असार २४, २०८२ मंगलबार July 8, 2025

सामान्य लेखपढ भएकी महिलामाथि ११ करोड बढी रकम अपचलनको आरोप

दुईजना प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लमजुङ । लमजुङमा पनि सहकारी संस्थाको ठगी धन्दा एकपछि अर्को खुल्दै आइरहेको छ । एउटा सहकारीको ठगी काण्डमा संलग्न सञ्चालकहरूविरुद्ध जिल्ला अदालतमा बयान चलिरहेका बेलामा अर्को त्यस्तै एक सहकारीको ११ करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको सार्वजनिक भएको छ ।

जिल्लाकै पहिलो कालिका बचत सहकारी र अन्य हाइफाई गर्ने दुई कर्पुरेश्वर र सम्पदा नामक सहकारी गण्डकी प्रदेशकै नमुना बनाउने भन्दै एकीकरण गरी कालिका बनेको सहकारीका सञ्चालकहरूले गरेको ठगीविरुद्ध यतिबेला जिल्ला अदालतमा बयान चलिरहेको छ । यही मौकामा जिल्लामा राम्रोको श्रेणीमा गणना भइरहेको जनकल्याण साकोसको मस्र्याङदी गाउँपालिका–८ स्थित ङादी सेवा केन्द्रबाट ११ करोड बढी रकम अपचलन भएको खुलासा भएको हो ।

जनकल्याण साकोसको लमजुङको जिल्ला सदरमुकाम बेंसीसहरमा मुख्य कार्यालय छ । जिल्लाका विभिन्न स्थानीय तहमा सेवा प्रवाह गरिरहेको सो सहकारीको ङादी सेवा केन्द्रबाट ११ करोड २२ लाख ८१ हजार ९ सय ४४ रुपैयाँ ९४ पैसा रकम किर्ते कागजात तयार गरी हिनामिना गरिएको सार्वजनिक भएको छ । सो सहकारीको सदस्य नरहेकी मस्र्याङ्दी गाउँ कार्यपालिका सदस्यसमेत रहेकी मधुमाया बगालेलाई किर्ते कागज गरी ठगेको आरोपमा प्रहरीले पक्राउ गरेसँगै त्यस्तो खुलासा भएको हो । प्रहरीले बगालेसहित जनकल्याण साकोसको ङादी सेवा केन्द्रका प्रमुख वीरेन्द्र गुरुङलाई समेत पक्राउ गरेको जनाएको छ ।

बगालेविरुद्ध सेवा केन्द्र प्रमुख गुरुङसँग मिलेर किर्ते कागजबाट कृत्रिम ऋणीहरू खडा गरी सहकारीको ११ करोड २२ लाख ८१ हजार ८ सय ४४ रुपैयाँ ९४ पैसा हिनामिना गरेको अभियोग छ । सो प्रकरणमा उनीहरूले भुलभुलेस्थित हिमालयन बैंकमा रहेको सहकारीको खाताबाट किर्ते हस्ताक्षर गरी त्यतिका रकम निकालेको देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए । बगालेले त्यस्तो कार्य २०७२ सालदेखि नै सुरु गरेको बुझिन आएको छ ।

घर र माइती एउटै वडामा भएकी, सामान्य लेखापढी भएकी बगालेको कुनै पेसा व्यवसाय छैन । तर, उनको हाइफाई भने महिनामै लाखौं कमाउने खालको थियो । उनको व्यवहार देखेर चिन्नेजान्ने व्यक्ति पनि अचम्ममा परेका थिए ।

२०७२ सालदेखि सुरु भएको यस धन्दामा उनी र कर्मचारीको मात्र संलग्नता छ भन्नेमा विश्वस्त हुने आधार भने देखिँदैन । यस काण्डमा अन्य ४ देखि ६ जना व्यक्तिको समेत संलग्नता रहेको आशंका गरिएको छ । तर, ती व्यक्ति को हुन् ? र के कस्ता हैसियतका हुन् ? भन्ने उनीहरूको बयानका क्रममा खुल्दै जाने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको भनाइ छ ।

११ करोड रुपैयाँ बढी रकम अपचलन भएको सो सहकारीमा करिब ३ करोड रकममा मात्र बगालेको प्रत्यक्ष संंलग्नता रहेको देखिन आएको प्रहरी स्रोतको भनाइ छ । अन्य रकममा क–कसको हात रहेको हो ? आगामी दिनमा अनुसन्धानबाट थप पुष्टि हुँदै जाने प्रहरीले जनाएको छ ।

यसरी रकम हिनामिना गरेको जानकारी पाएपछि सहकारी संस्थाका सञ्चालकहरू आफैंले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । सहकारी कार्यालयले यस सम्बन्धमा आवश्यक छानबिन गरिदिन सहकारी रजिस्ट्रारको कार्यालय पोखरालाई पत्राचारका साथ अनुरोध गरेको थियो । सहकारी रजिस्ट्रारको कार्यालयले छानबिनका लागि वित्तीय विश्लेषक निर्मल गौतमसहितको टोली खटाएको थियो । वित्तीय विश्लेषकको टोलीले सो सहकारीको ङादी सेवा केन्द्रको वित्तीय छानबिन गरी प्रतिवेदन तयार गरी राजिस्ट्रार कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई बुझाएपछि प्रहरीले बगाले र सेवा केन्द्र प्रमुख गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए ।

उनका अनुसार छानबिन प्रतिवेदनमा आरोपी बगाले र सेवा केन्द्र प्रमुख गुरुङले सहकारीको ११ करोड बढी रकम हिनामिना गरेको उल्लेख छ । प्रहरी नायब उपरीक्षक श्रीवास्तवले भने, ‘छानबिन प्रतिवेदनमा उनीहरूले सम्बन्ध कसुर गरेको र नगदसमेत अपचलन गरेकाले उनीहरूउपर सम्पत्ति शुद्धीकरण ऐन, २०६४ (संशोधनसमेत)को कसुर गरेको पाइएकाले सम्पत्ति शुद्धीकरणतर्फ समेत अनुसन्धान गरी पीडित सहकारीका नाममा रकम भराउनुपर्ने राय दिइएको छ ।’

जिल्ला प्रहरी कार्यालय लमजुङको टोलीले एक दिनअघि र पछि गरी पक्राउ परेका बगाले र गुरुङमध्ये बगालेलाई ६ दिन र गुरुङलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत लमजुङले प्रहरीलाई अनुमति दिएको प्रहरी नायब उपरीक्षक श्रीवास्तवले जानकारी दिए ।

मस्र्याङ्दी गाउँपालिका–९ मा एमालेका तर्फबाट वडा सदस्यमा निर्वाचित बगाले सो गाउँपालिकाको कार्यपालिका सदस्य हुनुका साथै एमालेको सो वडाकी अध्यक्षसमेत हुन् ।

यसबारेमा बुझ्नका लागि जनकल्याण साकोसको केन्द्रका सञ्चालक समितिका अध्यक्ष ताराराज घलेसँग सम्पर्क गर्न प्रयास गर्दा उनीसँग सम्पर्क हुन सकेन भने प्रबन्धक झमप्रसाद गुरुङको फोन उठेन ।

लमजुङ जिल्लामा समस्या सिर्जना भएका सहकारीहरूमा एकल पार्टीगत बर्चस्व रहेका सहकारीहरूमा त्यस्तो भएको खुल्न आएको छ । हाल जिल्ला अदालतमा सहकारी ठगीमा सञ्चालकहरूका विरुद्ध बयान चलिरहेको कालिका सहकारीमा एमालेको बाहुल्यता रहेको छ । अर्को कांग्रेसको बाहुल्यता रहेको बेंसीसहरमै मुख्य कार्यालय रहेको सुनौलो भविष्य साकोसमा पनि रकम अपचलन भएको ’boutमा गण्डकी प्रदेशको सहकारी राजिस्ट्रार कार्यालयले अनुन्धान गरेर फर्किएको छ । सो अनुसन्धानको प्रतिवेदन सार्वजनिक हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सो सहकारी संस्था हाल बन्दजस्तै अवस्थामा छ । त्यस सहकारीमा पनि करिब १० करोड रकम अपचलन भएको बुझिन आएको छ । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार