असार २४, २०८२ मंगलबार July 8, 2025

त्रिविको डिन नियुक्तिमा कार्यकारीबीच नै मतभेद

उपकुलपतिले अध्यक्षता गर्ने सात सदस्यीय परिषद्मा मेरिटका आधारमा नियुक्ति दिने कि तीनमध्ये एक जना छनोट गर्ने विषयमा विवाद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्का सदस्यबीच मतभेद हुँदा आठ अध्ययन संस्थान तथा संकायका डिन र १८ क्याम्पसमा प्रमुख नियुक्ति हुन सकेको छैन ।

खुला प्रतिस्पर्धाका आधारमा डिन नियुक्ति गर्ने भन्दै छनोट तथा सिफारिस समितिले ३–३ जनाको नाम सिफारिस गरे पनि कार्यकारी परिषद्ले नियुक्तिसम्बन्धी निर्णय लिन नसकेको हो ।

उपकुलपतिले अध्यक्षता गर्ने सात सदस्यीय परिषद्मा मेरिटका आधारमा नियुक्ति दिने कि तीनमध्ये एक जना छनोट गर्ने विषयमा विवाद देखिएको छ । पटकपटक परिषद्को बैठक डाके पनि सदस्यहरूबीच मतभेद कायमै रहँदा निर्णय हुन सकेको छैन ।

उपकुलपति केशरजंग बराल मेरिटका आधारमा पहिलो नम्बरमा सिफारिस भएकालाई नियुक्ति गर्नुपर्ने पक्षमा छन् भने अन्य सदस्यले ३ मध्ये एक जना छनोट गर्न सकिने मत राख्दै आएका छन् । उपकुलपति छनोट तथा नियुक्तिसम्बन्धी कार्यविधिमा पनि ३ मध्ये एक छनोट गर्न सकिने व्यवस्था रहेको उनीहरूको भनाइ छ ।

रेक्टर खड्ग केसी, रजिस्ट्रार केदार रिजाल, व्यवस्थापनका डिन डिल्लीराज शर्मा, प्राध्यापक प्रेमसागर चापागाईं र महानन्द चालिसे परिषद्को सदस्य छन् । एक सदस्य रिक्त छ । शर्मा र चापागाईंलाई पूर्वउपकुलपति धर्मकान्त बाँस्कोटाले नियुक्ति गरेका थिए । उनीहरूसहित रेक्टर केसीले ३ जनामध्ये उपयुक्त व्यक्तिलाई नियुक्ति दिनुपर्ने अडान राख्दै आएका छन् ।

चालिसे व्यवस्थापन संकायको डिनका लागि सिफारिस भएकाले यस विषयमा निष्क्रिय जस्तो बसेको र रजिस्ट्रार रिजाल उपकुलपति बराल र रेक्टर केसी पक्षबीच सहमति कायम गर्ने प्रयासमा रहेको त्रिविका एक उपप्रशासकले जनाए ।

‘मेरिटका आधारमा एक नम्बरमा सिफारिस भएकालाई मात्र नियुक्ति दिँदा एमाले कोटाबाट डिनमा नील हुने भयो,’ उनले भने, ‘उपकुलपति जेजस्तो भए पनि सिफारिस भएर आएकालाई मेरिटअनुसार नियुक्ति गर्नुपर्छ भन्नुहुन्छ । अन्य पक्षले सबैलाई मिलाएर लैजानुपर्ने धारणा राख्दा डिन नियुक्तिमा ढिलाइ हुँदै आएको छ ।’

उपकुलपति बरालले गत साता ६ सहपरीक्षा नियन्त्रक मेरिटका आधारमा नियुक्ति गर्दै मेरिट छाड्न नसकिने संकेतसमेत दिएका छन् । ‘थुप्रै पदहरूमा नियुक्ति गर्न बाँकी छ । अब भागबन्डाभन्दा पनि मेरिटमा एक नम्बरमा जो आउँछ उसैलाई नियुक्त गर्नुपर्छ,’ उनले भने ।

चिकित्साशास्त्र, इन्जिनियरिङ, विज्ञान तथा प्रविधि, वन, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान तथा व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र संकायमा डिन नियुक्तिका लागि सिफारिस भएका छन् ।

भिन्नभिन्नै छनोट तथा सिफारिस समितिले छुट्टाछुट्टै खाममा वर्णानुक्रमअनुसार सम्भावित डिनका नाम र प्राप्तांक पठाएका छन् । स्रोतका अनुसार चिकित्सा शिक्षा अध्ययन संस्थानमा मोहनराज शर्मा, सुधा बस्नेत र दिव्यासिंह शाह सिफारिसमा परेका छन् । इन्जिनियरिङ अध्ययन संस्थानमा सुवर्ण शाक्य, भोलानाथ शर्मा र सुशील बज्राचार्य छन् ।

मानविकी तथा सामाजिकशास्त्र संकायमा दुवीनन्द ढकाल, सञ्जय आचार्य र ताराप्रसाद भुसाल सिफारिसमा छन् । कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा किशोर दाहाल, हरिकृष्ण पन्त र यमबहादुर गुरुङ छन् । वन विज्ञान अध्ययन संस्थानमा राजेश राई, ठाकुर सिलवाल र राजकुमार कोइराला सिफारिसमा परेका छन् भने विज्ञान तथा प्रविधि संकायमा शंकर खनाल, चेतराज भट्ट र नारायण अधिकारी छन् ।

व्यवस्थापनमा महानन्द चालिसे, भोजराज अर्याल र अच्युत ज्ञवाली तथा शिक्षाशास्त्र संकायमा चित्रबहादुर बुढाथोकी, वेदराज आचार्य, नारायण बेलबासे सिफारिस भएका छन् । मेरिटका आधारमा नियुक्ति दिँदा ८ डिनमध्ये ५ मा कांग्रेस, ३ मा माओवादी निकट प्राध्यापक पर्छन् ।

रेक्टरसहित एमाले कोटामा कार्यकारी सदस्य बनेका शर्मा र चापागाईं यसमा असन्तुष्ट छन् । उनीहरू आफू अनुकूल निर्णय नहुने भएपछि कार्यकारी परिषद्को बैठकमा समेत उपस्थिति नभएको आरोप प्राध्यापकहरूको छ ।

रेक्टर केसीले कार्यविधिअनुसार ३ मध्ये एक जना छनोट गर्न सकिने बताए । ‘भागबन्डा खोजेको होइन । म पनि मेरिटोक्रेसीकै पक्षमा हो । हामीले बनाएको विधिमा टेकौं भनेको हो,’ उनले भने । नियुक्तिका विषयमा उपकुलपतिसहित पदाधिकारीमा खासै ठूलो विमति नरहेको र छिट्टै टुंगो लाग्ने समेत उनले दाबी गरे ।

रजिस्ट्रार रिजालले नियुक्तिका लागि छलफल जारी रहेको र निष्कर्षमा पुगिने बताए । बिहीबार त्रिविले नीति सभा डाकेको छ । डिनहरू त्यसको सदस्य हुन्छन् । त्यसअघि नै नियुक्ति गरिसकिने पदाधिकारीहरूको दाबी छ ।

‘हिजो पूर्वउपकुलपति धर्मकान्त बाँस्कोटाले अधिकांश डिन एमाले कोटाबाट नियुक्ति गर्दा पनि फेल भए,’ एक सदस्यले भने, ‘राजनीतिक आस्था सबैको हुन्छ । त्यसैले सबै पक्षलाई मिलाएर लैजाँदा नै विश्वविद्यालयको हितमा हुन्छ ।’

एक नम्बरमा सिफारिस भएकामध्ये केहीमाथि प्रश्न उठेकाले पनि ३ जनाबाट छान्दा उपयुक्त हुने ती सदस्यले नाम नलेख्ने सर्तमा बताए । छनोट तथा सिफारिस समितिका प्राध्यापकहरू भने मेरिटका आधारमा नियुक्त नहुने भए भदौदेखि सुरु गरिएको प्रतिस्पर्धाको प्रक्रियाको औचित्य नै समाप्त हुने तर्क गर्छन् । कार्यकारीका सदस्य डिल्लीराम शर्माले डिन नियुक्तिका विषयमा छलफलमै रहेको र कार्यकारी परिषद्भित्र कुनै विमति नरहेको जनाए ।

यसअघि शिक्षा र कृषिमा माओवादी र मानविकीमा कांग्रेस निकटबाहेक सबै डिनहरूमा एमाले निकट प्राध्यापकहरू नियुक्त भएका थिए । विगतमा एकलौटी गरेको एमालेले रेक्टर केसीमार्फत यस पटक पनि चिकित्सा, इन्जिनियरिङ, शिक्षा, मानविकी, वनलगायत डिनका लागि दाबी गर्दै आएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षामन्त्री विद्या भट्टराईदेखि एमाले नेता, एमाले निकट प्राध्यापक, कर्मचारी र विद्यार्थी संगठनले त्यसका लागि दबाब दिँदै आएको र निर्णय हुन नसकेको पूर्वडिन तथा छनोट तथा सिफारिस समितिका एक सदस्यले दाबी गरे ।

कार्यकारी परिषद्मा एमाले पक्षको बहुमत भएकाले उपकुलपतिले निर्णय लिन नसकेर अप्ठ्यारोमा परेको उनले बताए । डिनको टुंगो नलाग्दा छनोट तथा सिफारिसले नाम सिफारिस गरेका १८ क्याम्पसमा पनि प्रमुख नियुक्त गर्न सकेको छैन । गत असारदेखि डिन र क्याम्पस प्रमुख रिक्त छन् । निमित्तलाई जिम्मेवारी दिइएको छ । डिनपछि क्याम्पस प्रमुख नियुक्त गर्ने भनिएको छ । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार