पर्वत, २ जेठः परम्परागत नेपाली जीवन शैलीसँग गहिरो सम्बन्ध रहेका काठबाट निर्मित ठेकी, पाथी, माना, ढुङ्ग्रो तथा मोही पार्ने घुर्रोजस्ता हस्तकला सामग्री संरक्षणका लागि पर्वतको कुश्मा नगरपालिका–३ मा सामुदायिक सूचना केन्द्र सञ्चालन गरिएको छ ।
ग्रामीण दैनिकीका अभिन्न अङ्ग मानिने यस्ता सामग्री आधुनिक प्रविधिसँगै प्लास्टिक, स्टिल र सिल्भरका भाँडाको प्रयोग बढेपछि विस्तारै हराउँदै गएपछि संरक्षणका लागि केन्द्र सञ्चालन गरिएको हो । एक समय गाउँघरमा दूध दुहुने ढुङ्ग्रो, दही जमाउने ठेकी, अन्न भण्डारण गर्ने पाथी–माना तथा घिउ–मोही बनाउने काठका भाँडाबिनाको दैनिकी कल्पना गर्न कठिन थियो । तर समय परिवर्तनसँगै यस्ता सामग्रीको प्रयोग घट्दै गएको छ ।
कुश्मा–३ दुर्लुङका खेमबहादुर गुरुङले आफूले सानोमा प्रयोग गरेका बस्तु अहिले प्रयोगमै आउन छाडेको बताउनुभयो । ‘त्यसबेला प्लास्टिक वा स्टिलका भाँडा दुर्लभ थिए, त्यसैले काठका सामग्री नै मुख्य विकल्प हुन्थे,’ उहाँले भन्नुभयो । अहिले काठको अभाव, सिप हस्तान्तरण नहुनु र नयाँ पुस्ताको घट्दो चासोका कारण यो पेसा सङ्कटमा परेको उहाँको भनाइ छ ।
दैनिक जीवनसँग सम्बन्ध रहेका काठका सामानसँगै अन्य परम्परागत रूपमा हाम्रा पुर्खाले प्रयोग गर्दै आएका अन्य बस्तु पनि अहिले लोप हुँदै गएका छन् । पछिल्लो समय त्यस्ता बस्तु प्रयोग नगरेपछि भावी सन्ततीलाई ती सामग्रीको बारेमा ज्ञानको अभाव हुने भएको छ । पुराना बस्तुहरु संरक्षण गर्नेगरी सामुदायिक सूचना केन्द्र सञ्चालनमा ल्याइएपछि अबलोकन गर्न र खरिद गर्न आउनेको सङ्ख्या बढ्न थालेको छ ।
“सामुदायिक सूचना केन्द्र स्थापना गर्नु पुराना बस्तुको संरक्षण र भावी सन्ततीलाई जानकारी दिनु हो”, केन्द्रका संयोजक खेमबहादुर गुरुङले भन्नुभयो, “हाम्रा पुर्खाले प्रयोग गर्दै आएका पुराना बस्तु तथा परम्परा लोप हुने अवस्थामा छन् ।” पुर्खाले प्रयोग गरेका बस्तु अहिलेको पुस्तालाई देखाउदा अचम्म मान्ने दिन आइसकेको उहाँले बताउनुभयो । चनौटेमा पुराना लोप हुन लागेका बस्तुको संरक्षण गर्ने उद्देश्यले २०८० सालमा सामुदायिक सूचना केन्द्र स्थापना गरिएको हो ।
केन्द्रमा अहिले काठको लिस्नो, काठको चप्पल, लालटिन, ठेकी, मदानी, मादल, डोको, नाङ्लो, बाँबियोको कुचो, छालाको नारा, काठको मधुश, भकारी, मौरीघार, डाली, कोर्का, काठ चिर्ने पुराना आरा, झुल्के, वास्सा, काइयो, पानस, ढडिया, पुराना झ्यालढोका, कर्नाल, माटोका भाडा, घैटो, जातोलगायताका बस्तु संरक्षण गरिएको छ । अहिले पनि सामुदायिक सूचना केन्द्रमा त्यस्ता पुराना बस्तु सङ्कलन गर्नेक्रम जारी छ ।
बचनौटेमा २०४८ सालमा मिलन प्राथमिक विद्यालय स्थापना गरिएको थियो । विद्यार्थी सङ्ख्याको अभावले उक्त विद्यालय २०७१ सालमा काफलचौर माविमा समायोजन गरियो । खाली रहेको मिलन प्राथमिक विद्यालयको भवनमा चनौटे टोल विकास संस्थाको विधानअन्र्तगत कार्यविधि बनाएर सामुदायिक सूचना केन्द्र स्थापना गरिएको हो । दुर्लुङ्मा अहिले दुई वटा सक्रिय होमस्टे रहेको साथै क्यानोनिङ, दुर्लुङकोटलगायत गाउँमा आउने पाहुनालाई सूचना केन्द्रको अवलोकन गराएर त्यसक्षेत्रका साथै पुराना बस्तुको ज्ञान जगाउने सामुदायिक सूचना केन्द्रको लक्ष्य छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया