काठमाडौं: कोशी प्रदेश सरकार गठनविरूद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई अवैधानिक रुपमा मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै उत्प्रेषणमार्फत खारेजीको मागदाबी सहित सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए ।
नेकपा एमालेका तर्फबाट कोशी प्रदेशमा संसदीय दलका नेतासमेत रहेका कार्कीले नवनिर्वाचित मुख्यमन्त्री, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई रिट निवेदनमा विपक्षी बनाएका छन् ।
कार्कीले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दाबी गरेका छन् ।
कोशीमा बिहीबार कांग्रेस संसदीय दलका नेता उद्वव थापाले मुख्यमन्त्री दाबी गर्दा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री बनाउन सभामुखले हस्ताक्षर गर्नु संविधानविपरीत रहेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेको थियो । रिटमा एमालेले प्रदेश सरकार गठन रद्द गरी आफ्नो दलको नेतृत्वमा सरकार बनाउन परमादेश माग गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया