असार २२, २०८२ आइतबार July 6, 2025

दाईजो स्वरूप गाउँ नै दिने प्रथा अझै कायमै

मरिक समुदायका व्यक्तिले छोरीको बिहे गर्दा ज्याइँ गाउँमा नै बसोबासका लागि राजी भएमा एउटा गाउँ नै दाईजो स्वरुप दिने चलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इनरुवा (सुनसरी), १९ कात्तिकः तराई मधेस क्षेत्रमा दाईजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् । मधेस क्षेत्रमा बसोबास गर्ने मधेसी समुदायका व्यक्तिले छोरी/चेलीको विवाह गर्दा दाईजोमा गच्छेअनुसार पैसा तथा गहना र पहाडी समुदायका व्यक्तिले पनि शक्तिअनुसार फर्निचर, गरगहना तथा अन्य सामग्री दिनु सामान्य नै हो । हुन त हिन्दू नेपाली समाजमा देशभरि नै यस्तो प्रचलन छ ।

आज हामी तपाईँहरूले योभन्दा फरक प्रचलन सुनाउँदै छौँ, जो सुन्दा धेरैलाई आश्चर्य लाग्नसक्छ । यस्तो आश्चर्य लाग्ने प्रथा हो यहाँका मरिक समुदायको, जहाँ आजपर्यन्त छोरी/चेलीको विवाह गर्दा दाईजोमा गाउँनै दिने गरिएको छ ।

सुनसरीका विभिन्न क्षेत्रमा बसोबास गर्ने मरिक समुदायका व्यक्तिले अहिले पनि छोरीको बिहेमा गच्छेअनुसार गाउँ नै दाईजोको रूपमा दिने प्रचलन रहेको सुनसरी हरिनगर–२ का अगुवा भट्टाई मरिकले जानकारी दिनुभयो । शनिबार मरिक समुदायले छठका लागि बाँसका सामग्री बनाइरहेका बारे रिपोर्टिङ्ग गर्न गएका हामीलाई उहाँले त्यो कुरा सुनाउँदा हामीलाई पनि त्यस्तै आश्चर्य लागेको थियो ।

मरिक समुदायका व्यक्तिले छोरीको बिहे गर्दा ज्याइँ गाउँमा नै बसोबासका लागि राजी भएमा एउटा गाउँ नै दाईजो स्वरुप दिने गरेको भट्टाईले सुनाउनुभयो । उहाँको कुरा सुनेपछि हामीले हरिनगर–३ का चन्दन मरिकलाई यसबारे जिज्ञासा राख्यौँ । जवाफमा उहाँले भन्नुभयो,“हो नि हजुर ज्वाइँ राजी भएमा गाउँ नै दाइजोमा दिने चलन छ । यसको उद्देश्य भनेको छोरीचेली र भोलि जन्मिने सन्ततीलाई सहज होस् भन्ने हो ।”

मरिक समुदायको मुख्य पेसा सरसफाइ गर्ने, बिहेबारीमा आफ्नो गाउँका यजमानलाई बाँसको सामग्री पु¥याउने, चाडबाडका बेलामा बाँसका सामग्री बनाएर बिक्रीवितरण गर्नु हो । चाडपर्व, व्रतबन्धलगायत अवसरमा बाँसको सामग्री प्रयोग अनिर्वाय भएकाले एक जनाको गाउँमा अर्को मरिक समुदायका व्यक्तिले बिक्रिवितरण गर्न नपाइने आन्तरिक सहमति हुने गरेको छ ।

विशेष गरेर ग्रामीण भेगमा बसोबास गर्ने नागरिकले तोकिएका व्यक्तिबाटै विभिन्न सामग्री लिने गरिन्छ । यजमानले लिएको सामग्रीवापत मरिक समुदायका व्यक्तिले चामल, धान, गहुँ, नगद र बाँस लिने गरेका छन् ।

विभिन्न किसिमका सामग्री बिक्रीका लागि बजारमा जानुपर्ने वा गाउँघरमै पसल गरेर बिक्री गर्नुपर्ने बाध्यता भए पनि मरिक समुदायका व्यक्तिले आफूले बनाएको सामग्री बिक्री गर्नका लागि गाउँ नै बाँडफाँट गरेको हुन्छ । कुन गाउँ वा टोलमा कुन परिवारले कारोबारको जिम्मा लिने भनेर आपसी समझदारी हुन्छ । एकले अर्काको गाउँमा सामग्री बिक्री गरेमा समाजले जरिवानासमेत गर्ने गरिएको छ ।

आफ्नो क्षेत्र बेच्न चाहनेले कारोबार अनुसारको रकम लिई बेच्नसमेत सक्ने चलन रहेको छ ।

एक गाउँ बेच्दा रु तीन लाखदेखि चार लाख वा सामाजिक मूल्याङकनअनुसार रकम लिने दिने गरिन्छ । सोही गाउँ मरिक समुदायका व्यक्तिले छोरी–ज्वाइँलाई गाउँमै बस्ने सर्तमा दाइजो स्वरुप दिने गरिउको हरिनगर–२ का वीरेन्द्र मरिकले बताउनुभयो । दाईजोमा दिएको गाउँमा उनीहरूले कारोबार गर्ने अनुमतिसमेत पाउने र मरिक समाजले त्यसलाई स्वीकार गर्ने चलन रहेको उहाँले सुनाउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा कुर्सी जडान सुरु
२०८२ असार २२, आइतबार
गाउँगाउँमा ताजिया खेलेर मोहर्रम मनाइँदै
२०८२ असार २२, आइतबार
धरती र जीवन दुवैमा शान्ति छाओस्: प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे
२०८२ असार २२, आइतबार