असार ५, २०८३ शुक्रबार June 19, 2026

बहस प्रणाली सुधारको – खिमलाल देवकोटा

राष्ट्रपति र पालिकाका प्रमुखजस्तै प्रधानमन्त्री र मुख्यमन्त्रीको कार्यकाल पनि दुई पटकमा सीमित गर्नुपर्छ 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनताको सरोकार भनेको सुशासनसहित शासन प्रणालीमा व्यापक सुधार हो । यो सुधारमा सत्ताको हालीमुहाली गरेका पुराना पार्टीहरू कत्तिको अग्रसर हुन्छन्, त्यो त समयले बताउला, तर राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नयाँ पार्टीहरूको मूलभूत एजेन्डा नै शासनसत्तासहित प्रणालीमा देखिएका कमजोरीहरू सुधार्नमै केन्द्रितजस्तो देखिन्छ ।

यो आलेख शासन प्रणालीको स्थायित्वका लागि राज्यका तीन अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा गर्नुपर्ने केही सुधारमा केन्द्रित छ ।

व्यवस्थापिका सुधारका लागि सबभन्दा पहिले संसद्को आकार सानो हुनुपर्छ । २७५ सदस्यीय प्रतिनिधिसभा र ५५० सदस्यीय प्रदेशसभा धेरै ठूला भए । यसले खर्च पनि बढाएको छ । समानुपातिक निर्वाचन प्रणालीका छुट्याइएका प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० सिट हटाउनुपर्छ । यसो गरे प्रतिनिधिसभा १६५ र प्रदेशसभा ३३० का हुन्छन् । प्रतिनिधिसभा र प्रदेशसभाको आकार योभन्दा ठूलो हुनु हुँदैन ।

संसद्को गठन निर्वाचन प्रणालीबाट हुन्छ । सुधार निर्वाचन प्रणालीमै जरुरी छ । यसका लागि मिश्रित निर्वाचन प्रणाली हटाएर प्रत्यक्ष मात्र बनाइनुपर्छ । अहिलेको निर्वाचन प्रणाली कायम राखेमा स्थायित्वमा समस्या आउँछ, आएको पनि छ । राष्ट्रिय सरोकारका विषयमा साझा सहमति गर्दै सहकार्यका आधारमा पाँच वर्षसम्म स्थिर सरकार बनाउने गरी अगाडि बढ्ने हो भने ठीकै मान्नुपर्ला । एजेन्डा एउटा पार्टीको भन्दा धेरै पार्टीको सामूहिक र राष्ट्रिय स्वार्थको विषयमा बन्न सके राम्रै हो ।

भारतमा मनमोहन सिंहले धेरै राजनीतिक दलको गठजोडमा १० वर्षसम्म शासन चलाए । अहिले नरेन्द्र मोदीले चलाउँदै छन् । तर नेपालमा यस्तो संस्कृतिको विकास हुन सकेको छैन, तत्काल सम्भावना पनि देखिँदैन । त्यसैले पनि निर्वाचन प्रणालीमा सुधार जरुरी छ । यसका लागि समानुपातिक, समावेशी र सहभागितामूलक प्रतिनिधित्वका लागि प्रत्यक्ष निर्वाचन प्रणालीमै सिट संख्या सुरक्षित गर्नुपर्छ । सुरक्षित निर्वाचन क्षेत्रमा सम्बन्धित वर्ग र समूहबीच मात्र प्रतिस्पर्धा हुने हुँदा संविधानको समानुपातिक समावेशी प्रतिनिधित्वको भावनामा कुनै असर पर्दैन । बरु निर्वाचनमा हुने अथाह खर्च कटौती कसरी कम गर्न सकिन्छ, यसबारे भने सोचिहाल्नुपर्छ ।

अहिले उपराष्ट्रपतिको भूमिकाबारे पनि चर्चा सुरु भएको छ । संविधानतः, उपराष्ट्रपतिको खासै भूमिका देखिँदैन । भारत लगायतका कतिपय देशमा उपल्लो सदन/राष्ट्रिय सभाको अध्यक्षता उपराष्ट्रपतिले गर्ने चलन छ । नेपालको राष्ट्रिय सभाको अध्यक्षता उपराष्ट्रपतिले गर्ने चलन बसाल्ने विधिमा जान आवश्यक छ । यसो गर्न सकिएमा राष्ट्रिय सभाको वजन पनि बढ्छ, अलग्गै अध्यक्षका लागि गर्नुपर्ने खर्चको भार पनि घट्छ ।

विधेयक तर्जुमाका सम्बन्धमा, दुवै सदनको भूमिका बराबरी गर्नु जरुरी छ । अर्थबाहेकका विधेयकहरू प्रतिनिधिसभाले राष्ट्रिय सभामा पठाएको दुई महिनाभित्र फिर्ता गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर राष्ट्रिय सभाले प्रतिनिधिसभामा पठाएको विधेयकका सम्बन्धमा संविधान मौन छ । यही मौनताका कारण राष्ट्रिय सभाले प्रतिनिधिसभामा पठाएका मिडिया काउन्सिल लगायतका कैयौं विधेयक वर्षौंसम्म निष्क्रिय रहे ।

व्यवस्थापिकाका सम्बन्धमा सबभन्दा महत्त्वपूर्ण र गर्नैपर्ने सुधार भनेको प्रतिनिधिसभा नभएको समयमा प्रतिनिधिसभाले गर्ने सबै काम राष्ट्रिय सभाले गर्ने व्यवस्था गर्नु हो । यसो हुन सकेमा नेपालको संसदीय अभ्यासमा ठूलो टेवा मिल्नेछ । कहिलेकाहीँ नियमित निर्वाचनका कारण पनि प्रतिनिधिसभा नरहन सक्छ । यस्तो अवस्थामा अध्यादेशबाट बजेट ल्याउन आवश्यक पनि पर्दैन । राजनीतिक दलहरूबीच तानातानका कारण प्रतिनिधिसभा विघटन भए पनि सरकारको जवाफदेही संसद् (राष्ट्रिय सभा) प्रति रहिरहन्छ । यस्तो अवस्थामा कुनै विधेयक निष्क्रिय रहनसमेत पाउँदैन । प्रतिनिधिसभामा थाती रहेका विधेयकहरूलाई राष्ट्रिय सभाले पार लगाउछ । जस्तो- अघिल्लो कार्यकालमा प्रतिनिधिसभाको कार्यकाल समाप्तिका कारण २२ विधेयक निष्क्रिय भए ।

सरकारको व्यवस्थापिकाप्रति जवाफदेहीका सम्बन्धमा, संसदीय समितिसहित संसद्ले दिएका निर्देशनहरू (सांसदहरूले शून्य समय, विशेष समय आदिमा बोलेका विषयहरूसहित) को कार्यान्वयन कार्ययोजना बनाई सरकारले नियमित रूपमा गर्ने पद्धति बनाउनु अत्यन्तै जरुरी छ । ंनिहित व्यक्तिगत र दलीय स्वार्थका कारण संसदीय समितिहरूमा वर्षौंसम्म विधेयकहरू अड्किने गरेका छन् । जस्तो— बैंक तथा वित्तीय संस्था, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड आदिसँग सम्बन्धित विधेयकहरू प्रतिनिधिसभाको अर्थ समितिमा २०७६ देखि नै निष्क्रिय रहे । संसदीय समितिमा विधेयकहरू एक वर्षभन्दा बढी राख्न नहुने व्यवस्था हुनुपर्छ ।

विधेयकहरू संसद्का सम्पत्ति हुन् । विधेयक अगाडि बढाउन सरकार अग्रसर नभए पनि संसद्मा दर्ता भएका विधेयकहरू एक–डेढ वर्षभित्रै पार लगाउने भूमिका निर्वाहमा पनि संसद् क्रियाशील हुनुपर्छ । संसद् क्रियाशील हुनु भनेको जनताले लोकतन्त्रको लाभ पाउनु पनि हो । संसद्मा कुनै विधेयक अड्किएमा जनताका लागि दैनन्दिन सेवाप्रवाहमा समस्या आउँछ । जस्तो— निजामती कानुन नबन्दा वडातहसम्म कर्मचारीको समस्या छ । वडामा कर्मचारी नहुँदा जनताले नागरिकता, पासपोर्ट लगायतका सिफारिसहरूबाट वञ्चित हुनुपर्ने अवस्था छ । शिक्षा विधेयकको कुरा पनि यही हो । अहिलेसम्म संघीय शिक्षा विधेयक/कानुन आउन सकेको छैन । स्थानीय तहहरूले विद्यालय तहसम्मको शिक्षाको अधिकार प्रयोग गर्न पाएका छैनन् । शिक्षकहरूको खटनपटनमा समस्या छ । उच्च शिक्षातर्फको हालत उस्तै छ । सरकारका कामकारबाहीहरूको निरन्तर अनुगमन र खबरदारी गर्ने काममा पनि संसद् थप क्रियाशील हुन आवश्यक छ । यो पाटोमा संसद् त्यति प्रभावकारी हुन सकेको देखिँदैन । कार्यपालिका क्षेत्रभित्रको सुधारका लागि गर्नुपर्ने कामहरूसमेत प्रशस्तै छन् ।

संविधानले राष्ट्रपतिको कार्यकालको सीमा निर्धारण दुई पटक गरेको छ, जस अनुसार कुनै व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपति बन्न पाउँदैन । स्थानीय तहका प्रमुखहरूको कार्यकाल पनि दुई पटक तोकिएको छ । राष्ट्रपति र पालिकाका प्रमुखजस्तै प्रधानमन्त्री र मुख्यमन्त्रीका लागि पनि कार्यकाल दुई पटकमा सीमित गर्नुपर्छ । पटक–पटक प्रधानमन्त्री हुने लालसाका कारण पार्टीको नेतृत्व हस्तान्तरणमा समस्या छ । प्रधानमन्त्रीको कार्यकाल सीमा मात्रै तोक्न सके पनि राजनीति निकै सङ्लिन्छ । पार्टीमा पुस्तान्तरण र रूपान्तरण पनि सहज हुन्छ । व्यक्तिविशेषको लालसाले गर्दा संसद् विघटन, पार्टी विभाजनजस्ता गतिविधिहरू पनि हुन पाउँदैनन् । त्यसैले प्रधानमन्त्रीको दुई पटकको कार्यकाल कुनै पनि सर्तमा संविधानमै तोकिनुपर्छ । राष्ट्रपति बनेको व्यक्ति प्रधानमन्त्री र प्रधानमन्त्री बनेको व्यक्ति राष्ट्रपति हुन नपाउने व्यवस्थासमेत राख्नु अत्यावश्यक छ । राष्ट्रपति र प्रधानमन्त्री मुलुकका सबभन्दा उच्च पद हुन् । उच्च पदमा पुगिसकेको व्यक्तिले आराम गर्नुपर्छ, अरूलाई अवसर दिनुपर्छ । रुसी राष्ट्रपति पुटिनजस्तो घरी यता घरी उता गर्ने र सधैं सत्तामा बस्ने लालसा राख्नु हुँदैन । अमेरिकाको जस्तो दुई पटक राष्ट्रपति भएपछि नदोहोरिने र पदबाट हटेपछि आफ्नो पेसा–व्यवसायमा लाग्ने हुनुपर्छ । प्रधानमन्त्रीजस्तै मन्त्रीको सीमा पनि तोकिनु आवश्यक छ । कोही डेढ दर्जन पटक मन्त्री बन्ने, कसैले चाहिँ अवसर नै नपाउने हुनु हुँदैन । तीन पटकभन्दा बढी मन्त्री बन्न नपाउने/नहुने व्यवस्था हुनुपर्छ । सांसदका सम्बन्धमा पनि यस्तै गरिनुपर्छ । कसैले नमरुन्जेल चुनावको टिकट पाइरहने, सांसद बनिरहने तर पार्टीमा उस्तै योगदान भएकाहरूले टिकट पाउन र सांसद बन्नबाट वञ्चित भइरहनुपर्ने बेथिति हुनु हुँदैन । जुनसुकै पार्टीको वा स्वतन्त्र भएर चुनाव लडोस्, चार पटकभन्दा बढी (तीन पटक निर्वाचित भए नपाउने) चुनाव लड्न नपाइने विधि बसाल्नु अत्यावश्यक छ । निर्वाचनमा पराजित भयो भनेर जहिले पनि त्यही पराजितलाई टिकट दिइरहने अभ्यास राम्रो होइन । कार्यपालिकाको थप सुधारका सम्बन्धमा मन्त्रालय/मन्त्रीको संख्या १५ भन्दा बढी हुन नहुने र मन्त्री बनाउँदा समावेशी र प्रादेशिक सन्तुलन मिलाउने गर्नुपर्छ । विशेष परिस्थितिमा बाहेक गैरसांसद मन्त्री हुन नपाउने व्यवस्था हुन पनि आवश्यक छ । मन्त्रीकै सम्बन्धमा, प्रदेशमा प्रदेशसभाको १० प्रतिशतभन्दा बढी हुन नहुने (संविधानमा २० प्रतिशत छ) व्यवस्था गर्नुपर्छ ।

संघीय तहमा विभागको संख्या अहिले करिब पाँच दर्जन छ । आधाभन्दा बढी विभागहरू कामविहीन छन्, जसलाई खारेज गर्नुपर्छ । औचित्यहीन आयोग, प्रतिष्ठानजस्ता पुरानो राज्यव्यवस्था अन्तर्गतका संरचनाहरू सबै खारेज गर्नुपर्छ । कर्मचारीकै सम्बन्धमा, संघीय तहमा कर्मचारीको ठूलो भार छ । आधाभन्दा बढी कर्मचारी कामविहीन नै छन् । कामविहीनलाई विधि–प्रक्रिया पुर्‍याएर हटाउनुपर्छ वा प्रदेश र स्थानीय तहमा व्यवस्थापन गर्नुपर्छ । राजनीतिक नियुक्ति लगायतका सम्बन्धमा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायहरूमा नियुक्ति सम्बन्धित विषयको राम्रो ज्ञान भएका, उच्च नैतिकतावान् र सामाजिक प्रतिष्ठा कायम गरेका व्यक्तिहरूलाई मात्र गर्नुपर्छ । राजनीतिक दाग लागेका र प्रशासनिक नेतृत्वमा बसेर राज्यको दोहन गरेकाहरूलाई वञ्चित गर्नुपर्छ ।

सुशासन प्रवर्धन लगायतका लागि प्रधानमन्त्री, मन्त्रीजस्ता सार्वजनिक पदधारण गर्नेहरूको सल्लाहकार र सहयोगी नजिकका नातेदार राख्न नपाउने व्यवस्था गर्नुपर्छ । नजिकका नातेदारहरूले नै भ्रष्टाचारमा मलजल गरेको आम गुनासो छ । नागरिकका गुनासाहरू चिर्न पनि यो अत्यावश्यक छ । यस्तै, विश्वविद्यालय लगायतका सार्वजनिक निकाय र प्रतिष्ठानहरूमा नियुक्ति गरिँदा राजनीतिक भागबन्डा र राजनीतिक पहुँच हेर्ने प्रचलन बन्द गर्नुपर्छ । राजनीतिक भागबन्डाकै कारण अहिले त्रिभुवन विश्वविद्यालय अस्तव्यस्त छ ।

संविधानले राज्यको शक्तिलाई प्रदेश र स्थानीय तहमा समेत विभक्त गरेको छ । त्यसैले प्रदेश र स्थानीय तहको अस्तित्वलाई स्वीकार गरी प्रदेश र स्थानीय तहसँग निरन्तर संवाद र छलफल गर्ने विधि बसाल्नसमेत आवश्यक छ । प्रधानमन्त्रीको अध्यक्षताको अन्तरप्रदेश परिषद्जस्ता अन्तरतह समन्वयकारी निकायहरू क्रियाशील गर्ने र यी निकायका बैठकका निर्णयहरू इमानदारीसाथ कार्यान्वयन गर्नुपर्छ । जस्तो— २०७५ मंसिरमा बसेको अन्तरप्रदेश परिषद्को बैठकले संघीयता कार्यान्वयनका सम्बन्धमा २९ कार्यक्षेत्र पहिचान गरी ८४ क्रियाकलाप बनाएको थियो । अधिकांश क्रियाकलाप २०७६ सम्म सक्नुपर्ने थिए, तर अहिलेसम्म आधा पनि काम भएको छैन । यस्ता पाटालाई बेवास्ता गरियो भने सरकारका तहहरूबीच खटपट हुन्छ ।

व्यवस्थापिका र कार्यपालिकामा जस्तै न्यायपालिकामा गर्नुपर्ने सुधारहरू पनि प्रशस्तै छन् । सर्वप्रथमतः, न्यायालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरिनुपर्छ । नेताहरूका कोटरीका मान्छेहरूलाई न्यायाधीशमा नियुक्ति दिने प्रचलन बन्द गरिनुपर्छ । रोलक्रम अनुसारको वरिष्ठ न्यायाधीश स्वतः प्रधानन्यायाधीश हुने व्यवस्था गर्नुसमेत जरुरी छ । यसपालि प्रधानन्यायाधीशको नियुक्ति लामो समय अल्झियो, फेरिफेरि यस्तो हुन नदिन पनि नयाँ व्यवस्था अत्यावश्यक छ । राजनीतिक दलहरूको तानातानको भार अदालतलाई बोकाउनु हुँदैन ।

प्रधानन्यायाधीशको रोलक्रममा रहेको न्यायाधीशको आचरण खराब छ भने संसद्ले अंकुश लगाउन सक्छ । न्याय परिषद्ले पनि खराब आचरणलाई गम्भीरतापूर्वक हेर्न सक्ने अधिकार दिएको छ । प्रधानन्यायाधीश बन्न संवैधानिक परिषद्कै सिफारिस चाहिने व्यवस्था हटाउनुपर्छ । संवैधानिक परिषद्को सदस्यबाट प्रधानन्यायाधीशलाई अलग्याउनुपर्छ ।

सबभन्दा बढी भ्रष्टाचार अदालतमा हुन्छ भन्ने आम गुनासो छ । जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्मका न्यायाधीशहरूको उठबस बिचौलियाहरूसंग नहोस् भन्न एकीकृत ढंगबाट सामूहिक आवास पद्धतिमा जान जरुरी छ । सुरक्षाका दृष्टिले त यो अत्यावश्यक हुँदै हो । राजनीतिक प्रभावबाट मुक्त हुन न्यायसेवा आयोगमा कुनै पनि ट्रेड युनियन हुने व्यवस्था हटाउनुपर्छ । गाउँघरका सामान्य झैझगडा र विवाद सम्बन्धी मुद्दाहरू अदालतमा दर्ता गर्नुभन्दा पनि स्थानीय न्यायिक समितिसँगको समन्वयमा स्थानीय तहमै मेलमिलापका माध्यमबाट सल्टाउने पद्धति विकासमा अदालतले अलि बढी सक्रिय भूमिका निर्वाह गर्नुपर्छ ।

प्रतिनिधिसभाको उपनिर्वाचनमा लज्जास्पद पराजय भोगेका पुराना पार्टीहरूले नागरिकको अपेक्षा अनुसार शासन प्रणालीमा देखिएका कमजोरीहरू सुधार गरेर आफूलाई परिष्कृत गर्नु जरुरी छ । समयले कसैलाई कुर्दैन । शासन व्यवस्थामा देखिएका कमीकमजोरी आम नागरिकका सरोकारका विषयहरू पनि हुन् । नागरिकका सरोकारका विषयहरू समाधानमा जो अग्रसर हुन्छ, नागरिकको आड र भरोसा पनि उही नै हुन्छ । पुराना र नयाँ पार्टीहरूले यसलाई गम्भीरतापूर्वक लिऊन् । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार