काठमाडौंः बाल सेना दुरुपयोग लगायतका आरोप लगाउँदै पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ। पूर्व अयोग्य लडाकु लेलिन बिष्टसहितले दायर गरेको रिटमाथि सुनुवाइ हुन लागेको हो।
माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरूलाई बाल सेना बनाएर प्रवेश गराएको अनि बेवास्ता गरेको भन्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि कारबाहीको माग गरिएको छ। दस वर्षसम्म चलेको सशस्त्र युद्धका बेला बालसेना दुरुपयोग गरी युद्ध अपराध गरेको आरोपसहित आइतबार दर्ता गराएको रिटमा सुनुवाइका लागि पेसी तोकिएको हो।
सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले आफूहरूलाई बाल सैन्यका रूपमा प्रयोग गरेर विस्तृत शान्ति सम्झौतापछिका साढे १६ वर्षसम्म पनि न्याय दिलाउने कार्य नगरेको भन्दै रिट निवेदकहरूले तत्काल आफूहरूलाई बालसेनाको पहिचान दिई परिपूरण, क्षतिपूर्ति, न्याय लगायतका काम कारबाही तत्काल गर्नु गराउनु भनी अन्तरिम आदेशको माग गरेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया