मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

विचार केन्द्रित राजनीतिको बहस : रामजी दाहाल

कांग्रेसको सिद्धान्त अनुसारको समाजवादी समाज निर्माणका लागि व्यक्ति होइन, विचारकेन्द्रित राजनीति हुनु पर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

हिजोआज देशभरका कांग्रेस कार्यकर्तादेखि नेताका मुखबाट सुन्ने गरिन्छ, नेपाली कांग्रेस विचार शून्य भयो । चिया पसलदेखि पार्टीका औपचारिक कार्यक्रममा अझ कतिपय नेता कार्यकर्ता त यतिसम्म पनि भन्छन्, कांग्रेस पार्टी आफ्नो एजेन्डा छाडेर कम्युनिस्टका एजेन्डाको पछाडि लाग्यो ।

के साँच्चै कांग्रेस पार्टी विचार शून्य भएकै हो ? आफ्नो एजेन्डा छाडेर कम्युनिस्टको पछाडि लागेको हो ? त्यसो होइन भने कांग्रेसको विचार के हो त ? राष्ट्रियता, लोकतन्त्र र समाजवाद नै कांग्रेसका प्रमुख आदर्श हुन् र यिनै आदर्शभित्र कांग्रेसले विचारको खोजी गर्नु पर्छ । त्यस अर्थमा भन्न सकिन्छ कांग्रेस विचार शून्य भएको छैन । उसका विचार दीर्घकालपर्यन्त उत्तिकै सान्दर्भिक रहने छन् । यस सन्दर्भमा समाजवादी चिन्तक सीके प्रसाईको भनाइ यहाँ स्मरण गर्नु सान्दर्भिक हुन्छ । ‘आजको सरल राजनीति’ मा प्रसाई लेख्छन्, ‘जब निर्धारित नीति छाडिन्छ र आफ्नो स्थितिमा मात्र ध्यान दिइन्छ, राजनीतिको मात्र फजिति हुँदैन, राजनीति गर्नेवालाको पनि अन्ततोगत्वा दुर्गति हुन्छ । अल्पकालका लागि सुखभोग प्राप्त भए तापनि आखिरमा दीर्घकालका निमित्त अधोगति बेहोर्नु पर्छ । तसर्थ नीति कदापि छाड्नु हुँदैन । बाँचुन्जेल समाएर राख्नु पर्छ । यसले एक दिन अवश्य सुगति प्रदान गर्छ ।’

निश्चित रूपमा समय गतिशील हुन्छ । समयको त्यही गति अनुसार नेपाली समाजको यात्रा पनि अघि बढिरहेको छ । कांग्रेस बिपी कोइरालाको समाजवादी सिद्धान्तबाट निर्देशित पार्टी हो । आज मात्र होइन, भोलिका दिनमा बिपी कोइरालाले परिकल्पना गरेको समाजवाद सान्दर्भिक भइरहन्छ भन्ने हुँदैन । समयको कुनै कालखण्डमा आएर त्यो असान्दर्भिक हुन पनि सक्छ । त्यस्तो बेला सान्दर्भिक नीति अवलम्बन गर्न सकिएन भने पार्टी अलमलमा पर्न जान्छ । सान्दर्भिकतामा प्रश्न उठ्छ । विश्वमा भइरहेको परिवर्तनबाट नेपाल अगल रहन सक्दैन । त्यसै कारण नेपालको राजनीतिक, आर्थिक, सामाजिक अवस्थामा हिजोको तुलनामा धेरै परिवर्तन आएको छ । यस्तो अवस्थामा लोकतन्त्रको मूल सिद्धान्तमा कुनै सम्झौता नगरी समयानुकूल परिमार्जन गर्नुलाई कांग्रेसले बिपीको सिद्धान्त भुल्यो भनेर अर्थ लगाउनु हुँदैन । मूल सिद्धान्त त त्यही नै हो लोकतन्त्र, केवल त्यसमा समयानुकूल थप परिमार्जन गरिएको मात्र हो ।

माघ पहिलो साता (२ देखि ४ गतेसम्म) धादिङ, चितवन र गोरखाका विभिन्न ठाउँमा पूर्वउपसभापति विमलेन्द्र निधिसँगको भेटमा कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले पार्टी विचार शून्य भएको गुनासो गरेका थिए । जवाफमा निधिले संसदीय लोकतन्त्र कांग्रेसको मूल सिद्धान्त भएको भन्दै त्यही संसदीय प्रणाली आज मुलुकका सबै राजनीतिक शक्तिका लागि मिलनविन्दु भएको प्रस्ट पार्नुभयो । त्यस अर्थमा कांग्रेसले विचारको अगुवाइ गरेको उहाँको भनाइ थियो ।

पछिल्लो समय खास गरी २०६२/६३ को राजनीतिक परिवर्तनपछि नेपालको राजनीति र शासकीय स्वरूपमा मूलभूत रूपमा केही परिवर्तन गरिएको छ तर ती परिवर्तन राष्टियता, लोकतन्त्र र समाजवादका सिद्धान्तकै वरिपरि रहेर भएका हुन् । त्यसबाट कांग्रेसको नीति थोरै पनि दायाँबायाँ भएको छैन । जस अनुसार हिजोका दिनमा रहेको राजतन्त्रात्मक शासन प्रणालीको सट्टा गणतन्त्रात्मक शासन प्रणाली सुरु भएको छ । एकात्मक शासन व्यवस्थाबाट सङ्घीय शासन व्यवस्था, एकै प्रकारको निर्वाचन प्रणालीबाट समानुपातिक निर्वाचन प्रणाली, असमावेशीबाट समावेशी तथा हिन्दु धर्मबाट धर्म निरपेक्ष मुलुक भएको छ । नेपालको राजनीतिक इतिहासमा भएको यो ऐतिहासिक परिवर्तन कुनै व्यक्ति विशेषको अगुवाइमा नभई सिङ्गो सार्वभौम संसद्बाट भएको यथार्थलाई कसैले पनि बिर्सनु हुँदैन । यसरी परिवर्तनका एजेन्डामा पुग्ने बाटो भनेको अहिंसा र शान्ति नै हो । त्यसो हुँदा यिनै परिवर्तनका एजेन्डामा विचारको खोजी गर्न कांग्रेस नेता निधिले नेता कार्यकर्तालाई आह्वान गर्नुभयो । हुन पनि निधिले भने जस्तै ७८ वर्षअघिदेखि कांग्रेसले बोकेको त्यही लोकतान्त्रिक संसदीय प्रणालीलाई स्वीकारेर मुलुकका सबै राजनीतिक शक्ति एक ठाउँमा उभिन सम्भव भएको हो । त्यस अर्थमा भन्न सकिन्छ कि कांग्रेस आफ्नो सिद्धान्तबाट कहीँ कतै बिचलित भएको छैन ।

विचारको बहस

संसदीय लोकतन्त्र कांग्रेसको सिद्धान्त हो तर जब सिद्धान्त केन्द्रित राजनीतिलाई पाखा लगाएर व्यक्तिकेन्द्रित राजनीति सुरु हुन्छ त्यतिबेला समस्या उत्पन्न हुन्छ । जसको परिणाम नेता कार्यकर्ता तहमा असन्तुष्टि बढ्न जान्छ । निर्वाचनका क्रममा आधिकारिक उम्मेदवारविरुद्ध घात अन्ततर्घातको अन्त्यहीन शृङ्खला त्यहीबाट हुन्छ । त्यस कारण हामी भन्न सक्छौँ कि आजको दिनमा कांग्रेसले सिद्धान्त छाडेको छैन, सिद्धान्त अनुसारको व्यवहार चाहिँ नगरेको पक्कै हो । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ कुरिनटारका ७३ वर्षीय एसबी आले नेपाली कांग्रेसलाई सैद्धान्तिक रूपमा बलियो बनाउन रूपान्तरणको खाँचो औँल्याउँछन् ।

स्थानीय नेता कार्यकर्ताको अनौपचारिक भेलामा उपस्थित भएका भूपू सैनिक आलेको चिन्ता छ, कांग्रेसलाई गुटबन्दीले थिलथिलोबाट कसरी बाहिर निकाल्ने ? आलेले भने जस्तै आजको दिनमा कांग्रेस भनेको गुट उपगुटहरूको पार्टी जस्तो भएको छ । जहाँ आधा दर्जनभन्दा बढी गुट छन् र यो गुटले केन्द्रमा मात्र होइन, प्रदेशहुँदै जिल्ला र पालिका तहसम्म जरा फैलाएर बसेको छ । यसको मूल कारण भनेको व्यक्तिकेन्द्रित राजनीति नै हो । राजनीति व्यक्तिकेन्द्रित रहेसम्म पार्टीभित्रका यी र यस्ता गुट मजबुत भए तापनि व्यक्तिकेन्द्रित नभई पार्टी विचार केन्द्रित भएका दिन गुटबन्दी गौण बन्न जान्छ । त्यतिबेला गुटबन्दी पूर्ण रूपले नहटे पनि नियन्त्रण हुन्छ र त्यस्ता गुट सिङ्गो पार्टीका लागि हानिकारक बन्न सक्दैनन् । अहिले व्यक्तिकेन्द्रित राजनीतिका कारण बिचारको राजनीति ओझेलमा पर्न गएको यथार्थलाई भने कांग्रेसजनले स्वीकार्नै पर्छ । आफ्नैले आफ्नोलाई हराउने प्रवृत्ति मौलाउनुको मुख्य कारण पनि गुटबन्दी नै हो ।

त्यस कारण हामी भन्न सक्छौँ कि कांग्रेसले आफ्नो सिद्धान्त छाडेको होइन, पार्टीका नेताहरूले सिद्धान्त अनुसारको व्यवहार नगरेका मात्र हुन् । सिद्धान्त अनुसारको व्यवहार नहुँदा कांग्रेसका नेता, कार्यकर्ता र शुभचिन्तक स्वार्थको साँघुरो घेरामा रमेका छन् । हिजोआज नेताहरूको बोली र व्यवहारमा फरक देखिएको छ । हिजोका दिनमा राजनीति भन्नासाथ समाज सेवा बुझिन्थ्यो । राजनीतिबाट केही पाउने आश थिएन, भएको गुमाउनु पथ्र्यो । राणाकालमा सङ्घर्ष गरेका बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशमशेर, महेन्द्रनारायण निधि जस्ता हस्तीहरूलाई २००७ सालमै प्रजातन्त्र आउला भन्ने आशा थिएन । त्यसै गरी २०१७ सालमा राजा महेन्द्रले बिपी कोइरालाको निर्वाचित सरकारलाई अपदस्थ गरेर दलहरूमाथि प्रतिबन्ध लगाएपछि २०४६ सालमा प्रजातन्त्र आइहाल्छ भन्ने लागेको थिएन । अर्थात् राजनीति पद प्राप्ति नभई समाज सेवाको बुझाइ थियो ।

प्रजातन्त्रका लागि गरेको योगदानलाई उहाँहरू महत्वपूर्ण ठान्नुहुन्थ्यो तर आज राजनीतिमा योगदान र सङ्घर्षभन्दा पनि सस्तो लोकप्रियता हाबी छ । मतदाताहरू सस्तो लोकप्रियताको पछाडि लाग्दाको परिणामको ऐना हो, संसद् । सांसदका बोली र व्यवहार फरक छन् । यस्तो द्वेध चरित्र भएका नेताहरू जब कुनै पनि पार्टीको निर्णायक तहमा हाबी हुन जान्छन् तब सिद्धान्तको राजनीति समाप्तिको दिशातिर जान्छ । यस्तो चरित्र भएका नेताहरूले पार्टीको सिद्धान्त जोगाउन सक्दैनन् । सिद्धान्तको राजनीति धरापमा परेका बेला बिपी, गणेशमान, भट्टराई, निधि, भीमबहादुर तामाङ जस्ता निष्ठावान् नेताको खाँचो महसुस हुन्छ । जो आफू हारेर पनि प्रजातन्त्रको जित हुँदा खुसी हुन्नुहुन्थ्यो । निष्ठाको राजनीति ओझेलमा परेको अर्को उदाहरण हो, निर्वाचनका क्रममा वितरण गरिएको टिकट र टिकट पाएका व्यक्तिको इतिहास अनि वर्तमान । इतिहास र वर्तमान हेरेर भविष्यको आकलन गर्न सकिन्छ । कांग्रेसमा इमानदार, त्यागी, निष्ठावान् धेरै नेता छन् । टिकट वितरणका बेला मोटो थैली निर्णायक हुने गरेको छ । परिणाम इमानदार कार्यकर्ता सधैँ पछाडि पर्दै आएका छन् । त्यस कारण कांग्रेसको सिद्धान्त अनुसारको समाजवादी समाज निर्माणका लागि व्यक्ति होइन, विचारकेन्द्रित राजनीति हुनु पर्छ । त्यसका लागि नेताहरूले व्यवहार, आचरण र शैलीमा सुधार गर्नै पर्छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार