श्रावण १८, २०८३ सोमबार August 3, 2026

नयाँ वर्षमा एकैदिन पाँच चलचित्रले प्रदर्शनको मिति तोके

चलचित्र ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’द्धारा प्रदर्शनको मिति घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चलचित्र प्रदर्शनका लागि नयाँ वर्ष उपयुक्त समय मानिन्छ । यस अवसरमा प्रदर्शन भएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् ।

आउँदो नयाँ वर्षमा पाँच चलचित्रले प्रदर्शनको मिति तय गरेका छन् । ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ले प्रदर्शनको मिति घोषणा गरेका हुन् ।

यीमध्ये दुई चलचित्र जारी र बिहे पासमा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा हुनुहुन्छ । दुवै चलचित्र विवाहमा केन्द्रित छन् । एकै दिन आफ्ना दुई चलचित्र प्रदर्शनमा आउँदा अभिनेता राई भने खुसी हुनुहुन्न । उहाँले भन्नुभयो, “मैले पनि निर्माताले रिलिज मिति घोषणा गरेपछि मात्रै थाहा पाएको हुँ, किन एउटै मिति रोज्नुभयो थाहा छैन । एकै दिन पाँच–छ मध्ये आफ्नै दुई चलचित्र हुँदा अस्वभाविक लागिरहेको छ, यसबारे छलफल हुन्छ ।”

चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले बजारले धान्नै नसक्ने गरी एउटै मितिमा धेरै चलचित्र प्रदर्शनमा आउनु राम्रो नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस विषयमा छलफल गरेर केही प्रयास भने गर्ने छौँ ।” यसको समाधानका लागि निर्मातालाई समझदारी र सहमतिमा अगाडि बढ्न अनुरोध गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

वितरक सुनिल मानन्धरले नयाँ वर्ष नेपाली चलचित्रका लागि शुभ भए पनि भीडभाडले समस्या निम्त्याउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दर्शकको आकर्षणमा परे अन्य समयमा पनि ऐतिहासिक व्यापार गर्ने चलचित्र छन् । उदाहरणका रूपमा कबड्डी–३ र ४ लाई लिन सकिन्छ ।”

एउटै मितिका लागि प्रदर्शन घोषणा भए पनि प्रदर्शन मितिसम्म पुग्दा केहीले भने मिति सार्ने गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया