असार २३, २०८२ सोमबार July 7, 2025

७ सय ५३ वटै स्थानीय तहमा पुग्यो बैंक

सुरक्षा, सडकलगायत कारण देखाउँदै एभरेस्ट बैंकले पालिकाको केन्द्रमा बैंक खोल्न नमानेपछि धलौनमा स्थापना गर्नुपरेको

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मुलुकका सबै स्थानीय तहमा बैंकिङ सेवा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकले मुलुक संघीयतामा गएपछि २०७४ साल असार महिनासम्ममा सबै ७ सय ५३ वटै स्थानीय तहमा ‘क’ वर्गका बैंक पु¥याउने घोषणा गरेको भए पनि सोमबार मात्र औपचारिक रूपमा सबै स्थानीय तहमा बैंक पुगेको हो ।

बझाङको साइपालमा बैंकको शाखा पु¥याउने जिम्मा पाएको एभरेस्ट बैंकले सोमबार मात्रै औपचारिक रूपमा साइपाल शाखाको उद्घाटन गरेपछि मुलुकभर बैंकिङ सेवा पुगेको घोषणा भएको हो ।

एभरेस्ट बैंकले बझाङको साइपालमा दुई महिनाअघि नै शाखा विस्तार गरेको भए पनि औपचारिक रूपमा उद्घाटन भने भएको थिएन ।

साइपालमा लामो समयदेखि बैंकिङ सेवा पु¥याउने कोसिस गरिएको भए पनि आवश्यक पूर्वाधारको कमीमा शाखा पु¥याउन सकिएको थिएन ।

एभरेस्ट बैंकले साइपालमा विस्तार गरेको शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका थिए । हेलिकोप्टरमा साइपाल पुगेका अधिकारीले यस शाखा विस्तारले आमनागरिकले बैंकिङ सेवा सहज र सरल ढंगले पाउने विश्वास पूरा भएको बताए ।

संघीय संरचना निर्माण भएको ८ वर्षपछि गत असोजमा ७५३औं स्थानीय तहमा एभरेस्ट बैंकले शाखा सञ्चालनमा ल्याएको थियो । भौगोलिक रूपमा विकट बझाङको साइपाल गाउँपालिकामा एभरेस्ट बैंकको व्यवस्थापन र सञ्चालक समितिका पदाधिकारीसहित गभर्नर अधिकारी हेलिकोप्टरमार्फत सो शाखा उद्घाटनका लागि पुगेका थिए ।

मुलुक संघीय संरचनामा गएसँगै सरकारी कारोबार वाणिज्य बैंकमार्फत हुने व्यवस्थानुसार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई सबै स्थानीय तहमा शाखा पु¥याउन निर्देशन दिएको थियो ।

आर्थिक वर्ष २०७४–७५ भित्र ७ सय ५३ वटै स्थानीय तहमा शाखा पु¥याउने नीति नेपाल राष्ट्र बैंकले लियो । सोहीअनुसार वाणिज्य बैंकलाई रोजेर शाखा नपुगेका स्थानीय तहमा शाखा स्थापना गर्न निर्देशन दिइएको थियो ।

राष्ट्र बैंकको निर्देशनअनुसार पूर्वाधार र व्यावसायिक सम्भावना भएका स्थानीय तहमा तत्काल शाखा विस्तार गरिएको थियो ।

स्थानीय तहमा जाने ठूलो रकम परिचालन गर्ने अवसर प्राप्त हुने देखेपछि स्थानीय तहमा बैंकका शाखा खोल्ने क्रम चले पनि विकटमा भने बैंक जान सकिरहेका थिएनन् । विकट जिल्लामा शाखा विस्तार गर्न हिच्किचाएपछि नेपाल राष्ट्र बैंकले गोलाप्रथाद्वारा स्थानीय तह विभाजन गरी बैंकहरूलाई जिम्मा लगाएको थियो ।

एभरेस्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तारका क्रममा सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङको उत्तरपूर्व साइपाल गाउँपालिका–१ स्थित धलौनमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएपछि राष्ट्र बैंक र सरकारको लक्ष्य पूरा भएको छ ।

स्थानीय तहमा पुगेको अन्तिम शाखाको उद्घाटन समारोहमा साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहोरा, एभरेस्ट बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, नेपाल राष्ट्र बैंकका निर्देशक केशवबहादुर केसी, साइपाल गाउँपालिकाका सबै वडाका वडाध्यक्ष, एभरेस्ट बैंक सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख उज्ज्वल पोख्रेललगायतको उपस्थिति रहेको थियो ।

भौगोलिक तथा पूर्वाधार विकासको हिसाबले पनि अति दुर्गम मानिने मोटर बाटोको समेत पहुँच नभएको ७–८ घण्टाको पैदल यात्रा गरी पुग्न सकिने सो पालिकामा शाखा कार्यालय खोली सञ्चालनमा ल्याउने जस्तो कठिन तथा चुनौतीपूर्ण कार्य सफल हुन सकेकामा एभरेस्ट बैंकले खुसी प्रकट गरेको छ ।

गभर्नर अधिकारीले संघीय राष्ट्रको सम्पूर्ण पालिकामा बैंक पु¥याउने सरकारी लक्ष्यले पूर्णता पाएको बताउँदै अब सानोतिनो बैंकिङ सेवाका लागि पनि सदरमुकाम धाउनुपर्ने साइपालवासीको बाध्यताको अन्त्य भएको धारणा राखे । गभर्नर अधिकारीले अन्य सुविधा पनि बिस्तारै गाँसिँदै आउने र यस क्षेत्रको समग्र आर्थिक क्रियाकलापसमेत चलायमान हुने विश्वास व्यक्त गरे ।

पन्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको एभरेस्ट बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहक संख्या छन् । मुलुकभर बैंकका १ सय ३१ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १ सय ६७ एटीएम छन् ।

साइपालमा शाखा खोल्ने एभरेस्ट बैंकको आनाकानीका कारण साइपाल गाउँपालिकाका स्थानीय निकाय, सर्वसाधारण, व्यापारी तथा उद्यमी बैंकिङ पहुँचबाट वञ्चित थिए ।

यसअघि साइपाल गाउँपालिकाले पनि त्यहाँ बैंक नभएका कारण आफ्नो सम्पर्क कार्यालय सदरमुकाममा राखेर काम गर्दै आएको थियो । नेपाल राष्ट्र बैंकले साइपाल गाउँपालिकामा शाखा स्थापनाका लागि एभरेस्ट बैंकलाई पटकपटक अनुरोध गर्दै आएको थियो ।

साइपालबाट सदरमुकाम पुग्न दुई दिन लाग्छ । बैंकिङ कारोबारका लागि जान आउन मात्रै चार दिन छुट्यानुपर्ने बाध्यता शाखा विस्तारसँगै अन्त्य भएको ।

बैंकको पहुँच पुगेसँगै पूर्ण बैंकिङ सेवा पु¥याउने चुनौती सुरु भएको छ । हाल देशभरका सबै स्थानीय तहमा कम्तीमा एउटा बैंकको शाखा कार्यालय सञ्चालनमा छन् । तर, स्थापित ती शाखाले सम्पूर्ण बैंकिङ सेवा दिन सकेका छैनन् । काठमाडौंबाट बझाङको साइपाल पुग्नेले चेक नै लिएर जानुपर्ने बाध्यता अझै रहनेछ ।

बैंक नभएका कारण साइपालका बासिन्दाले स्थानीय सरकारको अनुभूति गर्न नपाएको भन्दै पालिकाका जनप्रतिनिधि बैंक स्थापनाका लागि पटकपटक काठमाडौं धाउँदै आएका थिए ।

अहिले साइपालमा बैंक स्थापना भए पनि वडा नं १ र २ का स्थानीयलाई सहज हुने तर उत्तरी क्षेत्रमा रहेका वडा नं ३, ४ र ५ का बासिन्दालाई भने खासै सहज नहुने देखिएको छ । बैंक रहेको गाउँ धलौन पुग्न धुली, बलौडी र न्युनाबाट एक दिन पैदल हिँड्नुपर्ने बाध्यता छ ।

भत्ता बुझ्ने ज्येष्ठ नागरिक, अशक्त र अपांगता भएका व्यक्तिलाई साइपालको धलौन पुग्न दुई दिन हिँडेर जानुपर्छ वा बोकेरै लैजानुपर्ने बाध्यता छ ।

सुरक्षा, सडकलगायत कारण देखाउँदै एभरेस्ट बैंकले पालिकाको केन्द्रमा बैंक खोल्न नमानेपछि धलौनमा स्थापना गर्नुपरेको बताइएको छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या पुस मसान्तसम्ममा १ सय ७ रहेको छ । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०८१ असार मसान्तमा ११ हजार ५ सय ३० रहेकामा २०८१ पुस मसान्तमा यो संख्या ११ हजार ५ सय ४५ पुगेको थियो । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया