद्यार्थीलाई रोजगारीको सुनिश्चितता गर्दैन भने त्यो अनुसन्धानको अर्थ छैन ।

बढीभन्दा बढी शोधलेख छपाउने होडले विश्वमा गुणस्तरीय अनुसन्धान र दिगो विकासका सूचकांकहरू पहिल्याउन मद्दत गर्दैन । नेपालमा पनि हाल यो जोखिम बढ्दो छ ।

अमेरिकाको एक कम्पनीमा वैज्ञानिकका रूपमा कार्यरत डा. राजेन्द्र आचार्यले हालै त्रिभुवन विश्वविद्यालयमा भने– चाइनिज कम्पनीले उत्कृष्ट र गुणस्तरीय अनुसन्धानका लागि अमेरिकी विश्वविद्यालयलाई पनि आर्थिक सहयोग उपलब्ध गराउने रहेछ । ‘जैविक प्रकाश उत्सर्जक डायोड (ओएलइडी)’ मा अनुसन्धान गर्ने साधन स्रोत वा उपकरण र ज्ञानको खोजीका लागि चिनियाँले अमेरिकामा लगानी गरेका रहेछन् । तर, नेपालमा लगानी, उत्पादन र रोजगारीका हिसाबले अत्यन्त महत्वपूर्ण क्षेत्रहरू, जस्तै– कृषि, जडीबुटी, औषधि विकास र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय अनुसन्धान थालनी गरी विश्वविद्यालयलाई जीवन्त बनाउने योजना पटक्कै देखिएको छैन, सुनिएको छैन ।

उच्च शिक्षामा अनुसन्धानको गुणस्तर सुधार गर्न अर्बौंको लगानी आवश्यक देखिन्छ । तर, सरकारी योजना त्यसमा तालमेल हुने खालको छैन । हालै रसायनशास्त्री डा. अच्युत अधिकारीले पाकिस्तानमा गरेको अनुसन्धानलाई एक अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको समाचार निकै आयो, तर उनलाई नेपालमा त्यस्तै अनुसन्धान गर्न आवश्यक साधन स्रोतसम्पन्न प्रयोगशाला देशमा नभएको यथार्थ कसैले उजागर गरेन । नेपालमा यस्ता प्रतिनिधि उदाहरण थुप्रै छन् । क्षमता भएका वैज्ञानिक र विद्यार्थी हजारौँ छन्, तर स्तरीय प्रयोगशाला एउटै छैन । नेपालबाट औषधिजन्य वनस्पति विदेश पुगिरहेको छ । देशमा कमजोर वैज्ञानिक पूर्वाधार र असफल सरकारी नीतिका कारण जैविक वस्तुको दोहन रोकिएको छैन । भएको छ त केवल सैद्धान्तिक अनुसन्धानको दायरामा प्राज्ञिक क्षेत्रलाई खुम्च्याउने काम ।

अन्त्यमा, विश्वविद्यालयहरूले अनुसन्धानमा गुणात्मक सुधार ल्याउन शोधकर्ताबाट वर्षको एक वा दुईवटा मात्र शोधलेखको अपेक्षा गर्दै त्यसमा तालमेल हुने गरी नयाँ कार्यनीति तय गर्नुपर्छ । देशको आवश्यकता, उत्पादन र औद्योगिक क्षेत्रमा योगदान पुर्‍याउन नसक्ने सैद्धान्तिक अनुसन्धानको संख्यात्मक वृद्धिको कुनै अर्थ छैन । नयापत्रिका दैनिकबाट ।
(

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको समन्वय अपरिहार्य : सञ्चारमन्त्री शर्मा
२०८० चैत्र १५, बिहिबार
दाङमा अटो दुर्घटना हुँदा ३ जना घाइते
२०८० चैत्र १५, बिहिबार
कांग्रेसमा खुसी ल्याउन आवश्यक छः महामन्त्री थापा
२०८० चैत्र १५, बिहिबार
बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री लामिछाने
२०८० चैत्र १५, बिहिबार
रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त
२०८० चैत्र १५, बिहिबार
एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित
२०८० चैत्र १५, बिहिबार
गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता : सुष्मा र अस्मिता सेमिफाइनलमा
२०८० चैत्र १५, बिहिबार