काठमाण्डाैंः बन्दाबन्दी (लकडाउन) खुकुलो हुँदा जोखिम बढेको भन्दै सुर्खेतमा आजदेखि पुनः कडाइ गरिने भएको छ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले बन्दाबन्दीलाई पुनः कडाइ गर्ने निर्णय गरेको हो । बन्दाबन्दी खुकुलो भएयता प्रदेश राजधानी वीरेन्द्रनगरमा चहलपहल निकै बढेको थियो ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले शुक्रबारदेखि पसलहरू खुला गर्ने समय तथा सवारीसाधन सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । बैठकले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र पसल व्यवसाय खोल्न पाइने, अटो रिक्सालगायतका तीन पाङ्गे्र सवारी साधनमा रोक लगाइने, जोरबिजोर प्रणालीअनुसार मात्रै सवारीसाधन सञ्चालन गर्न पाइनेलगायतका निर्णयहरु गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि सरकारले बन्दाबन्दी गरेको थियो । लामो समय बन्दाबन्दी हुँदा जनजीवन प्रभावित भएको, सर्वसाधारणमा असन्तुष्टि बढेको र उल्लङ्घन हुन थालेको भन्दै सरकारले यही असार १ गतेबाट लकडाउनलाई खुकुलो बनाएको थियो । जिल्लाको हकमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले अवस्था हेरी लकडाउनलाई कडाइ वा खुकुलो गर्नसक्ने भनिएका कारण सुर्खेत प्रशासनले जोखिमलाई मध्यनजर गरी कडाइ गर्ने नीति लिएको हो ।
सुर्खेतमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या ३५४ पुगेको छ । त्यस्तै, ट्राभल हिस्ट्री नभएका समुदायस्तरका २४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । प्रदेशको सङ्क्रमण धेरै हुने जिल्लामा सुर्खेत दोस्रोमा पर्दछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया