असार २४, २०८२ मंगलबार July 8, 2025

एमालेलाई मीनबहादुरले दिएको जग्गासम्बन्धी विवाद सर्वोच्चबाट खारेज

पार्टी भित्रबाट आलोचना भए पनि ओलीले भवन निर्माण रोक्न चाहेनन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सर्वोच्च अदालतले भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङबाट जग्गा दान लिने एमालेको निर्णयलाई कानुनसम्मत ठहर गरेको छ । एमालेको केन्द्रीय पार्टी कार्यालय बनाउनका लागि गुरुङले दिएको जग्गा दानविरुद्ध सर्वोच्चमा परेको रिट खारेज भएसँगै भवन बनाउने बाटो खुलेको हो ।

अधिवक्ता ज्ञानबहादुर बस्नेतले ७ कात्तिकमा रिट दायर गरेका थिए । सोमबार न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले रिट खारेज गर्दै एमालेलाई सो जग्गामा पार्टी कार्यालय बनाउने बाटो खोलेको हो ।

सुरुमा अधिवक्ता बस्नेतले दिएको निवेदन सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो । दरपीठविरुद्ध बस्नेतले इजलासमा निवेदन दिएपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले निवेदन दर्ता गर्न आदेश दिएको थियो । सो रिटमा सर्वोच्चले पहिलो सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलले अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो । अन्तरकालीन आदेशका कारण भवन निर्माण कार्य रोकिएको थियो । न्यायाधीश पोखरेलले राजनीति दलसम्बन्धी ऐनको व्यवस्थामा टेकेर तत्कालका लागि सो अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएका थिए ।

भाटभटेनी सुपर मार्केटका मालिक गुरुङले पार्टी कार्यालय बनाउन नेकपा एमालेलाई १० रोपनी १४ आना जग्गा दान दिने घोषणा गरेका थिए । सो जग्गामा पार्टी कार्यालय बनाउने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्याससमेत गरेका थिए । तर, सर्वोच्चमा रिट परेपछि भवन निर्माण रोकिँदै आएको थियो ।

गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन २५ असोजमा काठमाडौंको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए । सोही दिन प्रधानमन्त्री ओली दम्पती र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्याससमेत गरेका थिए । सो निर्णयको सर्वत्र आलोचना भएको थियो ।

प्रमुख राजनीतिक दलमध्येको एक अनि सरकारमै भएको समयमा विभिन्न तहका अदालतमा मुद्दा विचाराधीन भएको व्यक्तिबाट जग्गा दान लिएको भनी एमाले र प्रधानमन्त्री ओलीको आलोचना भएको थियो । एमाले सचिवालयले गरेको निर्णयको विरोधमा पार्टीका नेता भीम रावल एमालेकै पोलिटब्युरो सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनाले विवादित व्यक्तिसँग जग्गा दान लिन नहुने भन्दै टिप्पणी गरेका थिए । पार्टीको निर्णयमा टिप्पणी गरेको भन्दै तीन जनालाई स्पष्टीकरण सोधिएको थियो । तर, अदालतमा मुद्दा विचाराधीन भएपछि एमालेले तीन नेतालाई कारबाही प्रक्रिया स्थगित गरेको थियो । पार्टी भित्रबाट आलोचना भए पनि ओलीले भवन निर्माण रोक्न चाहेनन् । त्यसपछि सर्वोच्च अदालतमा जग्गादानसम्बन्धी विवादको विषयमा रिट प¥यो ।

सर्वोच्चले सोमबार दुवै पक्षको बहस सुनेर रिट नै खारेज गरिदिएको छ । सोमबारको बहसमा रिट निवेदकका पक्षले राजनीतिक दलले दान लिन नहुने र कानुनसम्मत नभएको भन्दै भवन निर्माणका लागि लिएको जग्गा दान गर्नु गैरकानुनी भएको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जिकिर गरे ।

साथै, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङको पक्षबाट अधिवक्ता मणिराम आचार्यले सुरुमै ज्ञानबहादुर बस्नेतको रिट खारेज हुनुपर्ने दाबी पेस गरे । उनले गुरुङ व्यवसायमा सफल व्यक्ति भएको र विगत १० वर्षदेखि कर कार्यालयले उत्कृष्ट करदाता भनी सम्मानसमेत गर्दै आएको प्रसंग सुनाए । उनले आन्तरिक राजस्व विभागले सम्मान गरेको प्रमाणपत्र पेस गर्दै ‘यसरी राज्यले सम्मान गरेको व्यक्तिले कुनै दललाई दान दिन्छु भन्दा पनि दिन नपाउने’ भनी प्रश्न उठाए ।

दुवै पक्षको बहस सुनेपछि सर्वोच्चले जारी विवादसम्बन्धी रिट नै खारेज गरेकाले एमालेलाई भवन निर्माणका लागि कुनै बाधा र कानुनी रूपमा समस्या नहुने देखिन्छ । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार