असार २०, २०८२ शुक्रबार July 4, 2025

नेकपा विवाद मिलाउन महासचिवको दौडधुप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुबीच आन्तरिक विवाद बढ्दै गएपछि त्यसलाई मत्थर बनाउन पार्टी महासचिव विष्णु पौडेलले सबै नेतासँग एक्लाएक्लै भेटघाट गरिरहेका छन्। पार्टी एकता जोगाउनुपर्छ भन्दै उनले एक साताबीच सचिवालयका शीर्ष नेताहरुसँग भेटघाट गरेर विवाद मत्थर पार्ने कोसिस गरिरहेका छन्।

‘महासचिव पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि दुई अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठसम्मलाई एक्लाएक्लै भेटघाट गर्नुभएको छ। यो एक साता उहाँले सबै नेतालाई भेट्नुभएको हो’, महासचिव निकट स्रोतले भन्यो।

महासचिव पौडेलले पार्टीमा कुनै पनि प्रकारको दुर्घटना निम्त्याउनु हुँदैन। दुर्घटना भए अब कुनै पनि नाममा कम्युनिस्ट पार्टीले जनमत जोगाउन सक्दैन भन्ने उनको भनाइ रहेको र त्यही कुरा सबै नेताहरुलाई भनेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार उनले बुधबारदेखि लगातार नेताहरुसँग भेटघाट गरिरहेका छन्। वरिष्ठ नेता माधवकुमार नेपालसँग सोमप्रसाद पाण्डेको घरमा चार घण्टा भेटघाट गरेका थिए। पाण्डे नाताले नेता नेपालका सम्धी हुन्। त्यसैगरी निवासमै पुगेर पौडेलले नेता झलनाथ खनालसँग दुईपटक भेटघाट गरेका थिए भने दाहाल चितवनबाट फर्केपछि पनि भेटघाट गरेका थिए। महासचिव पौडेलले गौतम र नारायणकाजी श्रेष्ठसँग पनि बेग्लाबेग्लै छलफल गरी विवाद सुल्झाएर जान आग्रह गरेका थिए। ‘सबै शीर्ष नेतासँग भेटघाट भइरहन्छ। पार्टी एकताको विषय र बैठकका विषयमा कुराकानी गर्नुपर्ने भएकाले भेटघाट भएको हो। यसमा अन्य खास कुरा केही छैन’, महासचिव पौडेलले भने।

महासचिव निकट स्रोतका अनुसार उनी अहिले पार्टी एकता बलियो बनाउने विषयमा नेताहरुबीच संवाद आवश्यक रहेको भन्दै प्रधानमन्त्री ओली र अन्य नेताबीचमा कसरी एक्लाएक्लै संवाद गराउन सकिन्छ भनेर समेत लागिपरेका छन्। शीर्ष नेताहरुबीच संवाद शून्य छ, जसले गर्दा वरिष्ठ नेताहरु र प्रधानमन्त्रीबीच दूरी बढिरहेको छ।

दुई अध्यक्षबीच मंगलबार भएको छलफल पनि बिनानिष्कर्ष टुंगिएका बेला अन्य शीर्ष नेतावीच महासचिव पौडेलले समन्वयकारी भूमिका निर्वाह गरिरहेका छन्। ‘सबै नेताहरुले उठाएको विषयलाई संस्थागत ढंगले सम्बोधन कसरी गर्न सक्न्छि भन्नेबारेमै उहाँहरुबीच छलफल भएको बुझिएको छ’, महासचिव निकट राष्ट्रियसभाका एक सांसदले भने। उनका अनुसार महासचिवले बालुवाटारका तर्फबाट कुनै पनि प्रस्ताव लिएर भेटघाट नगरेको तर समस्यालाई बल्झाउन भन्दा पनि सुल्झाउने उपायको खोजीमा लाग्न शीर्ष नेताहरुलाई आग्रह गरेका हुन्। शनिबार भएको भेटमा पौडेलले नेता नेपालसँग धेरै विकल्पबारे छलफल गरेका थिए।

‘पार्टीभित्र नेपाल समूहलाई अन्याय परेको विषयमा सहमति जनाउँदै पौडेलले त्यसको समधानका लागि दर्जन विकल्प अघि सारेको तर नेपालले यो विषय ओली आफैंले सुल्झाउनुपर्ने भएकाले भेटघाट निरर्थक हुने बताएर पठाएको’ स्रोतले जनाएको छ। यसबाट अध्यक्ष ओली आफैं अग्रसर भएमात्रै पार्टीलाई एकताबद्ध बनाउने निष्कर्ष निकालिएको छ। पछिल्लो समय वरिष्ठ नेता झलनाथ खनाल निकै आक्रोशित भएको र यसलाई कम गर्न ओली–खनालबीच भेटघाटे आवश्यक रहेको एक नेताले बताए। ‘अध्यक्षद्वयबीच भएका हरेक छलफलमा पौडेलले पार्टी एकताको विषयलाई महत्व दिइरहेको बताउँदै आएका छन्। ‘मंगलबार पनि दुई अध्यक्षबीच छलफल भएको छ। उहाँहरुले विवाद समाधानको उपाय निकाल्नुहुनेछ भन्ने सबै नेता कार्यकर्ताको अपेक्षा छ’, महासचिव पौडेलले भने।  

गत असार १० गते स्थायी कमिटी बैठकको पहिलो दिनमै प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्ने क्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग बैठकमै भनाभन भएपछि विवाद गम्भीर बनेको थियो। अध्यक्षद्वय  ओली र  दाहालले एकअर्कालाई कडा आरोप लगाए भने वरिष्ठ नेता नेपालले आपूmलाई अपमान गर्दै कुर्सी पछाडि राखेको भन्दै अरुलाई रैती, आफूलाई राजा सोच्ने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरेपछि बैठकमा सन्नाटा छाएको थियो।

त्यसलगत्तै पौडेल सक्रिय बनेका हुन्। त्यति बेला पनि उनले ओली, दाहाल, नेपालसहितका नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। ‘नेताहरुसँग भेटघाट गरि नै रहेको छु। यसले विवादलाई मत्थर पार्नेभन्दा पनि नेताहरुबीच खुलेर छलफल होस् भन्ने आम कार्यकर्ताको भावना छ’, महासचिव पौडेलले भने। नेकपा उच्च स्रोतका अनुसार महासचिव पौडेलले प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाललाई मनाउने प्रयास गरिरहेका छन्। उनले सांगठनिक जिम्मेवारी बाँडफाँट गरेर अगाडि बढ्न सुझाव दिइरहेका छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेर पार्टीभित्रको विवाद सुल्झाउन प्रयास गर्न आग्रह गरेका छन्।  यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार