काठमाडौंः मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । दिउँसो १ बजे सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी गराएको छ ।
सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू आउँदो मङ्सिर ४ गते निर्वाचन गर्न सकारात्मक देखिएसँगै आजको बैठकबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा हुन सक्नेछ ।
निर्वाचन आयोगले यसअघि नै मङ्सिर २ गते एकै चरणमा गर्ने गरी सरकारसमक्ष निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ । सोही अनुसार सरकारले मङ्सिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा गर्ने सम्भावना छ ।
मन्त्रिपरिषद्को बैठकअघि आजै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै छ । बैठकमा निर्वाचनसँगै संसद् अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
आजको बैठकमा केही सचिवहरूको बढुवासँगै पदस्थापन र सरुवासमेत हुँदै छ । बैठकले प्रशासनतर्फ रिक्त एक सचिव पदका लागि सचिव बढुवा सिफारिस समितिले पठाएकामध्ये एक जनालाई बढुवा गर्नेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया