वैशाख १३, २०८१ बिहिबार April 25, 2024

अहिलेसम्म हामीले सरकारमा जाने निर्णय गरेका छैनौं ।- रवि लामिछाने (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाईं र तपाईंको पार्टीको जितलाई कसरी लिनुभएको छ ?

ऐतिहासिक नतिजा आएको छ । यो विजय देशमा परिवर्तन चाहने आमनेपालीको हो । एउटा उम्मेदवारले जितेर केही पनि हुँदैन । जबसम्म आमनागरिकले जित्दैनन्, तबसम्म केही हुँदैन । त्यसैले म यो विजयलाई आमनागरिकको विजय बनाउन तल्लीन हुन्छु । यो मेरो विजय होइन कि आममतदाताले अपेक्षासहित मत खसालेको हो । म र हाम्रो पार्टीको विजयलाई आमनागरिकमा समर्पित गर्न चाहन्छु ।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान्छ कि जाँदैन ?

अहिलेसम्म हामीले सरकारमा जाने निर्णय गरेका छैनौँ । देशैभरिको निर्वाचन परिणाम आएपछि पार्टीको बैठक बस्छ र हामी छलफलबाट त्यसबारे निर्णय लिन्छौँ । हामी के गर्दा देश र नागरिकको हित हुन्छ, जिम्मेवार दलका रूपमा कसरी कर्तव्य पूरा गर्नुपर्छ, त्यसमा अडिक रहन्छौँ । सरकारमा जाने विषय पनि देशहितमा हुनुपर्‍यो, हामीले जुन मुद्दाबारे आमनागरिकलाई वाचा गरेका छौँ, ती पूरा हुने ग्यारेन्टी हुनुपर्‍यो । आमनागरिकको दैनिकीका सवाल छन्, त्यसमा स्पष्टता चाहियो, भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्धता चाहियो । यसअघि भएका सम्पूर्ण भ्रष्टाचार काण्डहरूको छानबिन गरी कानुनी प्रक्रियाअनुसार अगाडि बढ्नेलगायत विषय पनि छन् । त्यसैले यी सबै विषय के हुन्छन् भन्ने विचार गरेर मात्रै सरकारमा सहभागी हुने–नहुनेबारे निर्णय लिन्छौँ ।

सरकारमा जाँदा ‘पुरानै अनुहार’सँग सहकार्य गर्नुहुुन्छ कि नयाँ अनुहार खोज्नुहुन्छ ?

व्यक्ति होइन, हाम्रो लडाइँ प्रवृत्तिविरुद्ध हो । जनताले अनुमोदन गरेका व्यक्ति नै संसद्मा जाने हो । त्यसकारण जनताले चुनेर पठाएका मानिसको हामीले सम्मान गर्नुपर्छ । निर्वाचन परिणाम आउँदै गर्दा हरेक कोणबाट हेरिरहेका छौँ, नियालिरहेका छौँ र अन्तिम नतिजा कुरिरहेका छौँ । हामी कस्ता किसिमका साथी निर्वाचित हुनुभएको छ, आफ्नो दलका मात्र होइन, अरू दलका साथीलाई पनि हेरिरहेका छौँ । समानुपातिकको नतिजा आउने क्रममा छ । पूर्ण रूपमा नतिजा आएपछि राजनीतिक छलफल गर्छौं ।

सरकारमा सहभागी हुँदा तपाईंले प्रधानमन्त्रीकै दाबी गर्ने सम्भावना हुन्छ कि हुँदैन ?

सम्भावना हरेक कोणबाट हेरिन्छ नै । राजनीति सम्भावना नै सम्भावनाको खेल हो भनिन्छ पनि । तर, पूर्ण नतिजा नआएकाले यो विषयमा विश्लेषण गर्ने अवस्था आइसकेको छैन । सम्भावना त सरकारमा हुने, विपक्षमा रहने सबै हुन्छ ।

अहिले पाएको मतलाई स्थायित्व दिनका लागि कसरी अघि बढ्नुहुन्छ ?

पक्कै पनि यो मत आशा, अपेक्षा र निराशाबीचको मत हो । अघिल्लो पुस्तासँग अपेक्षा टुट्दा बढेको निराशा र हामीसँग भएको आशासँगै अपेक्षा हो । जनताको यो अभिमतको कदर गर्दै हामी उहाँहरूले दिएको जिम्मेवारी पूरा गर्न सक्छौँ भन्ने विश्वास छ । हामी बोलेको कुरा पूरा गर्छौं । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया