काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपश्चात् लघुवित्तविरुद्धको सङ्घर्ष समितिका संरक्षक अगस्त अधिकारीले अनसन स्थगित गर्नुभएको छ । अधिकारीले आफूहरूको माग सम्बोधन नभए आईतबार बेलुका ६ बजेदेखि वसन्तपुरमा आमरण अनसन बस्ने चेतावनी दिनुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डको निर्देशनमा राष्ट्र बैंकले लघुवित्त पीडितका माग सम्बोधन गर्ने र छलफलका लागि प्रतिनिधि तोकिने विश्वास दिलाएपछि अधिकारीको अनसन स्थगित भएको हो । लघुवित्तविरुद्धको सङ्घर्ष समितिका अध्यक्ष पुनाराम ज्ञवाली (मनिराम) र ६ वटा किसान सङ्गठन सञ्जालका सदस्यबीच छलफल भएको थियो ।
आज बिहान सङ्घर्ष समितिका पदाधिकारीले प्रधानमन्त्री प्रचण्डलाई उहाँको निवास बालुवाटारमा भेटेका थिए । भेटमा प्रधानमन्त्रीले आगामी नीति तथा कार्यक्रममार्फत लघुवित्तसम्बन्धी समस्या नीतिगत रूपमै हल गर्ने र सङ्घर्ष समितिका मागहरूको अध्ययन गरी छलफल अगाडि बढाउनेबारे आजै सरकारी प्रतिनिधि तोक्ने बताउनुभएको थियो ।
प्रधानमन्त्रीसँगको छलफलपछि आफूहरूको सङ्घर्षका कार्यक्रम तत्कालका लागि स्थगित भएको ज्ञवालीले जानकारी दिनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया