काठमाण्डौंः देशव्यापी रूपमा गएको बाढीपहिरोका कारण मुलुकभर २२ ठाउँमा अझै राजमार्ग अवरुद्ध बनेको छ । बाढीपहिरोले सडक भत्काएका कारण नेपालको चीनतर्फको व्यापार नै ठप्प भएको छ । बाढीपहिरोले मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक बगाएपछि केरुङ हुँदै हुने व्यापार एक सातादेखि ठप्प बनेको हो । त्यस्तै, अरनिको राजमार्ग बन्द भएपछि तातोपानी नाकाबाट समेत एक महिनादेखि व्यापार बन्द छ ।
शनिबारसम्म देशभरका १ सय ८९ ठाउँमा राष्ट्रिय राजमार्ग प्रभावित भएको र धेरै ठाउँमा एकतर्फी रूपमा खुलाइएको सडक विभागले जनाएको छ । अवरुद्ध रहेका सडकमध्ये साँफेबगर–मार्तडी सडक, गल्छी–त्रिशूली, मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी र कालीगण्डकी करिडोर सबैभन्दा धेरै प्रभावित भएको विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए । उनले भने, ‘ती सडकका धेरै ठाउँमा अवरुद्ध भइरहेको छ ।’ अहिलेसम्म राजमार्गमा मनसुनका कारण २ अर्ब ६५ करोड रुपैयाँबराबरको क्षति भएको विभागले जनाएको छ । कतिपय ठाउँको भने अझै क्षतिको विवरण नआइसकेकाले अझ बढ्न सक्ने महानिर्देशक शर्माले जानकारी दिए ।
धेरै प्रभावितमध्येको एक साँफेबगर–मार्तडी सडकको बल्दे खण्ड, अम्कोटद्वारी खण्ड अवरुद्ध खुल्न अझै एक महिना लाग्ने विभागले जानकारी दिएको छ । त्यस क्षेत्रमा ठूलो पहिरो गएका कारण तत्काल थालनी गर्न नसकिने भएको हो । विभागका अनुसार छिटोमा २५ भदौसम्ममा सडक खोल्न सकिन्छ । बुढीगंगा नदीको वहाबले सडक कटान गरेको र ५ सय मिटर सडक क्षतिग्रस्त भएकाले अझै अवरुद्ध रहेको छ ।
कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको काभ्रेभिर र घोप्टेभिरमा पनि सडक अवरुद्ध छ । सडकमाथिबाट पहिरो आएका कारण सडक अवरुद्ध भएको हो । यस सडकको रुप्से र खहरे खोला रहेको स्थानमा स्ल्याब कल्भर्ट बगाएको, निर्माणाधीन पुलको जग पुरिएको र डाइभर्सन बगाएका कारण अवरुद्ध छ ।
१० भदौसम्ममा यो सडकको अवरोध खोलिने अनुमान गरिएको आयोजनका इन्जिनियर अश्विनीकुमार यादवले जानकारी दिए । करिडोरको बेनी–जोमसोम–कोरोला सडकको म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा सडकमाथिबाट पहिरो आएर बेलिब्रिज नदीले बगाएका कारण अझै अवरुद्ध भएको हो । त्यस क्षेत्रमा भएको क्षति पनि यकिन हुन सकेको छैन । नयाँ पत्रिकाबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया