असार २४, २०८२ मंगलबार July 8, 2025

माफ गरिदिनुस् पैदलयात्रीहरू !- कृष्णज्वाला देवकोटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

यो महामारीमा जताततै दुत्कारिएर खाली पेट सयौँ किलोमिटर पैदलयात्रा गरिरहेका यो देशका भुइँमान्छेहरूका तस्बिर अब इतिहास भएका छन् । यस्तो दर्दनाक इतिहास, जसले मानवता नै काम्नेछ । तर, ती तस्बिरभित्र सरकारको, पार्टीहरूको, नेताहरूको, सहरको, संविधानको र लोकतन्त्रको खास तस्बिर छ । पैदलयात्रीहरू ! यी सबैलाई र हामी सबैलाई माफ गरिदिनुस् । 

सबैभन्दा पहिला माफ गरिदिनुस्, पार्टीहरूका झन्डालाई । चुनावमा जताततै देखिने र टि–सर्टसमेतमा छापिने हँसिया–हतौडा र चारतारा अंकित झन्डाहरू तपाईंहरूसँग लज्जित छैनन्, किनकि ती झन्डामा अब केबल कपडा र रंग छ, प्राण छैन । ती निर्जीव टालाहरू मरिसकेका आन्दोलनहरूका स्मृतिचिह्न मात्रै हुन् । अन्यथा, ती तपाईंहरू हिँडेको राजमार्गमा भेटिने थिए । ती झन्डाको रातो रंग सहिदका रगतको प्रतीक हुँदो हो कुनै वेला । अब त्यसलाई नेताहरूले निजी उद्योगको लोगो बनाइसकेका छन् ।

पैदलयात्रीहरू ! पार्टीहरूलाई पनि माफ गरिदिनुस् । पार्टीहरूका लागि तपाईंहरू केबल मतदाता हो, जसलाई चुनावको अघिल्लो रात सजिलै किन्न सकिन्छ । तपाईंहरूसँग नागरिकता होला तर नागरिकताले गरिबलाई बढीमा मतदाता बनाउँछ, नागरिक होइन । तपाईंका पीडा बाँड्न र तपाईंका खुट्टाका ठेला गन्न आजका दिनको राजनीति कुनै समाजसेवा होइन । तपाईंको असहायता बाँड्न आजका पार्टीहरू कुनै जनसेवक संस्था पनि होइनन् । राजनीति त आज देशको सबैभन्दा व्यवस्थित उद्योग हो र नेताका निवासहरू सबैभन्दा चलायमान कर्पाेरेट हाउस हुन् ।

यो देशमा जताततै पार्टी नै पार्टी छन्, पैदलयात्रीहरू र तिनले ओथारो बसेका अन्डा पार्टी त कति छन् कति ? युवा संगठन छन्, तर ती तपाईंको बाटोमा कतै थिएनन् । ती ठेक्कापट्टाका लागि हुन्, तपाईंलाई बाटो देखाउन होइन । व्यापारीका संगठन छन्, त्यो पनि टोलैपिच्छे । ती तपाईंलाई चामल बाँड्न होइन, नेतालाई चन्दा उठाउन गठन गरिएका हुन् । शिक्षक संगठन छन्, ती शिक्षाबाहेक हरेक काम गर्छन् । हरेक पार्टीका विद्यार्थी संगठन छन् । स्ववियु चुनाव जित्ने र क्याम्पस प्रमुखसँग हप्ता उठाउने तिनको लक्ष्य हो । पत्रकारदेखि कवि, बक्सरदेखि ठेकेदारसम्मका संगठन छन् । जिल्ला मात्र होइन, गाउँकै पनि सम्पर्क मञ्चहरू छन् । ती क्यालेन्डर निकाल्न, वनभोज खान र वेलाबखत नेताहरूलाई माला लगाउन खुलेका हुन् । तपाईंलाई राहत बाँड्न होइन ।

केही गरी घर पुग्नुभयो भने सरकारले भनेको समयमा बत्ती बालिदिनुहोला, राष्ट्रिय गान गाइदिनुहोला । अरू कसैको नक्कल गरेर अरू नयाँ आदेश पनि आउन सक्छन्, विनम्रतापूर्वक पालन गरिदिनुहोला । यो देशमा सरकार छ, कानुन छ भन्ने नबिर्सिदिनुहोला

नेपालमा पार्टीहरू भगवान्सरह सर्वव्यापी छन् तर तपाईंका लागि भगवान्सरह नै अदृश्य । कर्मचारी र मजदुर त हुने नै भए, मगरदेखि बाहुनसम्म संगठन छन् । देशमा यति बलिया पार्टी छन् तर खानुअघि हात धुनुपर्छ भन्ने सन्देशचाहिँ एनजिओहरूले फैलाइदिनुपर्छ । विद्यार्थी र युवा संगठनले साक्षरताको अभियान चलाउँदैनन् किनकि ती अब स्वयंसेवी रहेनन् । छाउपडी र छुवाछुत पार्टीहरूको दायित्व होइन किनकि त्यसमा व्यवसाय छैन । तपाईं यस्ता पार्टीहरू किन चाहिन्छ भनेर सोध्न सक्नुहुन्छ तर तिनको साथ नपाएकोमा दुःख मनाउ गर्न सक्नुहुन्न ।

पैदलयात्रीहरू ! संविधानलाई माफ गरिदिनुस् । त्यसको समाजवादी संकल्पलाई माफ गरिदिनुस् । राति–राति प्रहरीलाई छलेर भोकै प्यासै तपाईंहरूले पार गरेको राजमार्ग समाजवादी राजमार्ग थिएनन् । त्यो निर्जीव किताब अहिले अहंकारी शासकहरूको सेवामा छ । संविधानका अक्षरबाट निस्केर त्यो तपाईंका बाटामा सुविधा भएर छरिनेछैन । खोस्न सक्नुभएन भने संविधान केबल लोकसेवाका परीक्षार्थीलाई काम लाग्नेछ । तपाईंहरू यस्तो लोकतन्त्रमा हुनुहुन्छ, जहाँ लोक मरिरहेको छ तर तन्त्रलाई केही फरक परेको छैन ।

माफ गरिदिनुस् एनजिओ–आइएनजिओलाई पनि । तिनका प्लेकार्ड बाहिरै बनेर आउँछन् । तिनका नारा बाहिरै तयार हुन्छन् । गरिबीविरुद्ध कुनै एनजिओले माइतीघरमा प्लेकार्ड उठाएको देख्नुभएको छ ? तपाईंलाई हात दिएर यो समाज भाँडिँदैन । त्यसैले तपाईंका लागि कुनै एनजिओ उभिँदैन ।

सबैभन्दा बढी त सहरलाई माफ गरिदिनुस् । सहरका लागि तपाईं बाहिरिया हो । तपाईंको गोजीको नागरिकता काठमाडौंमा पनि चल्न त्यो कुनै एटिएम कार्ड होइन । मेयरसाबहरू जनताका मेयर होइनन्, मतदाताका मेयर हुन् । तपाईं मतदाता त होइन नि काठमाडौंमा । श्रम चाहिएको हो काठमाडौंलाई, तपाईं होइन ।
पैदलयात्रीहरू ! माफ गरिदिनुस् प्रमुख प्रतिपक्षी दललाई । अतीतका कलंकको भारीले जताततै नाजवाफ नेतृत्वले सिंगो पार्टीलाई प्रतिरक्षात्मक बनाएको छ । राजदूत, संवैधानिक निकाय र आफ्नै पार्टीको टिकटसमेत बेच्नेहरू के फाइदाका लागि उभिन्छन् र तपाईंहरूसँग ?

र, माफ गरिदिनुस् ‘गौरवशाली’ नेकपालाई । माफ गरिदिनुस् ती सबैलाई, जो नेकपाका साना–ठूला सिंहासनमा छन् । कता–कता लाग्छ, तपाईंहरूको यो कारुणिक सडकयात्रा नेपालको कम्युनिस्ट आन्दोलनको शवयात्रा हो । कमरेडहरूले गैती, बेल्चाका गीत गाए । सबै बराबर हुने साम्यवादका सपना देखाए । भावनामाथि खेलेर यहाँ आइपुगे । कमरेडहरू अब भावुक नहुन सल्लाह दिन्छन् । ठीकै छ, सरकार चुक्यो तर के गर्‍यो त नेकपाले ? एसियाको तेस्रो ठूलो कम्युनिस्ट पार्टी तपाईंका लागि किन रमिते मात्रै बन्यो ? यतिखेर नपाएको पार्टी किन चाहिन्छ कसैलाई ?

माफ गरिदिनुस् राष्ट्रपति र सरकारलाई पनि । उहाँहरू त्यसै पनि मिडिया आदरार्थी नभएकोमा रुष्ट हुनुहुन्छ । कामले हासिल गर्नुपर्ने इज्जत उहाँहरू पदले किन्न चाहनुहुन्छ । होली वाइनले लठ्ठिएर यतीको जहाजमा ओम्नीको काखमा सुतेको छ आजको वामपन्थ । मजदुरका नेता प्रधानमन्त्रीका सारथि छन् । यो सानो उपलब्धि होइन आन्दोलनको । पैदलयात्री ! इतिहास पढ्नुस्, इतिहास ।

पैदलयात्री ! यो सामान्य देश होइन । सरकारी खरिदमा नियम र गुणस्तरको प्रश्न उठाउने कर्मचारीलाई कारबाही गर्ने अनि भ्रष्टाचारका अभियन्ता पुरस्कृत हुने देश हो यो, सरुवा रोगका विशेषज्ञ डाक्टरलाई मन्त्रालयमा तानेर कोरोनाबारे प्रधानमन्त्रीले गलत प्रवचन दिने विचित्र देश ! सरकारले तोकिसकेपछि तपाईंहरू लकडाउनमै बस्नुपथ्र्यो पैदलयात्री ! तपाईंहरूका समस्यासँग सरकारको के सरोकार ?

र, अन्त्यमा तपाईंहरूले आफैँलाई पनि माफ गरिदिनुहोला । तपाईंको आजको लाचारी खासमा सिंहासनमा बस्नेहरूको लाचारी हो । विवेक र संवेदनशीलता हुन्थ्यो भने सिंहासनहरू अहिले सर्म र ग्लानिले रोइरहेका हुन्थे । शासकहरू शासनको परीक्षा दिन तयार छैनन् तर तपाईंहरूसँग शासितका सबै परीक्षा लिन प्रतिबद्ध छन् । केही गरी घर पुग्नुभयो भने सरकारले भनेको समयमा बत्ती बालिदिनुहोला, राष्ट्रिय गान गाइदिनुहोला । अरू कसैको नक्कल गरेर अरू नयाँ आदेश पनि आउन सक्छन्, विनम्रतापूर्वक पालन गरिदिनुहोला । यो देशमा सरकार छ, कानुन छ भन्ने नबिर्सिदिनुहोला । नयाँपत्रिका दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार