बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

करोडौंको लगानी बन्यो खरानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको देशको दोस्रो ठूलो प्लाइउड तथा दाङको गौरवको उद्योगका रूपमा लिइएको गणपति भेनियर तथा प्लाइउड उद्योग (सांग्रीला प्लाई) मा आगलागी हुँदा करोडौंको क्षति भएको छ प्रारम्भिक अनुमानअनुसार आगलागीका कारण करिब ५० करोड रुपियाँभन्दा बढी क्षति भएको छ ।

आइतबार राति करिब १ बजेदेखि लागेको आगो सोमबार राती करिब करिब नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । स्थानीय गेहेन्द्र बस्नेत र जितेन्द्र बस्नेतले सञ्चालन गरेको उद्योग पूर्ण रूपमा जलेर नष्ट भएको छ । उद्योगमा राति विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुन्धानका क्रममा देखिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचनाअधिकारी एवम् प्रहरी नायवउपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । यद्यपि, घटना के कति कारणले भएको हो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक शाहका अनुसार आगलागीका कारण प्लाई बनाउन प्रयोग हुने काठ, कच्चापदार्थ, प्लाई बनाउन प्रयोग हुने मेसिनलगायत सामग्री जलेर नष्ट भएको छ । उद्योगमा आगलागी भएको थाहा पाएपछि दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्लामा रहेको दमकलका साथै छिमेकी जिल्लाबाट तत्काल अन्य दमकलसमेत मगाएर आगलागी नियन्त्रणको प्रयास थाल्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारीको निर्देशनलगत्तै नेपाल प्रहरीसहित नेपाली सेना र सशस्त्र प्रहरीको टोली आगो नियन्त्रणका लागि निरन्तर रूपमा खटेका थिए । प्रमुख जिल्ला अधिकारी लम्सालले आगो नियन्त्रणका लागि दाङका घोराही र तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकाका तीनवटा दमकलसँगै कपिलवस्तुको शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका र बर्दियाको ठाकरुबाबा नगरपालिकाबाट दमकल मगाएर आगो नियन्त्रण गरिएको जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक शाहका अनुसार उद्योगको सबै भागमा आगोले भेटाएकाले दमकल, स्काभेटर र ट्रक्याक्टरको सहायताले आगो निभाउने प्रयास जारी छ, दिनभरको प्रयासले ८० प्रतिशतजति आगो नियन्त्रणमा आएको छ । आइतबार उद्योगमा बिदा भएको र कामदार नभएका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ । शुरूदेखि नै उद्योगमा लागेको आगो नियन्त्रणसँगै उद्योग नजिकै रहेको बस्तीलाई जोगाउने प्रयास गरेको हुँदा आगो बाहिर फैलिन नपाएको शाहले जानकारी दिनुभयो ।

उद्योगले प्लाई उत्पादन गरेर देशका विभिन्न स्थानसँगै भारतमा समेत निर्यात गर्दै आएको थियो । दाङमा वैशाखयता मात्रै साना ठूला गरेर ८० भन्दा बढी आगलागीका घटना भएका छन् । जसबाट ठूलो मात्रामा क्षति भएको छ । १८ वर्ष पहिले स्थापना भएको उद्योगमा दैनिक ७ सय जनाले रोजगारी पाएका थिए । उत्पादित सांग्रिला प्लाइ नेपालका सबैजसो जिल्लाका साथै पछिल्लो दुई वर्षदेखि भारत र चीनमा निर्यात हुँदै आएको थियो । ७ बिगाहा क्षेत्रफलमा फैलिएको उद्योग सानो कमजोरीले क्षणभरमै खरानी बनेको छ । आफैंमा ठूलो उद्योग र त्यहाँ रहेका ज्वलनशील पदार्थ, प्लाइ, काठजन्य वस्तु, मेसिन तथा औजारहरूका कारण सल्किएको आगो निभाउन नसक्दा अकल्पनीय क्षति भएको उद्योग सञ्चालक जितेन्द्र बस्नेतले बताउनुभयो । आगलागीका कारण उद्योगीले करोडौंको कारोबार गर्ने र राज्यलाई कर तिर्ने आधार गुमाएका छन् भने प्रत्यक्ष रूपमा ७ सय जनाले रोजगारी पनि गुमाएका छन् । उद्योग आसपास रहेका दुई वटा घर र एउटा गोठमा सामान्य क्षति पुगेको छ ।
बस्तीमा क्षति हुन बचायौं: प्रजिअ कृष्णप्रसाद लम्साल

आगलागी भएको थाहा पाएलगत्तै म घटना स्थल पुगेको थिएँ । आगोले पूरा स्वरूप लिइसकेको थियो । उद्योग ठूलो क्षेत्रफलमा फैलिएका कारण सावधानीपूर्वक जिल्लामा रहेका साधन स्रोतको प्रयोग गरेर आगो निभाउने प्रयास गरियो । तत्काल छिमेकी जिल्लाबाट बाँकी दमकल मगाएर नियन्त्रणको प्रयास थाल्यौं । आगो लाग्नासाथ पहिलो कुरा त आगलागी कसरी नियन्त्रणमा लिने भन्नेमै हामी केन्द्रित भयौं । त्यसपछि आसपासका बस्ती, जोखिम क्षेत्र पहिचान गरेर सुरक्षित स्थानमा सार्ने काम भयो । बस्तीमा क्षति हुन बचायौं ।

विपदलाई एकआपसमा मिलेर सामना गर्नुपर्छ भन्ने भावनाका कारण थप क्षति हुन पाएन । विपद पूर्वतयारीका कारण पनि आगलागी नियन्त्रणको प्रयासले केही हदसम्म सफलता पाएको छ तर, जे भए पनि यो निकै ठूलो क्षति हो । यसले म निकै दुखी भएको छु । उत्पादनमूलक उद्योगमा भएको यो क्षतिले धेरै ठाउँमा असर गर्छ । नेपाल समाचारपत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख १८, शुक्रबार
वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व
२०८३ बैसाख १८, शुक्रबार
आज शुक्रबार, कस्तो छ तपाँइको राशिफल ? हेर्नुहोस्
२०८३ बैसाख १८, शुक्रबार
अमेरिकी विशेष दूत सेर्गियो गोर काठमाडौंमा
२०८३ बैसाख १७, बिहिबार
पेट्रोलको मूल्य घट्यो, ग्यासको मूल्य १५० रुपियाँले बृद्धि
२०८३ बैसाख १७, बिहिबार
कांग्रेस नेता कोइरालाद्वारा बागमती प्रदेशका नेतासँग छलफल
२०८३ बैसाख १७, बिहिबार
बुद्धको मार्गले दिगो शान्ति र समृद्धिको आधार बनाउँछ : राष्ट्रपति
२०८३ बैसाख १७, बिहिबार