मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

पाकिस्तानमा अमेरिकासँगको वार्तामा भाग नलिने इरानको योजना

वार्ताको प्रमुख मुद्दामध्ये एक इरानको उच्च समृद्ध युरेनियम भण्डार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन, ७ वैशाख । मध्यपूर्वमा जारी तनाव र युद्धविरामको समयसीमा नजिकिँदै गर्दा इरानले हाल संयुक्त राज्य अमेरिकासँगको वार्तामा भाग लिने कुनै योजना नभएको स्पष्ट पारेको छ । यो घोषणा यस्तो समयमा आएको छ जतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना वार्ताकारहरूलाई सोमबार पाकिस्तान जान निर्देशन दिनुभएको छ र कूटनीतिक प्रयास तीव्र पारिएको छ ।

इरानी राज्य सञ्चारमाध्यमका अनुसार वर्तमान परिस्थितिमा अमेरिका–इरान वार्ताको अर्को चरणमा सहभागी हुने कुनै तयारी छैन । इरानका अनुसार अमेरिकी नौसैनिक नाकाबन्दी र हालैका घटनाहरूले वार्ताको वातावरणलाई नकारात्मक बनाएको छ ।

तनाव थप चर्किने क्रममा आइतबार एक अमेरिकी नौसेनाको युद्धपोतले इरानी झण्डा बोकेको एक मालवाहक जहाजमाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको अमेरिकी पक्षले जनाएको छ । राष्ट्रपति ट्रम्पले उक्त जहाजले अमेरिकी नौसैनिक अवरोध पार गर्न खोजेको आरोप लगाउँदै जहाज कब्जा गरिएको बताउनुभयो । उहाँका अनुसार अहिले अमेरिकी मरीनहरूले उक्त जहाज नियन्त्रणमा लिएका छन् ।

यस घटनापछि इरानले अमेरिकी सैन्य जहाजहरूतर्फ ड्रोन पठाएको दाबी गरिएको छ । इरानी समाचार एजेन्सी तस्नीमका अनुसार यो कदम अमेरिकी कारबाहीको प्रतिवादस्वरूप गरिएको हो । साथै, इरानले बदला लिने चेतावनीसमेत दिएको छ ।

इरानी राज्य प्रसारणकर्ता आइआरआइबीले सरकारी स्रोत उद्धृत गर्दै हालका अवस्थामा वार्तामा सहभागी हुने कुनै योजना नभएको जनाएको छ । फार्स र तस्नीम समाचार एजेन्सीहरूले समेत अमेरिकी नाकाबन्दी हटाउनु नै वार्ताका लागि पूर्वशर्त भएको उल्लेख गरेका छन् । उनीहरूका अनुसार वर्तमान वातावरण ‘वार्ताका लागि अनुकूल छैन’ ।

इरानको आधिकारिक समाचार संस्था आइआरएनएले पनि अमेरिकी नाकाबन्दी र ‘अनुचित तथा अवास्तविक मागहरू’ का कारण फलदायी वार्ताको सम्भावना कमजोर रहेको जनाएको छ ।

यो तनाव फेब्रुअरी २८ मा इरानमाथि भएको अमेरिकी–इजरायली आक्रमणपछि सुरु भएको द्वन्द्वसँग जोडिएको छ, जसले मध्यपूर्वमा ठूलो स्तरको युद्ध रोकिएको भए पनि अस्थिरता कायम राखेको छ । हाल लागू दुई हप्ते युद्धविरामको समयसीमा समाप्त हुन केही दिन मात्र बाँकी छ ।

यसबीच, इरान र अमेरिका बीचको पछिल्लो वार्ता अप्रिल ११ मा इस्लामाबादमा भएको थियो, जुन २१ घण्टा लामो भए पनि कुनै निष्कर्षमा पुग्न सकेको थिएन । यद्यपि, त्यसपछि नयाँ संवादका लागि आधार तयार पार्ने प्रयासहरू जारी रहेका छन् ।

राष्ट्रपति ट्रम्पले वार्ताबारे आशावादी देखिँदै इरानलाई ‘न्यायसङ्गत सम्झौता’ स्वीकार गर्न आग्रह गर्नुभएको छ । उहाँले सम्झौता नभए इरानको पूर्वाधारमाथि थप दबाब दिने चेतावनी दोहोर्‍याउनुभएको छ ।

तनाव थप गहिरिँदै जाँदा महत्त्वपूर्ण जलमार्ग होर्मुजको स्ट्रेट पनि विवादको केन्द्र बनेको छ । इरानले युद्धको सुरुमा यस मार्ग आंशिक रूपमा बन्द गरेको थियो भने पछि केही समयका लागि खोलिएको भए पनि अमेरिकी नाकाबन्दी जारी रहेपछि पुनः बन्द गरिएको थियो ।

यो जलमार्ग विश्वको करिब पाँचौँ हिस्सा तेल र प्राकृतिक ग्यास ढुवानी हुने प्रमुख मार्ग हो । यसको अवरोधले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति र विश्व अर्थतन्त्रमा असर परेको बताइएको छ ।

अमेरिकी पक्षले इरानी तेल राजस्व घटाउने उद्देश्यले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी लागू गरेको छ । आइतबार भएको घटनामा राष्ट्रपति ट्रम्पले अमेरिकी नौसेनाले चेतावनीपछि इरानी जहाजलाई नियन्त्रणमा लिएको दाबी गर्नुभयो ।

इरानले भने यसलाई ‘समुद्री डकैती’ भन्दै कडा प्रतिक्रिया जनाएको छ । इस्लामिक रिभोलुसनरी गार्ड्सले बिना अनुमति जलमार्ग पार गर्ने कुनै पनि जहाजलाई लक्षित गरिने चेतावनी दिएको छ ।

यसैबीच, पाकिस्तानमा हुने भनिएको वार्तालाई लिएर इस्लामाबादमा उच्च सुरक्षा व्यवस्था मिलाइएको छ । सडक बन्द, ट्राफिक नियन्त्रण र सुरक्षा निगरानी कडा पारिएको छ ।

वार्तामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्ने बताइएको छ भने मध्यपूर्वका दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुसनर पनि सहभागी हुने अपेक्षा गरिएको छ ।

वार्ताको प्रमुख मुद्दामध्ये एक इरानको उच्च समृद्ध युरेनियम भण्डार रहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले केही युरेनियम हस्तान्तरण गर्न सहमति जनाएको दाबी गर्नुभएको छ, तर इरानी विदेश मन्त्रालयले भने यस्तो कुनै सहमति नभएको स्पष्ट पारेको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार