असार ३०, २०८२ सोमबार July 14, 2025

श्रम शोषण गर्ने मिडिया सञ्चालककै घरमा धर्ना दिने पत्रकार महासंघको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको हकहितका निम्ति चरणबद्ध आन्दोलन थालेको छ । पहिलो चरणमा समस्या समाधानका लागि मिडिया हाउसका सञ्चालकलाई पत्राचार गरेको महासंघले दोस्रो चरणबाट दबाब मुलक आन्दोलन गर्ने तयारी गरेको छ ।

कोरोना भाइरसको कहरसँगै श्रमजीवी पत्रकारलाई विदामा बस्न लगाउने, तलब काट्ने, विभिन्न सेवा सुविधान नदिने र कतिपय ठाउँमा कामबाटै निकाल्ने जस्ता समस्या आएपछि महासंघले दबाब मुलक आन्दोलन गर्ने तयारी गरेको हो ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघ श्रमजीवी पत्रकारको पक्षमा जस्तोसुकै आन्दोलनका लागि तयार रहेको बताएका छन । उनले भने,महासंघले श्रमजीवी पत्रकारको हकहितविरुद्ध कुनै पनि सम्झौता गर्दैन । हामीले अब धर्ना बस्नेसम्मका विभिन्न दबाब मुलक कार्यक्रमको तयारी गरेका छौँ । आवश्यक परेमा मिडिया सञ्चालकको घरमा पुगेर धर्ना बस्ने तयारी पनि हाम्रो छ ।

सहुलियत दिनुपर्ने ठाउँमा सेवा सुविधा कटौती गर्ने काम भएको जानकारी दिँदै महासंघ अध्यक्ष आचार्यले अब विभिन्न सेवा सुविधा बञ्चितदेखि कानुनी कारबाहीका लागि पहल पनि गरिने चेतावनी दिएका छन । उनले भने,अप्ठयारो अवस्थामा सहुलियत दिनुपर्नेमा मिडिया सञ्चालकले पत्रकारको तलब कटौती गर्ने, विदामा बस्न लगाउने र कतिपय ठाउँमा जागिरबाटै हटाउने उजुरी हामीसँग आएको छ । हामी कानुनी हिसाबले पनि अगाडि बढ्छौँ । सुरुवातमा वार्ता र संवादबाटै समस्या समाधानमा हाम्रो पहल हुन्छ । त्यसपछि पनि समस्या समाधान नभएमा हामी सशक्त आन्दोलनमा जानेछौँ ।

महासंघका महासचिव रमेश विष्टले मिडिया सञ्चालकले आफ्नै मिडिया हाउसका पत्रकारसँग दूरी बढाउँदै जानु उनीहरुका लागि पनि राम्रो नभएको बताएका छन । उनले भने, मिडिया आन्तरिकरुपमा छलफल पनि हुन सकिरहेको छैन । त्यस्तो अवस्थामा केन्द्रको भूमिका महत्वपूर्ण हुन्छ । धेरै मिडिया सञ्चालकले कोभिड-१९ को बहाना बनाएर कामदार तथा पत्रकार निकाल्ने गैरकानुनी काम गर्न थालेकाले अब सशक्त आन्दोलनको विकल्प छैन । हामीले त्यसै अनुसारको आन्दोलनको तयारी गरेका छौँ ।

लकडाउन सुरु भएसँगै विभिन्न बहानामा पत्रकार निष्कासन गरिएको छ । एक दुई महिनालाई पनि धान्न नसक्ने मिडिया हाउसको औचित्य नभएको निष्कर्ष निकालेर महासंघ कानुनी तथा दबाब मुलक आन्दोलन गर्ने तयारीमा छ । त्यसका लागि सरकारी निकायसँग पनि समन्वय गर्नेगरी छलफल चलिरहेको छ । आफूले सम्पत्ति जोड्ने र पत्रकारलाई खान पनि नदिने खालको वातावरणको अन्त्य गर्न महासंघले सरोकारवाला निकायसँग पनि निरन्तर छलफल गरिरहेको छ ।

पत्रकार महासंघका अन्य पदाधिकारीले पनि मिडिया सञ्चालको आकाशिदो आर्थिक अवस्था र मिडियाको आवरणमा हुने अन्य क्रियाकलापलाई पनि राज्यका निकायमा लिखित उजुरी दिएर छानबिन गर्नुपर्नेमा जोड दिएका छन् । ठूलो भनिएका सञ्चार संस्थामा श्रमको धेरै समस्या देखिएको छ ।

पहिलो चरणमा पत्राचार गरेपछि अन्नपूर्णपोष्ट दैनिकले विदामा बस्न लगाएका पत्रकारलाई काममा बोलाएको स्रोतको भनाइ छ । कान्तिपुर दैनिकले केही पत्रकारको कटौती गरेको तलब फिर्ता गर्न थालेको छ भने नयाँ पत्रिका दैनिकले पनि समस्या समाधानमा अग्रसरता देखाएको छ । तर समस्या समाधान नभएसम्म ती मिडिया हाउसमा पनि आन्दोलन गर्ने महासंघको तयारी छ ।

कान्तिपुर दैनिक, अन्नपूर्णपोष्ट दैनिक, उज्यालो रेडियो नेटवर्क, माउन्टेन टेलिभिजन, हिमालय टेलिभिजन, न्युज २४ टेलिभिजन, नागरिक दैनिक, एपिवान टेलिभिजन, कान्तिपुर टेलिभिजन र नयाँ पत्रिका दैनिकका पत्रकारले महासंघमा लिखित उजुरी दर्ता गरेका छन् । महासंघले जुनसुकै श्रम समस्या भएमा महासंघमा उजुरी गर्न सबै पत्रकारलाई आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया