मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

अमेरिका-इरान वार्ता अन्योलमा

स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा ल्याउने सहमति उल्लङ्घन गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इस्लामाबाद, चैत २७ गते । अमेरिका र इरानबिच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु नहुँदै अनिश्चिततामा फसेपछि युद्धविरामको भविष्यप्रति नयाँ चिन्ता थपेको छ । वार्ताकारको आगमनबारे कुनै स्पष्ट घोषणा नभएको अवस्थामा दुवै पक्षले एकअर्कामाथि आरोप लगाउँदै परिस्थितिलाई थप जटिल बनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले रणनीतिक महत्व बोकेको स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा ल्याउने सहमति उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ । उता, तेहरानले भने लेबनानमा भइरहेको इजरायली आक्रमणप्रति तीव्र असन्तुष्टि जनाउँदै त्यसलाई पनि युद्धविराम सम्झौताभित्र पर्ने विषय भएको दाबी गरेको छ, जसलाई वासिङ्टनले अस्वीकार गर्दै आएको छ ।

यी तनावका बाबजुद पाकिस्तानले वार्ताको तयारीलाई अघि बढाइरहेको छ । आधिकारिक स्रोतका अनुसार प्रस्तावित छलफलमा इरानको आणविक कार्यक्रम, क्षेत्रीय सुरक्षा र जलडमरूमध्यमार्फत हुने अन्तर्राष्ट्रिय व्यापारको स्वतन्त्र प्रवाहजस्ता संवेदनशील विषय समेटिने अपेक्षा गरिएको थियो । तर इरानले आफ्नो सहभागिता सः शर्त बनाएको सङ्केत दिएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले लेबनानमा इजरायली आक्रमण नरोकिए वार्ता निरर्थक हुने चेतावनी दिनुभयो । उहाँले अमेरिका आफ्ना युद्धविराम सम्बन्धी प्रतिबद्धता विशेष गरी लेबनानको सन्दर्भमा कार्यान्वयन गर्न तयार हुनुपर्ने बताउनुभयो । इरानी अधिकारीले इजरायली आक्रमण जारी रहेसम्म इस्लामाबादमा हुने वार्तालाई ‘अर्थहीन’ ठहर गरेका छन् ।

यद्यपि, इरानको रिभोलुसनरी गाड्र्सले आफू युद्धविरामप्रति प्रतिबद्ध रहेको र कुनै पनि देशमा द्वन्द्व सुरु नगरेको दाबी गरेको छ । यसले औपचारिक भनाइ र व्यवहारबिचको दूरीलाई उजागर गरेको छ । सामाजिक सञ्जालमार्फत व्यक्त विचार पनि तनाव बढाउने खालका देखिएका छन् । ट्रम्पले इरानले होर्मुज जलडमरूमध्य हुँदै तेल ढुवानीमा अवरोध सिर्जना गरेर ‘धेरै खराब काम’ गरेको आरोप लगाउँदै युद्धविराम उल्लङ्घन भएको बताउनुभयो ।

विश्वको करिब पाँचौँ भाग तेल र ठूलो परिमाणमा ग्यास तथा मल यही मार्गबाट प्रवाह भएकाले यसको प्रभाव विश्व अर्थतन्त्रमा प्रत्यक्ष पर्ने गर्दछ । युद्धविराम घोषणा भएयता त्यहाँबाट सीमित मात्रामा जहाज आवतजावत भएको जनाइएको छ । दुई हप्ते युद्धविराममार्फत हजारौँको ज्यान लिएको द्वन्द्व अन्त्य गर्दै वार्ताको ढोका खोल्ने प्रयास गरिएको थियो । तर वर्तमान अन्योलले फेरि हिंसा चर्किने डर बढाएको छ । तेहरानकी एक स्थानीय बासिन्दाले आफू युद्ध पुनः सुरु हुने र वर्तमान शासन दुवैबाट त्रसित रहेको प्रतिक्रिया दिएकी छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार