असोज १, २०८३ बिहिबार September 17, 2026

महिला अभियानको सार्थकता – डा. डिला संग्रौला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला गत साता सिरहाकी बिनु यादवले न्याय माग्दै सर्वोच्च अदालतको ढोकामा रातो रङ छ्यापेर विरोध जनाइन् । उनले आफ्नै परिवारका सदस्यहरूबाट बलात्कार, बलात्कार प्रयास, भ्रूणहत्या, ज्यान मार्ने उद्योग, शरीर बन्धक लगायत हिंसा आफूमाथि भएको आरोप लगाउँदै आएकी छन् ।

यद्यपि उच्च अदालत पाटनमा उनको मुद्दा विचाराधीन छ । महिला हिंसा व्याप्त भएको समाजमा यो एक प्रतिनिधि घटना हो । र, विरोधको यो शैली सृजनशील छ ।

संविधान, कानुनमा जति नै महिला समानताका कुरा गरे पनि व्यवहारमा लागू हुन सकेको छैन । कानुन कार्यान्वयन हुन नसक्दा महिला हिंसाबाट समाज मुक्त हुन सकिरहेको छैन । त्यसैले यस्तो अभियान १६ मात्र होइन, ३६५ दिन नै हुनु आवश्यक छ । ताकि आफूप्रतिको व्यवहार हिंसा हो भन्ने थाहै नपाई पीडित बनेका कुनाकन्दराका दिदीबहिनीले आफूमाथि भइरहेको ज्यादतीविरुद्ध लड्न सकून् ।

महिला हिंसा लिंगका आधारमा गरिने भेदभावजन्य कार्य हो । यसले महिलालाई शारीरिक मात्र होइन, मानसिक क्षति पनि पुर्‍याउँछ । कुनै पनि महिलाले सार्वजनिक वा निजी जीवनमा महिला भएकै कारण हिंसा भोग्नु हुन्न । यसलाई कानुनले नै वर्जित गरेको छ । नेपालमा प्रत्येक वर्ष शारीरिक, मानसिक तथा यौन हिंसामा परेका महिलाको संख्या बढ्दो छ । महिला हिंसाका घटना बाहिरिने क्रम बढेको वा महिलाहरू सचेत हुँदै गएका कारण पनि तथ्यांक बढेको हुन सक्छ । तर, आम रूपमा महिलालाई हेर्ने नजर सकारात्मक नभएकाले नै यस्तो घटना बढेको हो भन्न समाजमा विद्यमान महिला विभेदको अवस्था हेरे पुग्छ । सदियौंदेखि महिलामाथि विभिन्न हिंसा हुने गरेको छ । र, उनीहरूले आफूमाथि भइरहेको हिंसा दबिएरै बस्ने गरेका छन् ।

सरकारको योजना

सरकारले चालु पन्ध्रौं पञ्चवर्षे योजनामा महिलाविरुद्ध हुने हिंसा कम गर्ने लक्ष्य राखेको छ । यस्तो लक्ष्य यसअघि पनि राखिएको थियो । तर, जतिसुकै महिलाका लागि कार्यक्रम गरे पनि हिंसा कम हुन सकिरहेको छैन । किन यस्तो भइरहेको छ भन्नेमा सरकारले गहिरो अध्ययन गर्नु जरुरी छ ।

नेपालमा दण्डहीनता बढ्दो छ । बलात्कार सम्बन्धी मुद्दामा उजुरी हाल्ने समयसीमा ३५ दिनबाट बढाएर एक वर्ष पुर्‍याउने व्यवस्था गरिएको छ । पीडितको उमेर १० वर्षभन्दा कम भएमा बलात्कारमा संलग्नलाई दिइने अधिकतम सजायलाई १६ वर्ष जेल कारावासबाट बढाएर २० वर्ष पुर्‍याइएको छ । प्रहरीको तथ्यांक हेर्दा विगत ५ वर्षमा नेपालमा ८ हजारभन्दा बढी बलात्कारका मुद्दा दर्ता भएका छन्, त्यसै गरी ३ हजार १ सयभन्दा बढी बलात्कारको प्रयासका घटना भएका छन् । पाँचवर्षे अवधिमा झन्डै ६० हजार घरेलु हिंसाका घटना दर्ता भएका छन् । अघिल्लो वर्ष मात्र २१ सयभन्दा बढी बलात्कार र करिब २२ हजार घरेलु हिंसाका घटना दर्ता भएका छन् । बलात्कार र महिलाविरुद्ध हुने हिंसाको नियन्त्रणका लागि लैंगिक समानताको अवधारणालाई व्यवहारमा सबै पक्षले लागू गर्नुपर्छ । घरेलु हिंसा अन्तर्गत शारीरिक, मानसिक, यौनिक र आर्थिकजस्ता यातनाविरुद्ध परेका उजुरी छिटोभन्दा छिटो फर्छ्योट हुनु जरुरी छ । कुना कन्दरामा भएका घरेलु हिंसाका घटनालाई प्रहरीसमक्ष पुर्‍याएर न्याय दिलाउनु अर्को चुनौती बनिरहेको छ ।

नेपालप्रति अरू देशको दृष्टि

नेपालमा महिला र किशोरीमाथिको घरेलु हिंसा गम्भीर समस्या बनिरहेको छ । यसका कारण महिलाहरूको स्वास्थ्य, जनजीविकासहितका क्षेत्रमा असर पुगिरहेको छ । यस्तो वास्तविकलाई मध्यनजर गरेरै गत वर्षको राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा धेरै देशले महिलाविरुद्ध हुने हिंसा तथा विभेद नियन्त्रणका लागि थप कदम चाल्न नेपाललाई सुझाव दिएका थिए ।

अमेरिकाको विदेश मन्त्रालयले हरेक वर्ष नेपालको मानव अधिकार अवस्थाबारे प्रतिवेदन सार्वजनिक गर्छ । त्यसमा प्रहरी र अदालतले बलात्कारका अधिकांश घटनामा उजुरी आएपछि मात्रै कारबाहीको प्रक्रिया अघि बढाउने उल्लेख छ । हुन पनि, हाम्रोमा कुनै घटनाको उजुरी गरेपछि मात्र त्यसको प्रक्रिया अघि बढ्ने गरेको छ । यदि कुनै महिलामाथि हिंसा भएको देखेमा कसैले पनि उजुरी गरिदिएनन् भने घटना यत्तिकै हराउँछ ।

घरेलु हिंसाविरुद्धका उजुरी मिलापत्रमा टुंगाउन जोडबल गरिने कुरा पनि प्रतिवेदनमा छ । अधिकांश घटना सकेसम्म मिलापत्र गर्ने, नमिले मात्र कानुनी प्रक्रियामा जाने गर्छन् । तर, हिंसाजन्य घटनामा मिलापत्र गर्न कानुनले प्रोत्साहन गरेको छैन । बलात्कारमा त झन् मिलापत्र गर्नेलाई समेत सजाय तोकिएको छ ।

लैंगिक हिंसाविरुद्धको अभियानको सुरुआत

सन् १९६० मा डोमिनिकन गणतन्त्रमा मिरावेल परिवारका तीन दिदीबहिनीको तत्कालीन तानाशाही सरकारले निर्मम तरिकाले हत्या गरेको थियो । यसलाई महिला भएकै कारण लिंगका आधारमा गरिएको राजनीतिक हिंसा मानिएको थियो । र, यो घटनालाई महिलाविरुद्धको हिंसाका रूपमा लिएर संसारभरि उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालियो । समयसँगै यो अभियान नेपाल आइपुग्यो । अहिले प्रत्येक वर्ष यो अभियान सार्थक बनाउन सरकारी तथा गैरसरकारी निकायबाट विभिन्न कार्यक्रम हुने गरेका छन् । तर महिला हिंसा अपेक्षाकृत रूपमा कम हुन सकेको छैन ।

नयाँ संसद् गठन हुँदै गर्दा महिला सांसदहरूको संख्या घटेको छ । यसले महिलाविरुद्ध हिंसा लगायत सबै खाले भेदभावविरुद्धको आवाज कमजोर बन्ने हो कि भन्ने चिन्ता देखिएको छ । महिला अधिकार मानव अधिकार हो । त्यसैले महिलाविरुद्ध र सबै खाले अन्यायविरुद्ध के महिला, के पुरुष सबैले बोल्नुपर्छ । संसद्मा मात्रै होइन समाजका हरेक क्षेत्रमा यसविरुद्ध आवाज उठ्नुपर्छ । विभेदपूर्ण कानुन हटाउन र विद्यमान कानुनको कार्यान्वयन हुने वातावरण तयार पार्नु पनि त्यत्तिकै जरुरी छ । अनि मात्र यस्ता अभियानहरू सार्थक हुन्छन् । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने
२०८३ असोज १, बिहिबार
आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
२०८३ असोज १, बिहिबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ असोज १, बिहिबार
बाढीबाट प्रभावित क्षेत्रको पुनरुत्थान सुरक्षित स्थानमा गर्नुपर्छः पूर्वप्रधानमन्त्री डा भट्टराई
२०८३ असोज १, बिहिबार
बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौं : मुख्यमन्त्री शाही
२०८३ असोज १, बिहिबार
आज बिहिबार कस्तो रहला तपाँईको दैनिकी ? हेर्नुहोस् राशिफल
२०८३ असोज १, बिहिबार
महामन्त्री गुरुराज घिमिरेलाई जिल्ला प्रवेशमा निषेध गर्ने मुगु कांग्रेसको निर्णय
२०८३ असोज १, बिहिबार