बैसाख २४, २०८३ बिहिबार May 7, 2026

पश्चिम बङ्गालमा चुनावी हिंसा, भाजपाका सहयोगीको हत्या

१० करोडभन्दा बढी जनसङ्ख्या रहेको पश्चिम बङ्गालमा भाजपाले पहिलो पटक स्पष्ट बहुमतसहित सरकार गठन गर्ने अवस्थामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोलकाता, २४ वैशाख (रासस/एएफपी) : भारतको पश्चिम बङ्गालमा सत्ता परिवर्तनपछि बढ्दो राजनीतिक तनावबीच सत्तारूढ बन्न लागेको भारतीय जनता पार्टी (भाजपा) का एक प्रभावशाली राजनीतिक सहयोगीको गोली हानी हत्या गरिएको छ । मोटरसाइकलमा आएका बन्दुकधारीहरूले बुधबार राति कोलकातामा ४१ वर्षीय चन्द्रनाथ रथमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । घटनापछि राज्यको राजनीतिक वातावरण थप तनावग्रस्त बनेको छ ।

प्रहरीका अनुसार रथ पश्चिम बङ्गाल भाजपाका प्रमुख तथा सम्भावित मुख्यमन्त्री सुभेन्दु अधिकारीका निकट सहयोगी थिए । कोलकातास्थित आफ्नै घर नजिकै उनीमाथि योजनाबद्ध आक्रमण गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रत्यक्षदर्शी र प्रहरी विवरणअनुसार मोटरसाइकलमा आएका आक्रमणकारीहरूले रथ सवार कारलाई रोकेर नजिकैबाट लगातार गोली चलाएका थिए ।

राज्य प्रहरी प्रमुख सिद्धनाथ गुप्ताले बुधबार राति करिब ११ बजे घटना भएको जानकारी दिनुभयो । उहाँका अनुसार घटनामा प्रयोग गरिएका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ, तर त्यसमा नक्कली दर्ता नम्बर प्रयोग गरिएको पाइएको छ । प्रहरीले आक्रमणकारीको खोजी तीव्र बनाएको जनाएको छ ।

प्रहरी अनुसन्धानअनुसार आक्रमणकारीहरूले रथमाथि करिब एक दर्जन गोली प्रहार गरेका थिए । अधिकांश गोली छाती र मुटुको भागमा लागेको बताइएको छ । उनलाई तत्काल अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

अपोलो अस्पतालका चिकित्सक प्रीतम सेनगुप्ताले रथलाई अस्पताल ल्याउँदा शरीरमा धेरै गोली लागेको र अवस्था गम्भीर भइसकेको बताउनुभयो । उहाँका अनुसार रथको मृत्यु अस्पताल ल्याउनुअघि नै भइसकेको थियो ।

यस घटनापछि पश्चिम बङ्गालमा चुनावपछिको हिंसा र राजनीतिक प्रतिशोधको बहस चर्किएको छ । राज्य विधानसभामा विपक्षी दलका नेता सुभेन्दु अधिकारीले घटनालाई ‘ठण्डा दिमागले गरिएको योजनाबद्ध हत्या’ को संज्ञा दिनुभयो । उहाँले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्नुभयो ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भाजपाले हालै सम्पन्न पश्चिम बङ्गाल विधानसभा निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरेको थियो । सोमबार सार्वजनिक परिणामअनुसार २९४ सदस्यीय विधानसभामध्ये भाजपा एक्लैले २०७ सिट जित्न सफल भएको हो । १० करोडभन्दा बढी जनसङ्ख्या रहेको पश्चिम बङ्गालमा भाजपाले पहिलो पटक स्पष्ट बहुमतसहित सरकार गठन गर्ने अवस्थामा पुगेको छ ।

विश्लेषकहरूले यसलाई हिन्दी भाषी उत्तर र मध्य भारतबाहिर भाजपाको सबैभन्दा ठूलो राजनीतिक विस्तारका रूपमा व्याख्या गरेका छन् । सन् २०१४ मा मोदी पहिलोपटक प्रधानमन्त्री बनेपछि पश्चिम बङ्गालजस्तो राजनीतिक रूपमा संवेदनशील राज्यमा प्राप्त यो विजयलाई भाजपाका लागि रणनीतिक उपलब्धि मानिएको छ ।

पश्चिम बङ्गालमा सन् २०११ देखि ममता बनर्जी नेतृत्वको अखिल भारतीय तृणमूल काङ्ग्रेस (टीएमसी) सत्तामा थियो । मोदीकी प्रमुख आलोचक मानिएकी बनर्जी यसपटक आफ्नै निर्वाचन क्षेत्रमा पराजित हुनुभएको छ । उहाँले निर्वाचन परिणाम स्वीकार गर्न अस्वीकार गर्दै विभिन्न अनियमितताबारे प्रश्न उठाउँदै आउनुभएको छ ।

चुनावी परिणाम सार्वजनिक भएयता राज्यभर राजनीतिक झडप र हिंसाका घटना बढिरहेका छन् । बुधबारसम्म चुनावपछिको हिंसामा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा पाँच पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भाजपाले रथको हत्या राजनीतिक प्रतिशोधको हिस्सा भएको आरोप लगाएको छ । पश्चिम बङ्गाल भाजपाका अध्यक्ष समिक भट्टाचार्यले यो ‘पूर्वनियोजित हत्या’ भएको दाबी गर्दै तृणमूल काङ्ग्रेसलाई दोष दिनुभयो । उहाँले टीएमसीकै कार्यकर्ताहरूले हमला गराएको आरोप लगाउँदै राज्यमा भय र हिंसाको राजनीति चलाइएको टिप्पणी गर्नुभयो ।

यता तृणमूल काङ्ग्रेसले भने घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । पार्टीले विज्ञप्ति जारी गर्दै चन्द्रनाथ रथको हत्या निन्दनीय भएको जनाएको छ । साथै टीएमसीका कार्यकर्तामाथि पनि भाजपासमर्थित समूहबाट आक्रमण भइरहेको आरोप लगाएको छ ।

राजनीतिक तनावका बीच भाजपाले शनिबार आफ्नो संसदीय दलको बैठकपछि नयाँ मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम आयोजना गर्ने जनाएको छ । राज्यमा नयाँ सरकार गठनको तयारी भइरहेका बेला भएको यो हत्या घटनाले पश्चिम बङ्गालको राजनीतिक भविष्य थप अस्थिर बन्न सक्ने सङ्केत दिएको विश्लेषकहरूले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया