असोज ८, २०८३ बिहिबार September 24, 2026

स्वार्थमा चुकेको विश्व नेतृत्व- डा. चन्द्र भण्डारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भनिन्छ, संकटले नेतृत्वको परीक्षण गर्छ । जुन नेता र नेतृत्व विपत्का घडीमा जनभावना सम्बोधन गर्न सक्षम हुन्छन्, ती इतिहासमा अमर हुन्छन् । जो यस कसीमा खरो उत्रिँदैनन्, ती नामेट हुन्छन् । कोरोना–संकट पनि यस्तै ऐतिहासिक घटनाक्रम बन्ने निश्चितप्रायः छ ।

मानव समाजको विकासक्रममा प्रजातान्त्रिक प्रक्रियाबाट आएका नेता र वैज्ञानिकप्रति ठूलो विश्वास रहँदै आएको थियो । आफ्नो विकास र अनुसन्धानमा उनीहरूलाई गर्व थियो । आणविक भट्टी र मिसाइलहरू रक्षाकवच मात्र होइन, शक्तिको ताज बनेका थिए । आज आएर त्यो सानमान र दौलतलाई निर्जीव भाइरसले अपहरण गरेको छ, जसका कारण कोरोनापछिको मानव समाज र उसले विकास गरेका मान्यता र शिक्षा प्रणालीमा ठूलो परिवर्तन आउने अनुमान गरिँदै छ । अहिलेसम्म मानव सुरक्षाका लागि गरिएका विकासमा विश्वास टुटे पनि वैज्ञानिकहरूले भनेका कुरा जनताले मानिरहेका छन् – लकडाउनमा बस, हिँड्दा वा बजार जाँदा दूरी कायम गर, तातो पानी पिऊ… ।

आजसम्म विकास भएका सामाजिक मूल्यमान्यता र परिभाषामा ठूलो परिवर्तन हुने अवस्था छ । समाजको आधुनिकीकरण र विकासका लागि प्रजातन्त्रको जति महत्त्व छ, संकटको समयमा शासकहरूले सही तरिकाले अधिकारको प्रयोग नगर्नाले ठूलो विनाश निम्तिने जोखिम पनि त्यति नै छ । कोरोना-संकट सुरु भएयता प्रजातान्त्रिक विधि, प्रक्रिया र व्यावहारिक पक्षबारे तमाम प्रश्न उठिरहेका छन् । सरकारहरूको व्यवस्थापनको अभाव, संक्रमण नियन्त्रणका प्रयास, जनचाहना र जनआवश्यकताको पहिचान गर्न नसक्दा नेतृत्वको क्षमतामाथि प्रश्नहरू उठेका छन् । सानो डोरीमा बाँधिएका नेताहरूका कारण देशहरूले विखण्डनको बाटो अँगाल्नेछन् ।

विश्वको नेतृत्व गर्ने मानवतावादी  राजनेता देखा पर्नै सकेनन् । कोरोनाको रजाइँमा विश्वका नेताहरू भूमिकाविहीन देखिए ।

राज्यसंयन्त्र पाल्नका लागि विदेशी सहयोगमा निर्भर नेपालजस्ता देशका संरचनामा आमूल परिवर्तन हुनेछ । समाजमा रहेका संरचनाको उद्देश्य स्पष्ट हुनुपर्नेछ । यिनले जनताका अनेक प्रश्नको उत्तर दिनुपर्नेछ । विगतको मानवीय इतिहास र सभ्यतामा देखिएका पैतृक मान्यता र सोचमा आमूल परिवर्तन ल्याउनुपर्नेछ । वर्तमान र भविष्यका चुनौतीको सामना गर्न नयाँ जनशक्तिको आवश्यकता पर्नेछ, जसका लागि शिक्षामा नयाँ पाठ्यक्रमको आवश्यकता पर्नेछ । अध्ययनविधि र अनुसन्धानमूलक शिक्षाले प्राथमिकता पाउनेछ । लैंगिक रूपले पनि विश्वको राजनीतिक नेतृत्वमा आमूल परिवर्तनको सम्भावना बढ्दो छ । यहाँ नेतृत्व भनेर राजनीतिक रूपमा मात्र हेरिएको छैन । पुँजीवादको चरम चुलीमा पुगेर भौतिक विकासको शय्याको हनिमुनमा एकपक्षीय रूपमा रमाएको विश्वले अदृश्य भाइरसको डरका कारण विकसित उद्योगधन्दा बन्द गरी बेरोजगारी र अभावको सामना गरिरहेको छ । छ महिना वा वर्षदिनपछि औषधिको व्यापारका लागि आजैदेखि व्यापारीहरूले लकडाउनको आतंक मच्चाइरहेका छन् ।

विगतमा हामी जति तर्कहरू गरिरहेका थियौं, ती सामान्य अवस्थाबारे मात्र थिए भनी कोरोनाले पुष्टि गरिदिएको छ । असामान्य परिस्थितिमा कसको भूमिका कस्तो हुन्छ र कसरी निणर्य गर्नुपर्छ भन्ने अर्को महत्त्वपूर्ण पक्ष त छँदै छ । अहिले कोरोनाले निम्त्याएको संकटले मानव जीवनको हरेक पाटालाई प्रत्यक्ष-अप्रत्यक्ष रूपमा असर गर्ने प्रस्ट छ । यस अवस्थामा सामान्य परम्परागत निर्णयले हुँदो रहेनछ, नेताहरूले राजनीतिक निर्णय गर्नुपर्दो रहेछ, फरक सोच र प्रत्युत्पन्नमति देखाउनुपर्दो रहेछ । विश्व नै मेरो हातमा छ भनी घमन्ड गर्ने नेताहरू पनि समयमा सही निर्णय गर्नबाट चुक्नाले मानवीय क्षति मात्र भएको छैन, उनीहरूप्रतिको आम विश्वाससमेत गुमेको छ । अहिले विश्वलाई समयअनुसार चलाउने र नेतृत्व गर्ने नेताको अभाव देखिएको छ । साथै महाशक्तिको दाबी गर्ने नेताहरूको सानमानलाई कोरोनाले खोसिदिएको छ । भोलिको युगले नयाँ नेतृत्व र नयाँ चेतनालाई आत्मसात् गर्नेछ । समाजको विश्वास जित्न पृथक् मार्ग र विचारको आवश्यकता छ । लैंगिक रूपमा नेतृत्व परिवर्तन हुनेछ । शक्ति र सम्पन्नताको नयाँ परिभाषा गर्नेछ । परम्परित मुकुटहरू फेरिनेछन् ।

विश्वनेताहरूको भूमिका

आणविक भट्टी र मिसाइलले सुरक्षा गरेको देशलाई कोरोना भाइरसले झस्कायो । कोरोना जहाज चढेर पश्चिमतिर लाग्यो अनि इटाली, स्पेन, बेलायत र अमेरिका लगायतमा अनियन्त्रित गतिमा बढ्यो । तत्तत् देशका प्रमुखले सही समयमा सही निर्णय गर्न नसकेका कारण तिनको सानमानको ताजमा प्रश्नचिह्न खडा भयो । विश्वमा एकछत्र राज गरेका अमेरिका र बेलायत लगायत अस्तव्यस्त बने । वर्तमानमा शक्तिशाली देशका नेताहरू समस्या समाधानका लागि आपसमा सहयोगी बन्न सकेनन् । विश्वको नेतृत्व गर्ने मानवतावादी राजनेता देखा पर्नै सकेनन् । कोरोनाको रजाइँमा विश्वका नेताहरू भूमिकाविहीन देखिए ।

पुँजीवादको चरम चुलीमा पुगेर भौतिक विकासको शय्याको हनिमुनमा एकपक्षीय रूपमा रमाएको विश्वले अदृश्य भाइरसको डरका कारण विकसित उद्योगधन्दा बन्द गरी बेरोजगारी र अभावको सामना गरिरहेको छ । छ महिना वा वर्षदिनपछि औषधिको व्यापारका लागि आजैदेखि व्यापारीहरूले लकडाउनको आतंक मच्चाइरहेका छन् ।

महिला नेतृत्वहरूको भूमिकाचाहिँ प्रशंसनीय रह्यो । महिला राष्ट्रप्रमुख रहेका जर्मनी, ताइवान, न्युजिल्यान्ड, आइसल्यान्ड, फिनल्यान्ड, नर्वे र डेनमार्क कोरोनामाथि विजय प्राप्त गर्न तुलनात्मक रूपमा सफल देखिए । धैर्य, सहनशीलता, सहानुभूति, संवेदनशीलताका साथ समयअनुसार परिस्थितिलाई बुझेर निर्णय गर्ने क्षमता महिलाहरूमा देखियो । यस दृष्टान्तले कोरोना युगपछि विश्वनेतृत्वमा महिलाहरूको सम्भावना बढाएको छ ।

विश्वनेताहरू कहाँ चुके ?

सर्वप्रथम त शक्तिशाली नेताहरूले चीनमा देखिएको कोरोना संक्रमण आफ्नो देशमा प्रवेश गर्न सक्छ भन्ने अनुमानै गरेनन् । न कोरोनाको गम्भीरता बुझ्न सके, न जनतालाई जोगाउन लकडाउन गर्न सके ।

दोस्रो, यो मानवीय समस्याको समाधान सबै एकै ठाउँमा उभिएर गर्नुपर्छ भन्ने सोचको विकास हुन सकेन । पर्खाल, अमुक धर्म वा नाकाबन्दीका नाममा राष्ट्रवादीको बिल्ला भिरेका तथाकथित नेताहरूले ‘नेसनलिस्ट आइसोलेसन’ को धारणा विकास गरे । तेस्रो, सबै देश एकजुट भएर औषधिको खोजी गर्नुपर्थ्यो । अनि छिटो औषधि बनाउन सकिन्थ्यो र आवश्यकतानुसार वितरणको व्यवस्था गर्न सकिन्थ्यो । तर, दैलामा काल आइरहेको देख्दादेख्दै पनि विश्वका शक्तिशाली नेताहरूले यसलाई प्रतिस्पर्धाका रूपमा लिए । सामूहिक भावना प्रदर्शन गर्न सकेनन् ।चौथो, कसैले कसैलाई आरोपित गर्ने नभई सबै मिलेर मानव जातिको संरक्षणमा लाग्ने अवसर थियो यो । पाँचौं, विभिन्न कारणले भएको स्थायी वा अस्थायी मानवीय स्थानान्तरणलाई वा आन्तरिक र बाह्य बसाइँसराइलाई सम्बोधन गर्नबाट नेताहरू चुके ।

सबैभन्दा महत्त्वपूर्ण मानवीय पुँजी हो र यसका रक्षा गर्नुपर्छ भन्ने भावनामा कमी देखियो । मानवता, मानवीय संवेदना र मानवाधिकारको धज्जी नै उड्यो । नेतृत्वको वागडोर लिएका विश्वका धेरैजसो नेताको कार्यकुशलता र संकट समाधान गर्ने खुबी कति रहेछ भन्ने देखियो । नेताहरूको बोली, भाषा र हाउभाउमा कमजोरी देखियो । कसैले जनतालाई साथ लिएजस्तो देखिए पनि रणनीति थिएन, कोही त रोबोटसरि संवेदनहीन भई बोलिरहेका थिए । कसैले थर्काउने शैली अपनाएका थिए । यसो हेर्दा ती मानिस नभई कुनै मेसिन हुन् कि जस्तो भान हुन्थ्यो । कम्प्युटर वा रोबोटमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ त राखियो, तर मानवता प्राथमिकतामा पर्न सकेन ।

विश्व कसरी विवेकहीन भयो ?

पुँजीवाद, भूमण्डलीकरण, खुला बजार तथा सूचना र सञ्चार प्रविधिमा आएको बाढीले एकातर्फ धेरै नयाँ ढोका खोल्यो भने, अर्कातर्फ प्रजातान्त्रिक मन्दीलाई पनि निम्त्यायो । ट्रम्प जहिले पनि ‘हामी अप्ठ्यारोमा छौं’ भनिरहन्छन् र दोषजति जहिल्यै अरू (चीन, मेक्सिको, मुसलमान आदि) माथि थोपर्ने गर्छन् । उनले आफ्नै आँगनका मानिसहरूबीच विद्यमान विभेदधरि देख्न सकेनन् ।

हामीले आफ्ना गल्तीको दुष्परिणाम त भोग्छौं नै, तर अहिले शक्तिशाली देशहरूले गरेका भूलको सजाय पनि भोग्नुपरिरहेको छ । यसको टड्कारो उदाहरण कोरोना नै हो । सीमित मानिसको सुखसयलका लागि सम्पूर्ण विश्वको अस्तित्व नै दाउमा छ । यस्तो अवस्थामा सामान्य नागरिकको प्रजातान्त्रिक अधिकारको के कुरा भो र ! ओजोन तहको प्रतिकूल प्रभाव सीमित शक्तिशाली मानिसलाई भन्दा बढी असंख्य मजदुरमा पर्छ, जबकि सीएफसी (क्लोरोफ्लुरोकार्बन) उत्सर्जनमा शक्तिशालीहरूको बढी हात हुन्छ ।यससँगै विश्वका प्रत्येक मानिसको स्वतन्त्रता खोसिएको छ । ऊ जहिल्यै आफ्नो जागिर खोसिने हो कि भन्ने त्रासमा हुने गर्छ ।

चीनमा सस्तो श्रम पाइरहेका बेला कुन देशले आफ्ना नागरिकलाई बढी तलबमा त्यही काम गराउला ? राजनीतिले सबै क्षेत्रमा प्रभाव त पार्छ, तर राजनीतिलाई पुँजीवादले किनिसकेको समयमा आर्थिक हैसियत नै सर्वोच्च हुन्छ । त्यसको प्रभावमा स्वतन्त्रता र प्रजातन्त्र खुम्चिनु स्वाभाविक नै हुन्छ । प्रजातान्त्रिक मुलुकहरूमा सरकार गठन, सत्ता सञ्चालन, पदाधिकारी चयन, चुनाव, पार्टी सञ्चालन, टिकट वितरण, निर्वाचन, प्रधानमन्त्री चयन, मन्त्रिमण्डल गठन, पोर्टफोलियो वितरणजस्ता सबै विषयबारे भन्दाखेरि जनताद्वारा जनताका लागि त भनिन्छ, तर अहिले सबै बजारमा राखिएका किनबेचका वस्तु भएका छन् । यही कारण विश्व नाफामूलक व्यापारिक केन्द्र बन्न पुग्यो अनि मानवता कमजोर भयो ।

चुनौतीको समाधान

भूमण्डलीकरण र सूचनाप्रविधिको यस युगमा उपर्युक्त समस्याको समाधान हाम्रै पूर्वीय दर्शनले दिएको छ । ‘वसुधैव कुटुम्बकम्’ । सम्पूर्ण विश्वनेता ‘नेसनलिस्ट आइसोलेसन’, ‘ब्लेम गेम’ र शक्तिमोह त्यागी एकजुट भई कोरोना–संकटबाट मुक्तिको उपाय खोज्नुको विकल्प छैन ।

विश्वका वैज्ञानिकहरूले दिएको एकताको दृष्टान्त राजनीतिज्ञहरूले अवलम्बन गर्न जरुरी छ । यो समस्याबाट पार पाइसकेका देशहरूले पीडित देशहरूलाई सहयोग गरी यसबाट मुक्त गराउने दायित्वबोध गर्नुपर्छ । मानवीय स्वास्थ्य संकटबाट उम्किन स्वास्थ्य सामग्रीको उत्पादन र वितरणमा खास सतर्कता अपनाउनुपर्छ । स्वास्थ्यकर्मी परिचालनको दायित्व पनि छ। मानवतालाई नाफाको व्यापार बनाएर स्वार्थमा मौलाएको विश्वनेतृत्वलाई नयाँ दर्शनका साथ बिदा गर्नु पनि सम्भावित चुनौतीको समाधान हो । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्यालय बन्द
भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द
२०८३ असोज ८, बिहिबार
ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट
२०८३ असोज ८, बिहिबार
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३ असोज ८, बिहिबार
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार
२०८३ असोज ८, बिहिबार
तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह
२०८३ असोज ८, बिहिबार
कांग्रेस महाधिवेशनः ६६ जिल्लाका ६३० जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न
२०८३ असोज ८, बिहिबार
यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका २२ निर्णय : विद्या भण्डारी वरिष्ठ नेता, २७ जना मनोनीत
२०८३ असोज ८, बिहिबार