काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ।
बुधबार सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका लैजाने ठगी प्रकरणमा ३० जना प्रतिवादीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग पत्र दर्ता गराएको हो ।
काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीका अनुसार अहिलेसम्म पक्राउ परेका र किटानी जाहेर भएकाविरुद्ध मुद्दा दर्ता भएको छ। तथ्य तथा प्रमाण भेटिएका र भविष्यमा थप अनुसन्धानबाट तथ्य प्राप्त भएमा मुद्दा चलाउनेगरी केही व्यक्तिको नाम पनि उल्लेख गरिएको छ। प्रहरीले तयार पारेको प्रतिवेदन आरोपित पक्राउ परेको ६० औं दिनमा मुद्दा दर्ता गरेको हो।
उनीहरुविरुद्ध ठगी, सरकारी कागजात किर्ते, राष्ट्रहित विरुद्धको कसुर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गरिएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, खाँणका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी, पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, मोरङका सागर थुलुङ राई, पाँचथरका टंक गुरुङ, दाङका सन्देश शर्मा पोखरेल, सुनसरीका गोविन्द चौधरी, काठमाडौंका रामशरण केसीलगायत ३० जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
जसमध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया