काठमाण्डौः रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी अक्टुबर चीनको भ्रमणमा जाने तय भएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले पक्राउ पुर्जी जारी गरेपछि उनी हालसम्म कुनै देश भ्रमणका लागि गएका छैनन् । उनी हालै दक्षिण अफ्रिकाको जोहानेसबर्गमा सम्पन्न ब्रिक्स सम्मेलनमा उपस्थित भएनन् भने भारतमा आगामी महिना आयोजना हुने जी-२० सम्मेलनमा पुटिन सहभागी नहुने रुसको सरकारले बताइसकेको छ । तर, पुटिन अक्टोबरमा आयोजना हुने बेल्ट एन्ड रोड इनिसियटिभ बीआरआईको कार्यक्रममा भाग लिन चीन भने जाने भएका छन् ।
ब्लुमबर्गको रिपोर्टअनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले पुटिनलाई बीआरआई फोरमका लागि निम्तो दिएका छन् ।रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार पुटिनको चीन भ्रमणको तयारी भइरहेको छ । उनी भन्छन्, ‘चीन र रुसबीच धेरै विषयमा द्विपक्षीय छलफलबारे योजना बनिरहेको छ । यसबारे समय तोकिएपछि जानकारी दिनेछौँ ।’
पुटिन आफैँ बीआरआई फोरममा उपस्थित हुनेछन् । यसअघि ब्रिक्समा पुटिनको स्थानमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभ दक्षिण अफ्रिका गएका थिए । भारतको जी२० सम्मेलनमा पनि पुटिनको स्थानमा विदेशमन्त्री लाभरोभलाई नै पठाइने तय भएको छ ।
वास्तवमा गत मार्च १७ मा आईसीसीले पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि गिरफ्तार हुने त्रासकै कारण पुटिन दक्षिण अफ्रिका गएका थिएनन् । किनभने दक्षिण अफ्रिका आईसीसीमा आवद्ध राष्ट्र हो । पक्राउ पुर्जी जारी गरिएका व्यक्तिलाई गिरफ्तार गर्नु आईसीसी राष्ट्रको कर्तव्य मानिन्छ ।
तर, भारत आईसीसीको सदस्य राष्ट्र होइन । त्यहाँ आईसीसीको आदेशको पालना हुँदैन । रुसले पुटिन व्यस्त भएकाले जी-२० सम्मेलनमा आउन नसक्ने बताएको छ । जी-२० समूहमा अमेरिका, जर्मनी, फ्रान्स, बेलायतजस्ता नेटो राष्ट्र पनि आबद्ध छन् । यी राष्ट्रहरूले जी-२० सम्मेलनमा रुस र युक्रेन युद्धबारे पनि चर्चा गर्ने अनुमान छ ।
सुरुवातदेखि यी राष्ट्रहरूले रुसविरुद्धको युद्धमा युक्रेनलाई हतियार दिएर सहयोग गरिरहेको अवस्था छ । यदि पुटिन दिल्लीमा आयोजना हुने जी-२० सम्मेलनमा भाग लिए उनको अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत पश्चिमा राष्ट्रका शीर्ष नेताहरूसँग भेट हुने थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया