असार २४, २०८२ मंगलबार July 8, 2025

निजामती विधेयकमा दफावार छलफल सुरु

सरकारले २०८० फागुनमा नै विधेयक दर्ता गरे पनि संसदीय प्रक्रियामा भने ढिलाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, मङ्सिर २४ गते । समितिमा दफावार छलफलका लागि पठाइएको छ महिनापछि प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती विधेयकको दफावार छलफल प्रारम्भ गरेको छ । औपचारिक रूपमा विधेयकका संशोधनकर्ता सदस्यलाई बोलाएर समितिले छलफल प्रारम्भ गरेको हो । आइतबार चार सदस्यले आफ्ना संशोधनका विषय राखेका छन् । समितिले भने ४० सांसदलाई बोलाएको थियो ।

जेठ १५ गते समितिमा प्राप्त विधेयकमा यसअघि पनि दफावार छलफलको प्रारम्भ प्रयास भए पनि रोकिएको थियो । भ्रष्टाचार निवारण र अख्तियारको विधेयकमा छलफलका लागि उपसमिति बनाइएपछि समितिले निजामती विधेयकको दफावार छलफल सुरु गरेको हो । विधेयकमा १२४ जना सांसदले एक हजार ५८३ बुँदामा संशोधन परेका छन् । आइतबार आफ्ना संशोधनका विषयमा सांसदहरू बिजुला रायमाझी, प्रतीक्षा तिवारी, रघुजी पन्तलगायतले धारणा राख्नुभयो ।

समिति सभापति रामहरि खतिवडाले विधेयकमा अब निरन्तर छलफल हुने बताउनुभयो । विधेयकमा संशोधनकर्ता सदस्यसँग छलफलसँगै सरोकारवाला पक्षसँग पनि परामर्श गरिने खतिवडाले बताउनुभयो । उहाँले भन्नुभयो, “विधेयकमा सरोकार राख्ने पक्षसँग पनि हामी अब छलफल गर्छौं । लोक सेवा आयोग, कर्मचारी युनियनका प्रतिनिधिलगायतसँग पनि धारणा लिन्छौँ ।”

संविधान जारी भएपछि कर्मचारी संरचनालाई सङ्घात्मक स्वरूपमा लैजाने गरी विधेयक प्रस्ताव भएको छ । अघिल्लो प्रतिनिधि सभाको कार्यकालमा पनि विधेयक समितिमा लामो समय दफावार छलफल भएको थियो । समितिले तयार पारेर सदनमा पेस गरिसकेको अवस्थामा विधेयक सरकारले फिर्ता लिएको थियो । राज्य व्यवस्था समितिको अघिल्लो कार्यकालको १६२ मध्ये ६१ बैठक निजामती विधेयकका लागि मात्र गरेको थियो । प्रतिवेदन तयार भइसकेको अवस्थामा विधेयक फिर्ता भएको थियो ।

सरकारले २०८० फागुनमा नै विधेयक दर्ता गरे पनि संसदीय प्रक्रियामा भने ढिलाइ भइरहेको छ । अत्यधिक संशोधन परेपछि विधेयकको छलफल प्रक्रिया कसरी अघि बढाउने भन्नेमै लामो समय लागेको हो । समिति सभापति खतिवडाले प्रमुख दलका प्रतिनिधि रहेको अनौपचारिक संयन्त्र निर्माण गरेर विधेयकलाई चाँडो निष्कर्षमा पुर्‍याउने तयारी रहेको बताउनुभयो ।

“हामी उपसमिति नबनाई अनौपचारिक संयन्त्र बनाउँ भन्ने तयारीमा छौँ । सबैको ‘पोजिसन’ बुझेपछि विधेयक चाँडो टुङ्गो लगाउने तयारी गरेका छौँ,” सभापति खतिवडाले भन्नुभयो । निजामती विधेयकमा कर्मचारी ट्रेड युनियन, उमेर हद, प्रदेश स्थानीय तहमा समायोजनपछिको व्यवस्थापन, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थालगायतका विषय पेचिला छन् ।  गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार