भाद्र ३०, २०८३ मंगलबार September 15, 2026

सुधार आउला त प्रधानमन्त्रीको कार्यशैलीमा ? – श्यामप्रसाद मैनाली

ठूला व्यापारीहरू नेपालको किचेन क्याबिनेटको भूमिकामा देखिएका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सैद्धान्तिक हिसाबले अत्यन्त विपरीत ध्रुवका दुई राजनीतिक शक्तिहरू एक आपसमा गठबन्धन गरी सरकारमा सामेल भएका छन् । नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएकै भोलिपल्ट मुलुकका प्रतिष्ठित व्यापारीहरू उद्योगपतिहरू बधाई दिनका लागि प्रधानमन्त्रीसमक्ष पुगे । उनीहरूले बधाई दिए, प्रशंसाका लागि थुप्रै शब्दहरू खर्चिए, अन्त्यमा एउटा पुलिन्दा पनि प्रधानमन्त्रीलाई बुझाए । त्यस पुलिन्दामा लोडसेडिङको समयमा उद्योगपतिहरूले लामो समयसम्म २४सै घण्टा विद्युत् उपभोग गरेबापत तिर्नुपर्ने ८ अर्ब रुपैयाँबराबरको राजस्व व्यापारीहरूबाट नलिनेगरी माफी गर्न विद्युत् प्राधिकरण, ऊर्जा मन्त्रालयलगायतलाई प्रधानमन्त्रीबाट फर्मान जारी गराउनुपर्ने थियो । ठूला प्रशंसकहरू र समयसमयमा आफ्नो र आफ्ना दलको खर्चबर्चसमेत गर्न सहयोग गर्दै आएका हुनहार उद्योगी घरानाहरूलाई सहयोग गर्न पाउनु प्रधानमन्त्रीका लागि ठूलो सौभाग्य हुने नै भयो । उनले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई शीघ्र ती उद्योगमा काटिदिएको बिजुलीको लाइन जोडिदिन निर्देशन गरे ।

उद्योगी र व्यापारीहरूलाई राम्ररी रिजाए । तर, कुलमानले यस आदेशलाई सहजै स्वीकार गरेनन् । स्मरण रहोस्, यी उद्योगका डेडिकेटेड र ट्रंकलाइन केही समयपहिलेदेखि नै काटिएका थिए । विद्युत् प्राधिकरणले बक्यौता रकम तिरेपश्चात मात्र सो लाइन जोडिदिने जनाउँदै आएको थियो । प्रधानमन्त्रीको आदेशले ८ अर्ब रुपैयाँ राजस्वमा नोक्सानी पर्ने स्पष्ट देखियो । सम्मानीय प्रधानमन्त्रीले विश्वासको मत लिँदै गर्दा संसद्मा यस’boutमा स्पष्ट पार्न चाहेनन् । उनका अनुसार उद्योगपतिहरूले प्रयोग गरेको समयको यथार्थ रकम मात्र राजस्वबापत तिर्नुपर्ने, खपतै नगरेको बिजुलीको पनि रकम तिर्नुपर्ने अवस्था आउनुहुँदैन । यसमा प्रधानमन्त्रीका अनुसार विद्युत् प्राधिकरण स्पष्ट छैन । त्यसैले, उनले दिएको निर्देशन कानुनसम्मत र विवेकपूर्ण भएको दलिल पेस गरेका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिलाई विश्वास गर्दा अब यी उद्योगीहरूको उद्योगमा लाइन सिधै जोडिदिने हो वा छानबिन गरेर कति रकम उद्योगीहरूले प्राधिकरणलाई बुझाउनुपर्ने हो ? सो निक्र्योल गरी सो रकम बुझाउन लगाउने हो ।

यी दुईवटा विषयमा प्राधिकरणले र स्वयं मुलुकका प्रधानमन्त्रीले निर्णय लिनुपर्ने अवस्था देखियो । त्यसैले, अब उद्योगीहरूको लामो समयदेखि काटिएको लाइन शीघ्र छानबिन गरी रकम यकिन गरी मात्र तिर्न लगाउने काम गर्दा व्यापारीहरूलाई पनि न्याय पर्ने र विवेकसम्मत पनि देखिने अवस्था छ । तर प्रश्न यहाँनेर पनि उठेको छ कि खपतै नगरेको बिजुलीबापत किन उद्योगीहरूलाई विद्युत् प्राधिकरणले रकम बुझाउन ताकेता गरिराखेको छ ? यो अवस्था यदि सत्य हो भने व्यापारीहरूप्रति प्राधिकरणले पूर्वाग्रह राखेको अथवा अनावश्यक दुःख दिएको स्पष्ट हुन्छ । यी दुई विषयमा अबको छानबिन केन्द्रित गरेर मात्र व्यापारीहरूलाई उद्योगमा लाइन जोडी उनीहरूको मागलाई सम्बोधन गर्दा न्याय पनि पर्ने साथै राजस्व पनि उठ्ने अवस्था बन्छ । यदि, प्रधानमन्त्रीले लाइन जोडी त्यसपश्चात मात्र छानबिन गराउने हो भने यो निर्णय विशुद्ध उद्योगीहरूको पक्षमा हुनेछ र यसबाट राजस्व रकम नोक्सान हुन सक्छ ।

यो जोखिम राष्ट्रसेवक कर्मचारीहरूले लिन मिल्ने अवस्था हुँदैन । किनकि, धेरै अपराधजन्य मामिलाहरूमा राजनीतिक नेतृत्वले सधैं अभयदान पाइरहने र उनीहरूको निर्देशन पालना गर्ने कर्मचारीहरू बलिबेदीमा चढ्दैगएको अवस्था छ । यसले आउँदा दिनहरूमा निरन्तरता दिने स्थिति देखिएकाले कुलमानले यो जोखिम नउठाई प्रधानमन्त्रीको आदेशलाई शिरोपर नगरेको अवस्था सहजै अनुमान गर्न सकिन्छ ।

व्यापारी-उद्योगीमैत्री प्रधानमन्त्री

ओली यसअघि पटकपटक प्रधानमन्त्री हुँदा सम्पादित केही प्रतिनिधि उदाहरणहरूका आधारमा उनलाई पहिचान गर्ने प्रयास गरौं । अत्यधिक व्यापारिक र उद्योगपतिमैत्री प्रधानमन्त्रीको पहिचान उनको बनेको छ । सधैं राष्ट्रलाई भन्दा व्यापारिक घरानाहरूलाई उच्च प्राथमिकतामा राख्ने उनको अभ्यस्तता रहँदैआएको छ । उदाहरणका लागि वर्तमान समयमा चर्चामा रहेको गिरिबन्धु टी–इस्टेटको घोटालालाई स्मरण गरौं । अत्यन्त महत्वपूर्ण व्यापारिक क्षेत्रमा रहेको हदबन्दीभन्दा बढी देखिएको जग्गा सरकारले आफ्नो स्वामित्वमा लिनुपर्नेमा निश्चित सर्तहरूको अधीनमा रही चिया विकासका लागि लामो समयदेखि यो टी–इस्टेट उपयोगमा दिनेगरी आएको हो । यो जग्गा जब अत्यन्त मूल्यवान् देखिँदै गयो । भूमाफियादेखि सरकारमा रहनेहरूको दृष्टि यसमा पर्दै गयो । अत्यन्त सस्तो कवाडीको मूल्यमा जाने जमिन शोधभर्ना लिई यो जमिन आफ्ना कार्यकर्ताहरूलाई प्रदान गर्ने र यसबाट अवाञ्छित फाइदा लिने काम भएको छ ।

अपराधजन्य मामिलामा राजनीतिक नेतृत्वले अभयदान पाइरहने र निर्देशन पालना गर्ने कर्मचारी बलिबेदीमा होमिइरहने अवस्था छ

यसमा सबैभन्दा ठूलो भूमिका प्रधानमन्त्रीका रूपमा ओलीले नै लिएका थिए । यस घोटालाबाट सरकारलाई ठूलो हानि नोक्सानी हुने निष्कर्षमा पुगी सम्मानित सर्वोच्च अदालतले यो सरकारको निर्णयलाई अमान्य घोषित गरिदिएको थियो । यसलाई नियमित बनाई यस घोटालालाई निरन्तरता दिन चारवटा दलका शीर्षस्थहरू लागिपरेको अवस्था देखियो । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा रहेका चारैवटा दलहरूले कानुनसम्मत हिसाबले यो गलत कार्य सम्पन्न गर्न सम्मानित संसद्समक्ष विधेयक पेस गरी नयाँ ऐन निर्माण गर्न भ्याएका छन् । यसबाट भ्रष्टाचार नियन्त्रण गर्न नारा दिएर मिसन २०८४ साललाई गन्तव्य बनाइराखेको राष्ट्रिय स्वतन्त्र पार्टीसमेत नराम्ररी चुक्नपुगेको छ । यस अर्थमा राष्ट्रिय दलका रूपमा अस्तित्वमा रहेका सबै राजनीतिक दलहरूका बीच उच्चस्तरीय समझदारी बनी राष्ट्रलाई हानि नोक्सानी पु-याउने काम भएको छ । ओली यसमा घनिष्ठ रूपले सम्बन्धित र नेतृत्वदायी भूमिकामा नै रहेका थिए । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासमेत यस प्रकरणमा जोडिनपुगेका थिए ।

आफ्ना दलका बदनाम चेहराहरूलाई संरक्षण गर्न ओली अन्य दलका नेताहरूभन्दा अग्रपंक्तिमा देखिएका थिए र छन् । ७० करोड प्रकरणमा तत्कालीन सञ्चारमन्त्रीको टेप प्रकरण बाहिर आउँदासमेत ओलीले चट्टानसरी उनै सञ्चारमन्त्रीको पक्षमा दृढ रहेर पूर्णरूपमा संरक्षण गरे । बालुवाटार जग्गा प्रकरणमा आफ्नै दलका नेताबाट उनले प्राप्त गरेको जग्गा फिर्ता गर्न लगाई चोख्याउने काम भएको छ । अपराधीले ‘अपराध गरेको हुँ’ अब म अपराध गर्दिनँ भनेकै अवस्थामा अभयदान प्रदान गर्नु हरदृष्टिकोणले उपयुक्त हुँदैन । यदि, यही नजिर सबै अपराधीमा लागू गर्ने हो भने समाजमा कुन तहको आतंक सिर्जना हुने होला ? कल्पना गरौं ।

व्यापारी र उद्योगपतिप्रतिको निष्ठा प्रधानमन्त्री ओलीमा अत्यन्त ज्यादा देखिन्छ । उदाहरणका लागि यती ग्रुपको फाइदाका लागि प्रधानमन्त्रीले उनको कार्यकालमा लिएका केही निर्णयहरूको स्मरण गरौं । यती ग्रुपको भवनमा लामो समयसम्म एमालेको मुख्यालय रहेको जगजाहेर छ । यो कार्यालय रहँदा कुनै पनि प्रकारको भाडा रकम ती व्यापारीले नलिएको चर्चा एमालेकै कार्यकर्ताका बीच भइराखेको सुनिन्छ । यसैगरी, त्यस भवनबाट अर्को भवनमा मुख्यालय सार्दासमेत व्यापारिक घरानाकै भवनमा रहेको अवस्था थियो । यसबाट स्वार्थको द्वन्द्वको अवस्था सरकारमा रहनेहरू र व्यापारी उद्योगपतिहरूका बीच हुने नै भयो । यती ग्रुपबाट एमालेले चन्दा संकलन गरिराखेको आलोचना पनि हुँदैआएको छ । नेपालको एउटा हिमचुचुरा यती ग्रुपसँग सम्बन्धित दिवंगत व्यक्तिका नाममा दिइनु र राष्ट्रको ध्वजावाहक विमानलाई इन्कार गरी यती ग्रुपको हिमालय एयरबाट प्रधानमन्त्री हुँदा ओलीले छिमेकी तथा मित्रराष्ट्र चीनको औपचारिक भ्रमण गरेको सन्दर्भ अत्यन्त ज्यादा आलोचित छ । यसलाई व्यापारिक घरानाहरूलाई गरिएको कृपाको र प्रधानमन्त्री पदको अत्यन्त ठूलो दुरुपयोगका रूपमा सचेत वर्गले लिइराखेका छन् ।

ओली नै प्रधानमन्त्री रहँदा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्ने क्रममा थुप्रै रकमको दुरुपयोग र अपचलन भई अत्यन्त न्यून मात्रामा यसबाट प्रतिफल प्राप्त भएका समाचारबाट सुसूचित भएको अवस्था छ । भारतबाट विषादीयुक्त तरकारी क्वारेन्टाइन चेक नगरी सिधै नेपालमा आयात गर्न छुट दिने काम ओलीकै पालामा भएको हो । ओम्नी घोटाला प्रकरणमा भएका गलत क्रियाकलापहरूको उदाहरण दिनु पनि यस सन्दर्भमा उपयुक्त नै हुनेछ । कानुनविपरीत ओमनी ग्रुपलाई ठूलो फाइदा दिलाउने काम भएको हो । यसमा अनियमितता भएको भन्दै अडान लिने स्वास्थ्य मन्त्रालयका लेखा नियन्त्रकलाई दण्डस्वरूप सरुवा गर्ने कडा निर्देशन ओली र उनकै मन्त्रिपरिषद्का उपप्रधानमन्त्री तथा एमालेका प्रभावशाली नेताबाट भएको चर्चा कर्मचारी वृत्तमा र स्वास्थ्य मन्त्रालयमा सुन्न पाइन्छ ।

गोकर्ण रिसोर्टको जग्गा लिज समाप्त हुन केही वर्ष बाँकी हुँदै लामो अवधिका लागि कौडीको मूल्यमा थप लिजमा दिनु अर्को घोटालाजन्य क्रियाकलापको उदाहरण हो । तत्कालीन राजा स्व वीरेन्द्रको ट्रस्टमा रहेको दरबारमार्गको बहुमूल्य जग्गासमेत यती ग्रुपलाई नै सुम्पने काम उनबाट भएको छ । यसले ओलीको हालसम्मको शासकीय शैलीलाई स्पष्ट हुन मद्दत गरेको छ । यसैअनुरूप अबको कार्यावधिसमेत निर्देशित हुने आधारहरू देखिनथालेका छन् । उद्योगीहरूको काटिएको लाइन शीघ्र जोडिदिने निर्देशनलाई यसको मूल आधारका रूपमा लिन सकिन्छ ।

विकसित मुलुकमा निजी क्षेत्र र सरकारको सम्बन्ध
निजी क्षेत्रसँग सुसम्बन्ध स्थापित गर्दै राष्ट्रिय महŒवका विषयहरूमा साझा सहमति र गन्तव्यमा पुग्नसक्ने स्थिति विकसित मुलुकहरूले निर्माण गरिराखेका छन् । अर्थतन्त्रलाई बलियो बनाउन र यसैमार्फत आर्थिक समुन्नतिको दिशामा अघि बढ्न निजी क्षेत्रका उद्यमीहरूलाई सहयोग, प्रोत्साहन र सहजीकरण गर्ने चलन विश्वभर छ । राज्यबाट सहुलियत पाउने र नपाउने अवस्थामा प्रतिस्पर्धात्मक क्षमता प्रभावित हुने अवस्थाको सिर्जना विकसित मुलुकहरूमा भइराखेको छ । हालसम्मका सूचकहरूले यही अवस्थालाई प्रमाणित गरेको छ । निजी क्षेत्रसँग सहकार्य गर्दै अघि नबढ्ने नीति अवलम्बन गरिआएका समुन्नत राष्ट्रहरू क्रमशः असहज अवस्थाको सामना गरिराखेका छन् । चिनियाँ सामानहरूलाई आयात गर्दा अत्यधिक कर लगाउने र चीनमा निर्मित विद्युतीय सामग्रीहरूमा आयातलाई निरुत्साहित गर्ने नीतिहरू अवलम्बन गरेपश्चात् युरोपका मुलुकहरू र संयुक्त राज्य अमेरिकालाई असहज अवस्थाको सामना गर्नुपरिरहेको छ ।

नेपालका सरकारमा रहनेहरू अपवादबाहेक सबै व्यापारी, उद्योगपति दलालहरूको निर्देशनमा परिचालित र माफियाबाट परिवेष्ठित छन्

अन्य मुलुकहरूमा समेत यही स्थिति विद्यमान रहेको छ । यसको अर्थ हुन्छ सरकार वा सार्वजनिक क्षेत्र र निजी क्षेत्रका बीच सहकार्य अत्यावश्यक हो र यस्तो सहकार्य सहजीकरण र सहुलियत सरकारले नीतिमार्फत निजी क्षेत्रलाई प्रदान गरी प्रोत्साहन गर्नुपर्छ । यसमा सबैबीच मतैक्यता रहेको छ । तर, यस्ता समुन्नत मुलुकहरूमा पनि व्यापारीहरूबाट प्रभावित भई नीति निर्माण हुने काम हुँदोरहेछ । ट्रम्पको पहिलो राष्ट्रपति निर्वाचनको समयमा उनले न्युयोर्कबाट प्रकाशित भएको एक अन्तर्वार्तामा राष्ट्रपतिका दुवै उम्मेदवारहरूलाई राम्ररी आर्थिक सहयोग गरेको र उनीहरूमध्ये एउटा राष्ट्रपति हुने सुनिश्चितता अमेरिकामा हुने भएकाले उनले गरेको लगानी खेर नजाने राष्ट्रपतिको निर्वाचनपश्चात नीति निर्माणमार्फत आफ्नो लगानीको ठूलो अंश फिर्ता गर्नसक्ने र यस सहयोगलाई लगानीका रूपमा स्पष्ट पारेका थिए । आगामी निर्वाचनमा उनै ट्रम्प राष्ट्रपतिका बलिया उम्मेदवार देखिएका छन् ।

नेपालको सन्दर्भ

नेपालको अवस्था पृथक छ । नेपालका सरकारमा रहनेहरू र कानुन निर्माताहरू विशेषगरी व्यापारिक घरानाहरूबाट परिवेष्ठित छन् । नीति निर्माण योजना तर्जुमा र कानुन निर्माण सबै पक्षहरू व्यापारिक घरानाहरूबाट प्रभावित हुनेगरेको छ । यिनै व्यापारी, कालोबजारी, माफियाहरूसँग मित्रवत सम्बन्ध कायम गर्दै व्यक्तिगत फाइदा लिने, दिने र सरकारलाई राज्यलाई हानि नोक्सानीमा पु¥याउने काम राज्यबाट हुँदैआएको छ । व्यापारीहरूले विशेषगरी प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग तथा व्यापारमन्त्री आदिलाई प्रभाव पारी आफ्नो पकडमा राख्नेगरेका छन् । एजेन्टहरू सेटिङ गरेर गलत धन्दा चलाउन माफियाहरू र सरकारमा रहनेहरू अभ्यस्त बनिराखेका छन् । ठूला व्यापारीहरू नेपालको किचेन क्याबिनेटको भूमिकामा देखिएका छन् ।

यस सन्दर्भमा मुलुकका प्रधानमन्त्रीलगायत मन्त्रीहरूले दिएका अभिव्यक्तिहरू एकपटक अध्ययन गरौं । निवर्तमान प्रधानमन्त्री प्रचण्डले पाँचौंपटक विश्वासको मत लिइरहँदा आफ्नो सरकार गिराउन नेपालका ठूला व्यापारिक घरनाहरू लागिपरेको अभिव्यक्ति दिएका छन् । सरकारमा बस्नेहरूले आर्जन गरेको अवैध सम्पत्ति व्यवस्थापन गरिदिने जिम्मा यिनै ठूला घरानाका व्यापारीहरूको छ । यस मुलुकका मन्त्री पटकपटक फेरिँदै आएका छन् । अब त मुलुकका प्रधानमन्त्री नै परिवर्तन गर्ने हैसियतमा पुगेका छन् । यो अभिव्यक्ति पूर्वअर्थमन्त्री र पूर्वपर्यटनमन्त्रीबाट आएको हो ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रक्रियामा ओलीको चासोको सम्बोधन गर्न प्रचण्डले आनाकानी गर्दा सरकार गिर्ने परिस्थिति निर्माण भएको अभिव्यक्ति एक शक्तिशाली मन्त्रीले दिएका हुन् । यसैगरी, सरकार परिवर्तन गर्नेक्रममा मध्यरातमा भएको सातबुँदे सहमति एक पत्रकारको आवरणमा रहेका व्यापारीको निवासमा भएको, यी व्यापारी स्टक एक्सचेन्जको लाइसेन्स हात पार्न लागिपरेका हुन् । यस अर्थमा नेपालका सरकारमा रहनेहरू अपवादबाहेक सबै व्यापारी, उद्योगपति दलालहरूको निर्देशनमा परिचालित छन्, माफियाबाट परिवेष्ठित छन् । यो सबैभन्दा ठूलो दुर्भाग्य हो ।

निष्कर्ष

यस्तो परिस्थिति पुँजीवादी व्यवस्थामा मात्र हुन्छ भन्ने आलोचना विश्वका असली साम्यवादीहरू गर्छन् । नेपालमा साम्यवादी ब्रान्डमा सरकारमा पुग्नेहरू त्यसैमा व्यस्त छन् । यिनीहरूको साम्यवादप्रतिको निष्ठालाई कसरी लिने ? समुन्नत मुलुकहरूमा व्यापारीहरूसँग सरकारको हातेमालो सहकार्य सहजीकरण समन्वय र मैत्रीपूर्ण सम्बन्ध रहेको हुन्छ । तर, यस प्रकारको सुसम्बन्धबाट राष्ट्र लाभान्वित हुन पुग्छ । नेपालमा यसको विपरीत सरकारमा रहनेहरू व्यक्ति विशेष लाभान्वित भएका छन् ।

सरकारमा रहनेहरू माफियाबाट परिवेष्ठित हुँदा आफूलाई सफल र गौरवान्वित सम्झन्छन् । नेपालमा दलाली, बिचौलिया, माफिया पेसा अत्यन्त लाभदायक बन्दैगएको छ । त्यसैले, यो नै राम्रो प्रतिफल दिने उद्योगका रूपमा देखिएपछि अन्य उद्योग व्यवसाय सञ्चालन गरेर व्यापार व्यवसाय गरेर लामो अवधिमा थोरै आर्जन गर्ने पेसामा को लाग्ने, किन लाग्ने ? अल्पअवधिमा ठूलो रकम आर्जन गरी नवधनाढ्य बन्ने प्रतिस्पर्धा बढ्दैजाँदा समग्र समाज नै प्रदूषित भएको छ । यस स्थितिमा नेपालका उद्योगीहरूले सरकारी विद्युत् उपयोग गरेर भएको उत्पादनबाट आफूखुसी मूल्य निर्धारण गरी कुस्त आर्जन गरिसकेपश्चात् विद्युत्को महसुल तिर्दिनँ भन्नु कुनै आश्चर्यलाग्दो विषय भएन ।

यसमा प्रधानमन्त्रीले उद्योगपतिहरूलाई संरक्षण गर्दै राष्ट्रलाई हानि नोक्सानी पु¥याउनेगरी कदम चाले भने आश्चर्य मान्नुपर्ने अवस्था छैन । त्यसैले, अब कुलमानले कि यो काटेको लाइन जोडिदिनुपर्छ अन्यथा पदबाट बिमुख हुने अवस्था आउन सक्छ । यसपश्चात् यो ८ अर्ब रुपैयाँको हानि नोक्सानी पु¥याउने काम हुनेछ । यसको जिम्मेवारी निर्णयकर्ताहरू सबैले लिनुपर्नेछ । तर, नेपालको हालसम्मको स्थितिलाई अध्ययन गर्दा यदि यो विषय नियन्त्रक निकायको अनुसन्धानभित्र पुगेको अवस्थामा राष्ट्रसेवक कर्मचारीहरू मात्र दण्डित हुनेमा सन्देह नगर्दा हुन्छ । राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एआईको बढ्दो जोखिमले अमेरिकी सेयर बजारमा तरङ्ग
२०८३ भाद्र ३०, मंगलबार
भोटेकोशी बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक अझै बेपत्ता
२०८३ भाद्र ३०, मंगलबार
कांग्रेसले जारी गर्यो १५ औं महाधिवेशन निर्वाचन निर्देशिका (पूर्णपाठ)
२०८३ भाद्र ३०, मंगलबार
महँगी र कालाबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
२०८३ भाद्र ३०, मंगलबार
खर्क तथा चरन क्षेत्रलाई रोजगारी सिर्जनासँग जोड्नुपर्छ : अध्यक्ष दाहाल
२०८३ भाद्र ३०, मंगलबार
आईतवारको बिदा कटौती गर्न सांसद ताहिर अली भाटको माग
२०८३ भाद्र ३०, मंगलबार
प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न आग्रह
२०८३ भाद्र ३०, मंगलबार