काठमाडौंः इन्टरनेट सेवा प्रदायकले प्रदान गर्ने इन्टरनेटभन्दा टेलिफोन सेवा प्रदायकबाट प्रदान गर्ने सेवा सहज र सुलभ हुन थालेपछि ठुला इन्टरनेट सेवा प्रदायक (आइएसपी)का ग्राहक घट्न थालेका छन् ।
ठुला इन्टरनेट सेवा प्रदायकले मूल्य बढाए पनि सेवा चुस्त बनाउन नसक्दा ग्राहक ठुला आइएसपीबाट अन्य आइएसपी र मोबाइल इन्टरनेटमा सिफ्ट भएको देखिएको छ । यद्यपि, नेपालमा ब्रोडब्यान्ड इन्टरनेटका ग्राहक संख्या भने ह्वात्तै बढेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशन गरेको नयाँ आधिकारिक तथ्यांकले नेपालमा इन्टरनेटका उपभोक्ता र मोबाइल फोनका ग्राहक बढेको देखिए पनि ठुला आइएसपीका ग्राहक घटेको देखिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणको भाद्र महिनामा प्रकाशन गरेको तथ्यांकअनुसार गत चैतको तुलनामा वैशाखमा ठुला इन्टरनेट सेवा प्रदायक कम्पनीका ग्राहक घटेको देखिएको हो ।
प्राधिकरणका अनुसार ब्रोडब्यान्ड इन्टरनेटका ग्राहक एक महिनाको अन्तरालमा १ करोड २० लाखले बढेको छ । प्राधिकरणका अनुसार गत चैतमा २ करोड ७३ लाख ५७ हजार ब्रोडब्यान्ड इन्टरनेट ग्राहक रहेकामा यो संख्या बढेर ३ करोड ९३ लाख २ हजार ४ सय ४८ पुगेको छ । यो भनेको नेपालको जनसंख्याभन्दा १ करोड २ लाखले बढी हो । नेपालमा अहिले जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ ।
नेपालमा अहिले ५ एमबिपिएसभन्दा बढीलाई ब्रोडब्यान्ड मान्ने गरिएको छ । प्राधिकरणका अनुसार नेपाल टेलिकमको चैतमा १ करोड ९६ लाख २० हजार ४ सय रहेकोमा वैशाखमा २ करोड ८ हजार रहेको छ । यसैगरी, एनसेलको ब्रोडब्यान्ड ग्राहक ८८ लाख ८५ हजारबाट ८९ लाख २४ हजार पुगेको छ ।
इन्टरनेट सेवा प्रदायकको भने १ करोड २ लाख ५३ हजारबाट १ करोड ३ लाख ६९ हजार पुगेको छ । ब्रोडब्यान्ड इन्टरनेटको ग्राहक बढे पनि मुख्य कम्पनीका भने ग्राहक घटेका छन् । इन्टरनेटका ग्राहक गुमाउने मुख्य कम्पनीहरूमा वल्डलिंक, डिसहोम, नेपाल टेलिकम, सुबिसु र ब्रोडलिङ रहेका छन् ।
चैतदेखि वैशाखसम्मको एक महिनाको अवधिमा वल्डलिंकका १८ हजार ८ सय ८९ ग्राहक संख्या घटेर ७ लाख ७१ हजारबाट ७ लाख ५२ हजारमा सीमित भएको हो । त्यसपछि डिसहोमले ११ हजार २२, नेपाल टेलिकमले १० हजार २ सय ६२, सुबिसुले ४ हजार ७ सय ५९ र ब्रोडलिंकले २ हजार ५ सय ९६ ग्राहक गुमाएका छन् । डिसहोमको २ लाख ४० हजारबाट २ लाख २९ हजारमा घटेको हो । प्राधिकरणका अनुसार सो अवधिमा सबैभन्दा धेरै नयाँ ग्राहक बनाउनेमा ५ हजार ३ सय १२ ग्राहकका साथ वेब सर्फर पहिलो नम्बरमा रहेको छ ।
दोस्रो नम्बरमा रहेको सिजी नेटले ४ सय ८२ नयाँ ग्राहक बनाएको छ । ठुला इन्टरनेट सेवा प्रदायक कम्पनीले ग्राहक गुमाउँदा समग्र फिक्स ब्रोडब्यान्ड इन्टर नेटको पहुँचसमेत ३७ हजार ७ सय ७८ अंकले घटेको छ । चैतमा २६ लाख ७३ हजार ४ सय ७१ घरपरिवारमा फिक्स ब्रोडब्यान्ड इन्टरनेट पुगेको भए पनि वैशाखसम्म आउँदा घटेर २६ लाख ३५ हजार ६ सय ९३ संख्यामा खुम्चिन पुगेको छ । एक महिनामै इन्टरनेट प्रयोगकर्ताको संख्या २६ हजारभन्दा धेरैले घटेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस प्रतिवेदनअनुसार गत चैतको तुलनामा वैशाखमा इन्टरनेट प्रयोगकर्ताको संख्या यो दरमा घटेको हो । चैतमा विभिन्न सेवा प्रदायकका वायरलेस, केबल र फाइबर गरी कुल २६ लाख ७३ हजार ४ सय ७१ ग्राहक रहेका थिए । वैशाखमा घटेर २६ लाख ४७ हजार ३ सय ७९ मा सीमित भएको छ । समग्र टेलिफोन प्रयोगकर्ताको संख्या वैशाखमा ३ करोड लाख ८८ हजार रहेको छ । चैतमा यो संख्या ३ करोड ६७ लाख १४ हजार थियो । मोबाइल प्रयोगकर्ताको संख्या भने करिब ६ प्रतिशतले घटेको छ ।
चैतमा कुल ३ करोड ५८ लाख ९१ हजार ७ सय १९ मोबाइल प्रयोगकर्ता रहेकोमा वैशाखमा यस्तो प्रयोगकर्ताको संख्या २० लाख ५४ हजारले घटेको हो । वैशाखमा मोबाइल प्रयोगकर्ताको संख्या ३ करोड ३८ लाख ३७ हजार ५ सय १३ रहेका छन् । स्मार्ट टेलिकमको लाइसेन्स भने रद्द भएका कारण पनि यो संख्या धेरै देखिएको हो । यसअघि २४ लाख १९ हजारले स्मार्ट सिम राखेर मोबाइल प्रयोग गर्दै आएका थिए । जनसंख्याका आधारमा ९४ दशमलव ८८ प्रतिशतमा मोबाइल ब्रोडब्यान्डको पहुँच पुगेको छ भने ३९ दशमलव ६७ प्रतिशत जनसंख्या फक्स्ड ब्रोडब्यान्डको पहुँचमा छ ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल टेलिकमको हिस्सा ६७ दशमलव ५९ प्रतिशत रहेको छ भने, एनसेलको ३२ दशमलव ४१ प्रतिशत रहेको छ । ४जी इन्टरनेटको सब्सक्रिप्सनको संख्या नेपाल टेलिकममा १ करोड २६ लाख ७९ हजार १८ पुगेको छ भने, एनसेलको ७१ लाख २ हजार ४ सय ७१ रहेको छ ।
प्राधिकरणका अनुसार फिक्स्ड ब्रोडब्यान्ड सेवाको हकमा वल्डलिंकको बजार हिस्सा २८ प्रतिशत छ । टेलिकमको हिस्सा ११ प्रतिशत छ । क्लासिक टेक, भायनेट र सुबिसुको १०/१०, डिसहोमको ९, वेबसर्फरको ६, टेकमाइन्ड्सको ४ तथा ब्रोडलिंक र सिजीको समान २/२ प्रतिशत बजार हिस्सा छ । अन्य आइएसपीको बजार हिस्सा ८ प्रतिशत रहेको प्राधिकरणको तथ्यांक छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया