कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

महाकालीमा पक्की पुलले विकास र पर्यटक बढ्ने आशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः दार्चुलामा नेपाल–भारत जोड्ने पक्की पुल निर्माण कार्य अघि बढेको छ ।  हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ उक्त पुलको शिलान्यास गर्नुभयो । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको मल्ला छारछुम जोड्ने गरी महाकालीमा मोटरेबल पुल बन्न लागेको हो ।

सुदूर पहाडमा पहिलोपटक नेपाल–भारत जोड्ने मोटरेबल पुल बन्न लागेको हो । यसअघि सुदूरपश्चिमको तराई क्षेत्रमा कैलाली र कञ्चनपुरमा मात्र मोटरेवल पुल रहेका छन् । दार्चुला त्रिदेशीय सीमा जोडिएको जिल्ला हो । त्यसैले त्रिदेशीय ९नेपाल–भारत–चीन० व्यापारको समेत ढोका खुल्ने स्थानीयको भनाइ छ ।

महाकाली नदीमा पक्की पुल निर्माण दुई देशको सम्बन्ध झन् मजबुत हुनुका साथै दार्चुलाको स्थानीय कृषि उत्पादन, जडीबुटी, धातु र कच्चा पदार्थको अन्तर्राष्ट्रिय व्यापारमा वृद्धि हुने जिल्ला समन्वय समितिका प्रमुख महादेव बडूले बताउनुभयो ।

दार्चुलामा नेपाल–भारत जोड्ने मोटरबेल पुल निर्माणको पहल २०४८ सालदेखि नै गरिएको मन्त्री बडूले बताउनुभयो । “यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार सम्बन्ध बलियो बनाउने विश्वास छ”, उहाँले भन्नुभयो ।  भारतीय पक्षले निर्माण गर्ने मोटरबेल पुलको कुल लम्बाइ एक सय १० मिटर रहेको छ ।

पुल निर्माणपछि दार्चुला, बैतडी, डडेल्धुरा, बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका साथै भारत र चीनसम्मको व्यापार दार्चुलाको नाकाबाट हुने महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिर बताउनुहुन्छ । “सीमा नाकामा बन्ने पक्की पुल दुवै देशको आर्थिक, सामाजिक, धार्मिक सम्बन्ध मजबुत बनाउनसमेत महत्त्वपूर्ण हुनेछ । उक्त पुलले सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका प्रमुख धार्मिकस्थलमा पर्यटकको आगमन बढ्ने देखिन्छ”, उहाँले भन्नुभयो ।

सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका प्रमुख धार्मिकस्थल दार्चुलाको मालिकार्जुन, तपोवन तीर्थस्थल, ब्यास गुफा, बैतडीको  त्रिपुरासुन्दरी र निङ्गलासैनी, बझाङको सुर्मासरोवर, बाजुराको  बडिमालिका, डडेलधुराको उग्रतारा मन्दिर, अमरगढी किल्लालगायतमा भारतीय पर्यटकको आगमन बढ्ने उहाँ बताउनुहुन्छ ।

त्यस्तै अछाममा रामारोसन, वैजनाथ र विनायकपञ्च प्रमुख धार्मिक पर्यटकीयस्थलका रूपमा चिनिन्छन् । त्यस्तै डोटीको शैलेश्वरी मन्दिर प्रमुख धार्मिकस्थल हुन् । नेपाल–भारत जोड्ने पक्की पुलले दार्चुलामा रहेको अपी हिमाल र बझाङमा रहेको साइपाल हिमाल अवलोकन गर्न पर्यटकको आगमन हुने सम्भावना छ । प्रमुख पर्यटकीय धार्मिकस्थल कैलाश मानसरोवरसम्म पर्यटकलाई आवतजावत गर्न सहज हुने छ । भारत सरकारको लगानीमा बन्ने पुल र महाकाली कोरिडोरले पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास गरिएको छ ।

नेपाल–भारत–चीनसँगको त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि महाकाली कोरिडोर निर्माण गरिँदै छ । विसं २०६६ देखि उक्त कोरिडोर निर्माण थालिएको हो । कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक खुलाउने उक्त योजनाअन्तर्गत चार सय १३ किलोमिटर सडक निर्माण हुँदैछ । कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्लधुरा, बैतडी हुँदै दार्चुलाको तिङ्करसम्मको कोरिडोरको लम्बाइ चार सय २५ किलोमिटर छ । महाकाली कोरिडोरअन्तर्गत व्यास गाउँपालिका–२ कोठेधारबाट तिङ्करसम्मको ८७ किलोमिटर सडक खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘विपद्का बेला नेपाली सेनाको बहुआयामिक भूमिका, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय’
२०८३ कार्तिक ३०, सोमबार
‘कार्बन बजारमा संसदीय निगरानी र समुदायको लाभ सुनिश्चित हुनुपर्छ’ : डा. कार्की
२०८३ कार्तिक ३०, सोमबार
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
२०८३ कार्तिक ३०, सोमबार
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार
सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान
२०८३ कार्तिक ३०, सोमबार