वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

बाँके-बर्दियामा जति पनि विकास काम बनेको छ त्यो मेरो नेतृत्वमा, मेरो पहलमा भएको हो । – किशोर सिंह राठौर (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अहिले यहाँहरू गठबन्धन गरेर निर्वाचनमा होमिनु भएको छ । बहुमत नपुग्दा सरकार बनाउन गठबन्धन त ठीकै होला तर निर्वाचनमै गठबन्धन के का लागि ? 

कतिपय बुद्धिजीवीले काँग्रेसले सत्तामा जानका लागि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीसँग गठबन्धन गरेको हो भनिरहेका छन् । त्यसरी भन्नेमा विपक्षी निकट बुद्धिजीवीको संख्या बढी छ । एक अर्थमा उनीहरूले भनेको कुरा पनि गलत छैन किन भने सत्तामा नगइ आफ्नो घोषणापत्र, योजना कार्यान्वयन गर्न सकिँदैन । नीति तथा कार्यक्रम बनाएर देशलाई विकास एवं सुशासनको बाटोमा हिँडाउन सत्तामा जानै पर्छ । संघ र प्रदेशबाट सम्बन्धित क्षेत्रमा बजेट हाल्न सकिँदैन ।

तर, सत्तामा जानमात्र गठबन्धन गरिएको होइन । वीपी कोइरालाले २००७ सालको क्रान्तिपछि संविधानसभाबाट संविधान बन्नुपर्छ भन्नु भएको थियो । तर, संविधानसभाबाट संविधान बन्न झण्डै सात दशक कुर्नु पर्‍यो । नेताले कुनै कुरा बोल्दैमा तत्काल पूरा हुन सक्दैन । त्यसका लागि परिवेश तयार हुनुपर्छ । जनताको चेतना विकास हुनुपर्छ । ७० वर्ष लगाएर संघर्ष गरेर, करोडौं खर्च गरेर २–२ पटक संविधानसभाको चुनाव गराएर ल्याइएको संविधान धरापमा पार्न केपी ओलीले जसरी २–२ पटक असंवैधानिक रूपमा संसद् विघटन गर्नुभयो । मुलुकलाई नै गम्भीर अनिश्चयको बाटोमा लैजाने प्रयत्न गर्नुभयो ।

तपाईँलाई थाहा छ, सात दशकको संघर्षपछि हामीले समावेशी संविधान बनाएका हौं । मधेशी, मुस्लिम, जनजाति, थारु, अल्पसंख्यक सबैको हकहित र निश्चित प्रतिनिधित्व सुनिश्चित भएको संविधान मासिन्थ्यो । सबै समुदाय फेरि अधिकारविहीन बनाइन्थे । अर्को अराजकताको अभ्यास हुन्थ्यो । काम गरेर वातावरण हुँदैनथ्यो । सशस्त्र द्वन्द्वले हामीलाई कति पछाडि पारेको छ । तत्काल नेपाली काँग्रेसको नेतृत्वमा केपी ओलीको असंवैधानिक कदमको विरोधमा दलहरू एकजुट नभएको भए आज मुलुक कुन अवस्थामा पुग्थ्यो कल्पना गर्नुस् त । त्यसबाट मुलुकलाई जोगाएर समृद्ध र समुन्नत नेपाल बनाउने अभियानमा भएका दलहरूले अहिले गठबन्धन गरेका हौं । अर्को कुरा हाम्रो संवैधानिक व्यवस्थाअनुसार अहिले एउटै दलको बहुमत नआउने देखिन्छ । त्यसैले गठबन्धनमार्फत् नै सरकार चलाउनु पर्ने र मुलुकलाई स्थिरता दिनु पर्ने दायित्व पनि हामीमाथि छ । निर्वाचनपछि हाम्रो गठबन्धनले सरकार बनाउँछ र संविधानको जगेर्ना र कार्यान्वयनमार्फत् सुशासन र समृद्धिसहितका आवश्यकता पूरा गर्छ ।

एमालेले अहिले काँग्रेसले आफूविरुद्ध घेराबन्दी गरेको आरोप लगाएको छ । यहाँ काँग्रेसको केन्द्रीय नेता हुनुहुन्छ । के भन्नुहुन्छ ? 

काँग्रेस कसैको विरुद्ध छैन । नेपालमा प्रजातन्त्र र बहुदलीय व्यवस्था स्थापना काँग्रेसकै नेतृत्वमा भएको हो । विभिन्न दलहरूले जनतासामु विभिन्न एजेण्डा लिएर जाउन् र जसले बहुमत ल्याउँछ उसैले सरकार चलाओस् र दोश्रो शक्ति प्रतिपक्षमा रहोस् भन्ने काँग्रेसको मूल मान्यता हो । तर, के चाँहि स्पष्ट हो भने, जनताको, लोकतन्त्रको, संविधानको, मानवअधिकारको विरुद्ध लाग्नेको पक्षमा काँग्रेस कहिल्यै पनि हुँदैन ।

२०६४ सालको संविधानसभामा माओवादीसहित कम्युनिष्ट दलसँग अत्यधिक बहुमत थियो । त्यतिबेला संविधान बन्न सकेन । मुलुक एकखाले अनिश्चिततामा जाने अवस्था बन्यो । प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाएर दोश्रो संविधानसभा निर्वाचन गरियो । निर्वाचनपछि हाम्रो आदरणीय नेता सुशील कोइरालाको नेतृत्वदायी पहलमा संविधान जारी भयो । वर्तमान संविधानले सबै नेपालीलाई अधिकार सम्पन्न बनाएको छ । मुलुकलाई नयाँ गति दिने मार्गरेखा कोरेको छ । यद्यपि, यो संविधान पूर्ण छ भन्ने हाम्रो पनि ठम्याई होइन । मधेशीका, थारुका, मुस्लिमका, दलित, महिला आदिवासी, पछि पारिएका समुदाय, विभिन्न क्षेत्र पक्षका कतिपय विषय नपुगेका होलान् । संविधान अपरिवर्तनीय दस्तावेज होइन । समय र आवश्यकताका आधारमा परिवर्तन गर्दै लैजाने विषय हो । अहिलेसम्मका परिवर्तनलाई जोगाउँदै भएका कमी कमजोरी हटाउँदै अघि बढ्ने हो ।

केपी ओलीले संविधान नै ध्वस्त गर्ने, प्रणाली नै सखाप पार्ने खालका क्रियाकलाप गरेर सुधारको बाटो बन्द गर्नेमात्र होइन प्राप्त उपलब्धि नै सखाप पार्ने प्रयास गर्नुभयो । त्यो अवस्थामा उहाँकै पार्टीका ठूलो संख्याका सांसदसहित काँग्रेस र अरू पार्टी मिलेर ओलीको त्यो अनधिकृत प्रयासमा रोक लगाएको हो । त्यसैले हामी कसैका विरुद्ध छैनौं । प्राप्त उपलब्धि संस्थागत गर्दै सुशासनसहित समुन्नति र विकासमा अघि बढ्नेहरूका साथमा छौं ।

यहाँहरूले चाँहि संविधानको संरक्षण, प्राप्त उपलब्धि संस्थागत गर्दै सुशासनसहित समुन्नति र विकासमा अघि बढ्ने कुराको सुनिश्चितता कसरी गर्नुहुन्छ त ?

हाम्रा आदरणीय नेता सुशील कोइरालाको नेतृत्वदायी भूमिकामा संविधान जारी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुभयो । उहाँले स्थानीय तहको, प्रदेशको र संघको निर्वाचन गरेर संविधान कार्यान्वयन गर्नुपर्ने, मुलुकलाई गति दिनु पर्ने थियो तर उहाँले त्यसो गर्न सक्नु भएन । नेपाली काँग्रेसको १३ औं महाधिवेशन सम्पन्न भएपछि नेता शेरबहादुर देउवा सभापति हुनुभयो । सभापति भएपछि उहाँले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाएर स्थानीय तहको निर्वाचन अघि बढाउनु भयो र मधेश प्रदेशसहित बाँकी स्थानीय तह तथा प्रदेश, प्रतिनिधिसभा एवं राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गराइ संविधान कार्यान्वयन गर्दै मुलुकलाई अघि बढाउनु भयो ।

निर्वाचनमा एमाले नेतृत्वको वाम गठबन्धनले झण्डै दुई तिहाई मत ल्यायो । सरकार बनायो । जनतालाई देखाइएको सुख र समृद्धिको सपना पूरा गर्नु पर्नेमा उक्त सरकारले मुलुकलाई भड्खालोमा हाल्ने प्रयत्न गर्‍यो । प्रधानमन्त्री ओलीले मुलुकको विकासलाई वर्षौं पछि धकेल्नु भो । देशलाई मात्र होइन आफ्नै पार्टीका नेताहरूमाथि समेत तानाशाही लाद्नु भयो । सहयात्री,सहकर्मीमाथि समेत षड्यन्त्र गर्नु भयो । उहाँकै पार्टी विभाजित भयो । र, उहाँको पार्टीका वरिष्ठ नेताहरूसहित गठबन्धन बनाएर संविधानको रक्षा र सरकार सञ्चालन गर्नु परेको सबैलाई जानकारी नै छ । भोलिका दिनमा पनि संविधान र व्यवस्थाको संरक्षण गर्नु हाम्रो पहिलो काम हो ।

दोश्रो यहाँ अहिले जे जति विकास भएका छन् । शिक्षाको क्षेत्रमा, स्वास्थ्य, कृषि, सहकारी, यातायात, सञ्चारको क्षेत्रमा त्यो अधिकांश २०४८ सालको निर्वाचन जितेर काँग्रेसले सरकार बनाएर ल्याएको नीतिको परिणाम हो । २०४८ सालअघि नेपालमा कतिवटा टेलिभिजन थियो ? आज कति छन् ? हिजो कतिवटा एयरलाइन्स थियो ? आज कति छन् ? हिजो कतिवटा बैंक थियो, आज कति छन् ? यी उदाहरण हुन । सबै काँग्रेस नेतृत्वले लिएको आर्थिक नीति र सुरु गरेको उदारीकरणका कारण हो ।

नेपालको इतिहासमा सबैभन्दा बलियो दुई तिहाईको शक्तिशाली सरकारको नेतृत्व गर्नु भएका केपी ओलीसँग संविधानमा भएका कमीकमजोरी हटाएर जनतालाई थप अधिकार दिलाउने र मुलुकलाई विकासको मार्गमा अघि बढाउने अवसर थियो । तर, उहाँले जनतालाई उखानटुक्का सुनाएर महत्वपूर्ण अवसर खेर फाल्नुभयो । उहाँको कार्यकालमा कुनै पनि विकासका संरचनाहरू अगाडि बढेनन् । नयाँ विकास त बढेनन् नै हिजो हामीले बनाएको बाटाघाटा खाल्डा परेका छन् । संरचना जीर्ण भएका छन् । यसलाई नयाँ जीवन दिँदै मुलुकलाई विकासको मार्गमा लैजान वामलोकतान्त्रिक गठबन्धनले जित्नुपर्छ भन्ने मेरो भनाई हो ।

यहाँले काँग्रेसले यसो गर्‍यो, उसो गर्‍यो भनिरहँदा कहिँ न कहिँ काँग्रेसले गर्नु पर्ने काम गर्न सकेन, गरेन । नेताहरू भ्रष्टाचारमा, आफन्तवादमा केन्द्रित भए । मुलुकको अपेक्षित विकास हुन नसक्नुमा काँग्रेस पनि दोषी छ भन्ने आवाज ठूले सुनिन्छ । के यहाँहरूले ती आवाज सुन्नुभएको छैन ? के काँग्रेस सच्चिनु जरुरी छैन ? 

हेर्नोस् । काँग्रेस सच्चिनु त जरुरी छ । वीपी कोइरालाले जीवन भनेको पाठशाला हो भन्नुभएको छ । उहाँले मर्ने कुराको मलाई अनुभूति भयो पनि भन्नुभएको छ । उहाँले बनाएको पार्टी हो यो । अर्का नेता सुवर्ण शम्शेरले आफ्नो १६ हजार विघा जमिन राष्ट्रिय करण गरेर भूमिसुधार लागू गरेर अघि बढाएको पार्टी हो नेपाली काँग्रेस । वीपी कोइराला, सुवर्ण शम्सेर, गणेशमानजी, किसुनजी जति पनि हाम्रा नेताहरू हुनुहुन्थ्यो । उहाँहरू खान पुग्ने परिवारकै सदस्य हुनुहुन्थ्यो । कठोर राणा शासनमा जीवन नै जोखिममा राखेर किन उहाँहरूले २४/२५ वर्षकै उमेरमा नेपाली काँग्रेस पार्टी खोल्नुभयो । माननीय हुनलाई, मन्त्री प्रधानमन्त्री हुनलाई उहाँहरूले पार्टी खोल्नुभएको होइन । जनतालाई अधिकार सम्पन्न बनाउनका लागि, गरिब दुःखीहरूको हितका लागि हो । वीपी कोइरालालाई राजाले पञ्चायतकालमा पनि प्रधानमन्त्रीको अफर गरेकै हो । प्रजातन्त्र मास्ने राजाको अफर वीपी कोइरालाले अस्वीकार गर्नुभयो । २०४६ सालको आन्दोलन सफल भएपछि प्रधानमन्त्री बन्न राजाले आग्रह गर्दा गणेशमान सिंहले आफूले छोडेर कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउनु भएको हो ।

यत्रो संघर्ष गरेर आएको । हिजो राणा फालेको, पञ्चायत फालेको, राजा फालेको पार्टी काँग्रेस । त्योसँगै सहकार्य गरेका अन्य पार्टीहरू जनताको मनमा बस्नु पर्ने हो । तर, किन बस्न सकेका छैनन्, अलोकप्रिय भैरहेका छन् ? यो सोचनीय प्रश्न हो । नेताले झुठ बोलेका कारण, ढाँटेका कारण दलहरू, नेताहरू अनपपूलर भैरहेको परिस्थिति छ । गर्न नसक्ने काम गर्छु भनेर नेताहरू जनतालाई झुठ बोलेका कारण आज त्यत्रो संघर्ष गरेर आएका पार्टीहरू, नेताहरू भरोसायोग्य कम भएको तपाईँ हामी सबैले सुनिरहेका छौं, देखिरहेका छौं । नेताले गर्न सक्ने काम गर्छौँ भन्ने । नसक्ने काम यति समयमा सक्छौं वा यो काम सकिँदैन भनेर जनतालाई स्पष्ट भन्ने हो भने जनतामा भ्रम हुँदैन ।

तपाईँले काँग्रेसमा सुधारको प्रश्न गर्नुभयो । काँग्रेसले गरेका कामहरूलाई, विकासका आधारहरूलाई एउटा निष्कर्षमा पुर्‍याउनु छ । हामी कानुनी राज्यका लागि, सुशासनका लागि लडेका हौं । जनताले खोजेकोजस्तो सुशासन, कानुनी राज्यको निर्माणमा कहिँ न कहिँ समस्या छ भन्ने हाम्रो बुझाई छ । त्यो पूरा गर्नुपर्छ । आफ्नो ठाउँबाट यसका लागि म प्रतिबद्ध छु ।

यहाँ बाँके क्षेत्र नम्बर ३ बाट जनअनुमोदित हुन गठबन्धनका तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार हुनुहुन्छ । बाँके ३ नै किन रोज्नुभयो भन्ने प्रश्नहरू पनि उठाइएका छन् । के भन्नुहुन्छ यहाँ ? 

म सल्यानमा जन्मेको । काठमाडौँमा स्कुल र कलेज पढेको । काठमाडौँमै विद्यार्थी राजनीति गरेको । नेपाल विद्यार्थी संघको नेतृत्वमा पुगेको व्यक्ति । मैले सुखको राजनीति गर्न चाहेको भए काठमाडौँमै पनि गर्न सक्दथेँ । तर, पनि बाँके–बर्दियालाई मैले आफ्नो राजनीतिक क्षेत्र बनाएको छु । पार्टीको संगठन सुदृढ गर्न र विकासमा अघि बढाउन मैले २० वर्षदेखि बाँके–बर्दियामा राजनीति गरिरहेको छु । सुशील दाई र मेरो निर्वाचन क्षेत्र एउटै पर्ने भएकाले बर्दियाको सबैभन्दा पछि परेको राजापुर क्षेत्र रोजेको हुँ । हिजो सदरमुकामसँग, मुलुकसँग नजोडिएको राजापुर क्षेत्रमा अहिले देशको सबैभन्दा लामो पुल बनेको छ । त्यहाँ जति पनि विकासकाम  बनेको छ त्यो मेरो नेतृत्वमा, मेरो पहलमा भएको हो ।

तर, गठबन्धनका कारण त्यो क्षेत्र छाड्नु परेकाले नेपालगञ्जको काखमा रहेको ३ नम्बर क्षेत्र विकासमा निकै पछि परेको क्षेत्र रोजेको हुँ । विमानस्थल सारिएपछि यो क्षेत्रले कान्ति गुमाएको छ । कृषिको सम्भाव्य क्षेत्र भए पनि गति पाउन सकेको छैन । भौतिक विकास समस्याग्रस्त छ । त्यसैले यो क्षेत्रको विकास मेरो प्राथमिकता हो ।

विकासका कामचाँहि के-के र कसरी-कसरी गर्छु भनेर यहाँले मत मागिरहनुभएको छ ? यहाँका स्थानीय चुनावी मुद्दा, योजनाहरू के-के छन् ? 

हिजो मैले बर्दियाको राजापुर क्षेत्रमा राजनीति सुरु गर्दा त्यस क्षेत्रका जनतालाई टिकापुरमा, गुलरियामा, नेपालगञ्जमा घर बनाउन नपर्ने अवस्थाको सिर्जना गर्छ‘ भनेको थिए । आज त्यो पूरा भएको छ । बाँकेको क्षेत्र नम्बर ३ मा पहाडबाट झरेका गरिबहरू, दलितहरू बस्दछन् । त्यसैगरी, आदिवासी थारुहरू, मधेशी, मुस्लिम त्यसमा पछि परेको समुदायको यस क्षेत्रमा बसोबास छ । यहाँका स्थानीयलाई नेपालगञ्जमा र कोहलपुरमा घर बनाउन पर्ने अवस्थाको अन्त्य गर्छु ।
१० वर्षदेखि एमालेले जितेको यो क्षेत्रमा विकासको काम शून्यप्राय: छ । यहाँ कृषि, शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा विभिन्न आवश्यकता देखिएको छ ।

यहाँ अधिकांश किसानहरूको बसोबास भएकाले निर्वाहमुखी खेतीलाई व्यवसायिकतासँग जोड्नु आवश्यक छ । यहाँ सिक्टा र बबईको पानी ल्याएर सिँचाइ प्रबन्ध गर्ने आवश्यकता छ । मानखोलामा तटबन्धनको आवश्यकता छ । त्यसको व्यवस्थापनका लागि पहल गर्छु । नेपालगञ्जको धम्बोझीदेखि गुलरियासम्म ४ लेनको सडक बनाउन मेरै पहलमा प्रक्रिया अघि बढेको छ । त्यसलाई २ वर्षभित्र सम्पन्न गर्ने, परसपुरदेखि गौघाटसम्मको सडक निर्माणको प्रक्रिया एक वर्षभित्र सम्पन्न गर्ने बैजनाथको सम्झनाचोकदेखि खजुरा आउने बाटो सम्पन्न गर्ने मेरो प्रतिबद्धता छ । खजुराको ३ र ४ नम्बर जोड्ने पेडारी नालाको पुल लगायत विभिन्न पुल पुलेसा निर्माण गर्ने लगायतका अन्य विभिन्न प्राथमिकता मैले तय गरेको छु ।ईकागज

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
२०८१ वैशाख १४, शुक्रबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
२०८१ वैशाख १४, शुक्रबार
खेल क्षेत्रको बजेट बढाउन जरुरी : डा. महत
२०८१ वैशाख १४, शुक्रबार
हस्तकला व्यवसायले आयात प्रतिस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने : मन्त्री भण्डारी
२०८१ वैशाख १४, शुक्रबार
जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल
२०८१ वैशाख १४, शुक्रबार
६४ प्रतिशत महिला स्वास्थ्य स्वयंसेविकाको छैन स्वास्थ्य बिमा
२०८१ वैशाख १४, शुक्रबार