काठमाण्डौः प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना राजनीतिक दलका विरुद्ध अभियान संचालन गर्न खोजिएको आरोप लगाएका छन् ।
पुराना राजनीतिक दलहरूले गरेको संघर्ष र योगदानलाई कम आँकेर त्यसले ल्याएको परिवर्तित अवस्थामा अभियान संचालन गरिएको उनको भनाइ थियो ।
काठमाडौंमा शनिबार नेपाल निजामती कर्माचारी संगठनले आयोजना गरेको दोस्रो राष्ट्रिय महिला भेलाको उद्घाटन गर्दै ओलीले पुराना दल र नेताविरुद्ध अभियान संचालन गर्न खोजिएको बताएका हुन् । विगतका शासनमा बोल्न पनि नपाइने अवस्थालाई संघर्षबाट ल्याएको उनको भनाइ थियो ।
‘अहिले पुरानाहरूका विरुद्ध एउटा अभियान संचालन गर्न खोजिएको छ, योगदानका विरुद्ध अभियान संचालन गर्न खोजिएको छ, त्यागका विरुद्ध अभियान संचालन गर्न खोजिएको छ, संघर्षका विरुद्ध अभियान संचालन गर्न खोजिएको छ,’ उनले भने ।
राजनीतिक संघर्षबाट ल्याएको व्यवस्थालाई बुझ्न नसकेर त्यसका विरुद्ध अभियान चलाउन खोजिएको ओलीको भनाइ थियो । ‘दृढ र अनवरत संघर्ष स्वरुप आजको अवस्थामा आइपुगेका हौं । त्यो उनीहरूले बुझ्न सकेका छैनन् । सानो बलिदानबाट हामी आइपुगेका छैनौं,’ उनले भने, ‘यो त्यत्तिकै आएको होइन । असभ्य, अमर्यादित तरिकाको बाढी बगाउन खोजिएको छ । जुन कुराको गन्तव्य हुँदैन ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया