काठमाण्डौंः गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग गरेको सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बुधबार प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित काठमाडौँ उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा मन्त्री खाँणले भने, ‘यसअघिको सरकारले विभिन्न राजनीतिक दलसँग गरेको सम्झौता विधिमा उभिएरै पुरा गर्न प्रतिविद्धताका साथ लागेका छौँ ।’
केपी ओली नेतृत्वको सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बिचमा भएको सहमति अनुसार सो पार्टीका कार्यकर्ता अझै जेलमुक्त भएका छैनन् । उनले भने, ‘उहाँहरूलाई मेरो आग्रह छ, सहमतिलाई अघि बढाउने कुरामा सरकार गम्भीरतापूर्वक लागेको छ । केही कानुनी जटिलता छन् तर सम्झौतालाई सम्बोधन गरेर सबैलाई राष्ट्र निर्माणमा सहभागी गराउन चाहन्छौँ ।’
अपराधको स्वरूप र प्रवृत्तिमा परिवर्तन आएको हुनाले अनुसन्धान थप जटिल बनेको उल्लेख गर्दै मन्त्री खाँणले भने, ‘सुरक्षा निकायको सक्षमता वृद्धि गर्न प्रतिबद्ध छु ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया