काठमाडौँ, वैशाख १४ गते । साउनदेखि चैतसम्म मोबाइल आयातका लागि नेपालबाट करिब ३४ अर्ब रुपियाँ बाहिरिएको छ । यो रकम पछिल्लो एक दशकमै सर्वाधिक बढी हो ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनासम्मको तथ्याङ्क अनुसार नेपालले यो अवधिमा ३३ अर्ब ८२ करोड रुपियाँको स्मार्टफोन आयात गरेको छ । यसबाहेक ७२ करोड २२ लाख रुपियाँको अन्य प्रकृति (बार तथा फिचर फोन) का मोबाइल आयात भएको भन्सारको तथ्याङ्क छ । गत आर्थिक वर्षभर ३५ अर्ब ५४ करोड रुपियाँको स्मार्टफोन आयात भएको थियो । चालु वर्ष पूरा हुन तीन महिना बाँकी रहेको र भन्सारमा सरकारले कडाइ गरेका कारण यस वर्ष स्मार्टफोनको आयात गत आवभन्दा स्वाभाविक बढी हुने व्यवसायीहरूको भनाइ छ ।
नेपालमा आइफोनको आधिकारिक बिक्रेता रहेको जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालिका कार्यकारी निर्देशक पवन भिमसरियाले मोबाइलको वैध आयात बढेकाले पनि पछिल्ला वर्षहरूमा यसको आयात बढेको पाइएको बताउनुभयो । ‘मोबाइलको गे्र मार्केट (अवैध बजार) माथि सरकारले कडाइ गरेकाले पनि वैध रूपमा हुने आयात बढिरहेको हो’ उहाँले भन्नुभयो । यसबाहेक अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ बढ्दा त्यसले मोबाइल आयातबापत बाहिरिने रकम बढेको उहाँले जानकारी दिनुभयो । “हामीले सिङ्गापुरबाट मोबाइल खरिद गर्दा डलरमै किन्नु पर्छ,” उहाँले भन्नुभयो, “डलरको भाउ बढिरहेकाले आयातकर्ता मुलुकले बढी रकम तिर्नुपर्ने हुन्छ ।”
विगत एक दशकको मोबाइल आयातको प्रवृत्ति विश्लेषण गर्दा आयातबापत बाहिरिने रकममा भने उतारचढाव देखिन्छ । आर्थिक वर्ष २०७२/७३ मा करिब १४ अर्ब रुपियाँको मोबाइल आयात भएकोमा त्यसलगत्तै आव २०७३/७४ मा २२ अर्ब ६६ करोड रुपियाँको आयात भएको थियो । आव २०७५/७६ बाट घट्न सुरु गरेको मोबाइल आयात त्यसको पाँच वर्षपछि भने पुरानो लयमा आएको थियो । त्यसयता मोबाइलको आयात निरन्तर बढ्दो छ ।
यसबिचमा सरकारले मोबाइलको वैध आयात बढाउने भन्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयन गर्ने योजना अघि सारे पनि उक्त परियोजना आर्थिक अनियमितताका कारण विवादित बन्यो । यसबाहेक व्यक्तिगत यात्रुका लागि पनि मोबाइल ल्याउने सीमा तोकिएका कारण वैध रूपमा आउने मोबाइलको सङ्ख्या बढेको सरकारको दाबी छ ।
नेपालमा मोबाइलको आयात बढ्नुमा प्रयोगकर्ताको बदलिएको स्वभाव र रुचि पनि एउटा महत्वपूर्ण कारण रहेको बताउनुहुन्छ नेपालमा साओमी (एमआई) मोबाइलको आधिकारिक बिक्रेता वत्सल इम्पेक्स प्रालिका बजार प्रमुख पारस सिलवाल । खास गरी युवा पुस्तामा डिजिटल कन्टेन्ट बनाउने र नयाँ मोडलका मोबाइलमा अपगे्रड भइरहने बानीले पनि मोबाइल आयात बढाउन सहयोग पुगेको उहाँको भनाइ छ । “अहिले धेरै मोबाइल प्रयोगकर्ता नयाँ मोबाइलबारेमा पर्याप्त जानकारी लिने र त्यसलाई अधिकतम प्रयोग गर्ने किसिमको हुनुहुन्छ,” उहाँले भन्नुभयो, “यसबाहेक मोबाइल खरिदमा शून्य ब्याजदरमा किस्ताबन्दीलगायत सुविधाले पनि मोबाइलको व्यापार बढाउन सहयोग पुगेको छ ।” नेपालमा बढ्दो मोबाइल प्रयोगका कारण निर्यातकर्ता मुलुकले पनि यहाँको बजारमा थप रुचि देखाउन थालेको उहाँको अनुभव छ । बजारमा सस्तो मूल्यमै उत्कृष्ट फिचरसहितका मोबाइल उपलब्ध हुन थालेपछि यसको माग बढेको उहाँको धारणा छ ।
मोबाइल निर्माताहरूले विश्वभर नै वारेन्टीलगायत सुविधा समान गरेकाले पनि जुनसुकै बजारमा खरिद गरे पनि फरक नपर्ने भएकाले स्थानीय बजारबाट बिक्री बढेको आइफोनका आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्टका भीम सरियाले बताउनुभयो । आइफोनले विश्वका धेरै देशमा एक वर्षको वारेन्टी उपलब्ध गराएकामा नेपालमा भने दुई वर्षको वारेन्टी रहेकाले नेपालभित्र खरिद बढेको उहाँको भनाइ छ । “नेपालको गे्र मार्केट देखेर उनीहरूले दुई वर्ष वारेन्टी उपलब्ध गराएका छन् । यसले आइफोनको आयातलाई वैध बनाएको छ ।” यद्यपि नेपालमा अझै पनि अवैध रूपमा मोबाइल भने आइरहेको उहाँ बताउनुहुन्छ ।गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया