असोज २७, २०८३ मंगलबार October 13, 2026

सडक छेउका टहरा भत्काउन दरवाङवासी अग्रसर

दरवाङ बजारको सडक विस्तार र कालोपत्र गर्नका लागि सञ्चालित योजना कार्यान्वयनमा स्थानीयवासीले संरचना भत्काएर सघाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

म्याग्दी, ९ चैतः मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त रुपमा घरको पेटी र टहरा भत्काउन थालेका छन् ।

गाउँपालिकाको केन्द्रसमेत रहेको दरवाङ बजारको सडक विस्तार र कालोपत्र गर्नका लागि सञ्चालित योजना कार्यान्वयनमा स्थानीयवासीले संरचना भत्काएर सघाएका हुन् । मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले सडक छेउमा रहेको पेटी र टहरा भत्काएर फराकिलो पार्नका लागि स्थानीयवासी आफै अग्रसर भएका बताउनुभयो ।

“वडा कार्यालयदेखि बिमतर्फ जाने साँघुरो सडकलाई छ मिटर फराकिलो पार्नका लागि घरधनीहरुले आफै संरचना भत्काएर सहयोग गर्नुभएको छ,” उहाँले भन्नुभयो “पक्की सडकको प्रतिक्षामा रहेका दरवाङवासी सडक फराकिलो पार्न आफै अग्रसर भएकाले निर्माण व्यवसायीलाई काम गर्न सजिलो भएको छ ।”

धौलागिरि टोलका ३६ र नयाँ बजार टोलका ३१ वटा घरको पेटी र टहरा भत्काउनका लागि नक्शाङ्कन भएको छ । धौलागिरि टोलका अध्यक्ष मेख पुनले बैठक मार्फतनै सडक फराकिलो पार्नका लागि मापदण्ड अनुसार आवश्यक पर्ने जग्गा दिने र संरचना भत्काउने निर्णय गरिएको बताउनुभयो ।

धेरै ठाउँमा सडक विस्तारका लागि प्रभावित क्षेत्रका बासिन्दाले घरटहरा भत्काउन नमानेर विवाद हुने गरेको अवस्थामा दरवाङका बासिन्दाले सकारात्मक सन्देश दिएका छन् । नयाँबजार टोलका अध्यक्ष मिराज गौतमले घरधनीहरुको सहमतिमा कम क्षति हुने गरेर संरचना भत्काउने सहमति भएको बताउनुभयो ।

यसअघि गत वर्ष हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलङ्गे पुलतर्फ सडकको दायाँबायाँ पर्ने संरचना हटाएर करिब चार सय मिटर लामो नाली निर्माण भएको थियो । यस वर्ष सङ्घीय सरकारको समपुरक योजनामार्फत दरवाङ बजारको सडक कालोपत्र गरेर पक्की बनाउन योजना निर्माण सुरु भएको छ ।

रु. एक करोड ६६ लाख ४९ हजार ७३२ लागत अनुमान गरिएको योजना निर्माणका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा रु एक करोड २६ लाख ८२ हजार ८८८ कबोलेको सापकोटा बिल्डर्स छनोट भएको छ ।

विसं २०८२ माघ ३० गते ठेक्का सम्झौता भएको योजना आगामी २०८३ असार १५ गते सम्पन्न गर्ने लक्ष्य रहेको मालिका गाउँपालिकाका पूर्वाधार शाखाका प्रमुख दीपक सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार यस योजनामार्फत दरवाङको तल्लो उल्लो बजार क्षेत्रमा एक किलोमिटर ४०० मिटर कालोपत्र गरिने भएको छ ।

सडक विस्तार र कालोपत्र भएपछि सवारीसाधन आवतजावत सहज हुने स्थानीयवासीको अपेक्षा छ । तीव्र रुपमा बस्ती विकास भएको दरवाङ बजारको भित्री सडक साँघुरा हुँदा सवारीसाधन आवतजावत असहज हुनुका साथै दुर्घटनाको जोखिम छ । तीन सय बढी घर रहेको दरवाङ बजारको जनप्रिय मावि रहेको टोलमा दुई वर्षअघि गण्डकी प्रदेश सरकारमार्फत कालोपत्र भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु सिवाकोटीको अग्रता कायमै
२०८३ असोज २७, मंगलबार
कर्णाली प्रदेश स्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु
२०८३ असोज २७, मंगलबार
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
२०८३ असोज २७, मंगलबार
कांग्रेस पदाधिकारीमा विशेष महाधिवेशन पक्षधरकै वर्चस्व
२०८३ असोज २७, मंगलबार
बीपी प्रतिष्ठान धरानमा स्वचालित ल्याब रिपोर्ट प्रिन्टिङ मेसिन सञ्चालन, बिरामीलाई सहज सेवा
२०८३ असोज २६, सोमबार
नवरात्रमा पशुपति क्षेत्रका नौ महाशक्ति पीठमा विशेष पूजा
२०८३ असोज २६, सोमबार
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
२०८३ असोज २६, सोमबार