जेठ ३, २०८३ आइतबार May 17, 2026

एमालेमा नयाँ अन्तरसंघर्ष, नेतृत्व परिवर्तनको गृहकार्यमा शंकर–विष्णु

उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले कित्ता फेर्दा शक्ति सन्तुलत बदलिएको अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : गत मंसिर २७–२९ मा ११औं महाधिवेशनबाट केपी ओलीलाई तेस्रोपटक अध्यक्ष बनाएको नेकपा एमालेमा नयाँ अन्तरसंघर्षको संकेत देखिएको छ । त्यसले संस्थापन र इतर समूहबीच दूरी मात्र बढाएको छैन, सिंगो पार्टीपंक्तिमा उकुसमुकुस बढेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा नमिठो हार व्यहोरेको एमालेभित्र नेतृत्व परिवर्तनको मुद्दामा मोर्चाबन्दी सुरु भएको हो । २१ फागुनको चुनावबाट एमाले २५ सिटमा खुम्चिएको छ । निर्वाचन परिणामपछि एमालेभित्र नीति र नेतृत्व परिवर्तनको बहसको सुरु भएको हो । अध्यक्ष ओलीलाई हटाउन विगतमा उनकै विश्वासपात्रद्वय उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसहितका नेताहरू एकठाउँ उभिएका छन् ।

‘तत्काल पार्टीको बैठक बस्यो भने हामी ओलीलाई राजीनामा दिन खुला रूपमा भन्छौं,’ कार्यकर्तासँग उपाध्यक्ष विष्णु पौडेलले भन्ने गरेका छन् । दोस्रो पुस्ताका यी नेताहरू पार्टी हारको समीक्षासँगै नेतृत्व फेरेर जानुपर्ने निष्कर्षमा पुगिसकेका छन् । उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले ओलीलाई भेटेरै नेतृत्व हस्तान्तरणको विधि र प्रक्रिया सुझाउन आग्रह गरिसकेका छन् । अघिल्लो शनिबार गुन्डुमै पुगेर उनीहरूले ओलीलाई भेटेका थिए । उनीहरूको प्रस्तावमा ओलीले ठोस जवाफ त दिएनन्, तर एउटा अर्थपूर्ण टिप्पणी भने गरेका छन् । ‘ठिक छ, लाग्नुस् । तर पार्टीचाहिँ नफुटाउनुहोला,’ ओलीको भनाइ उृद्धत गर्दै एमाले स्रोतले भन्यो ।

गुन्डुमा पोखरेल र पौडेलले गरेको संयुक्त भेटमा मुलुकको समग्र राजनीतिक अवस्था, राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति र पार्टीभित्र युवाहरूबाट बढ्दो दबाबका सम्बन्धमा ओलीलाई ब्रिफिङसहित आफ्नो विचार खुलस्त पारेका थिए । सोही परिवेशलाई मध्यनजर गर्दै अध्यक्ष ओलीले पार्टी नेतृत्व छाड्ने वातावरण निर्माणको उपायका बारेमा समेत छलफल भएको एमालेका एक पदाधिकारीले बताए । ती पदाधिकारीले मध्यान्हसँग भने, ‘पार्टीका उपाध्यक्ष र महासचिवले अध्यक्ष ओलीलाई पार्टी नेतृत्व छाड्न सहज वातावरण बनाउने उपाय के–के हुन सक्छ भनेर छलफल गर्नुभएको छ । यद्यपि ओलीले त्यसलाई गम्भीरतासाथ नलिनुभएको संकेत बुझेका छौं ।’

पार्टी उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको पटक–पटकको आग्रहपछि ओलीले शनिबार सचिवालय बैठक बोलाएका छन् । निर्वाचनको नतिजा नआइसक्दै ओलीलाई पितृशोक प¥यो । लगत्तै जेनजी आन्दोलन दमन गरेको आरोपमा प्रहरीले पक्राउ ग¥यो । हिरासतमै रहेका बेला अस्पताल भर्ना भएका ओली पित्तथैली र हर्नियाको शल्यक्रिया गराएर गुन्डु फर्किए । संक्रमण भएपछि उनी दुई साता भेटघाट कम गरेर आराम गरेर बसे । १४ चैतमा ओली गुन्डुबाट पक्राउ परेपछि कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले एक सातासम्म लगातारजसो सचिवालय बैठक राखे पनि ओली्िबनाको बैठकमा आन्तरिक राजनीति र चुनावी नतिजाको समीक्षा हुन सकेको छैन ।

उपाध्यक्ष पौडेल र महासचिव पोखरेल दुवैजना अप्ठ्यारो अवस्थामा ओलीलाई साथ दिँदै आएका नेता हुन् । उनीहरू नै ओलीको विकल्पको पक्षमा उभिँदा एमालेको आन्तरिक समीकरण र अन्तरसंघर्षसमेत नयाँ मोडमा पुगेको देखिन्छ । तर, ओली नेतृत्व छाड्न तयार छैनन् । ओलीले नेताहरूलाई पार्टी नफुटाउनू भनेर दिएको सन्देशले पनि त्यही संकेत गरेको छ ।

जेनजी आन्दोलनको घटना छानबिनका लागि बनाइएको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भन्दै ओलीलाई प्रहरीले पक्राउ गरेपछि एमालेले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादललाई दिएको छ । कार्यवाहक अध्यक्षसँगै संसदीय दलको नेता पनि बादललाई नै दिइएको छ । बादलले संसद् र पार्टी भेलामा पटकपटक विवादित अभिव्यक्ति दिँदा पार्टीलाई थप क्षति पुगेको नेताहरूको निष्कर्ष छ । संसद्मा बादलले दिएको नेपाली सेनासम्बन्धी अभिव्यक्ति पार्टी बैठक बसेरै सच्याइएको थियो । चैत २५ गते एमालेको कास्की जिल्ला कमिटीले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बादलले संसदीय दलको नेताको हैसियतमा संसद्मा आफूले गरेको सम्बोधनले ‘पार्टीभित्र र बाहिरका दुस्मनहरू एक्स्पोज भएको’ भन्दै आक्रोश पोखेका थिए । उनले उपाध्यक्ष पौडेलप्रति कटाक्ष गरेका हुन् ।

बादललाई एकाएक ओलीपछिको वरीयता दिइएपछि उपाध्यक्ष पौडेल असन्तुष्ट छन् । माओवादी पृष्ठभूमिबाट आएका नेतालाई विश्वास पात्रका रूपमा ओलीले अवसर दिन थालेपछि पार्टीभित्र थप असहजता उत्पन्न भएको नेताहरूले बताएका छन् । पार्टीमा विष्णु पौडेल, शंकर पोखरेल, गोकर्ण विष्ट, रघुजी पन्त, योगेश भट्टराईलगायत नेताहरू अहिले नेतृत्व परिर्वनको पक्षमा उभिएका एमाले नेता कर्णबहादुर थापाले बताए । तर ओली पक्षका नेताहरूले त्यसलाई ठाडै अस्वीकार गर्दै आएका छन् ।

एमालेमा नेतृत्व फेर्नको लागि विशेष महाधिवेशनको माग गर्दै केही युवाले हस्ताक्षर अभियान नै चलाएका छन् । युवा नेता कमल जोशीका अनुसार हस्ताक्षर संकलन जारी छ । दुई हजार तीन सय महाधिवेशन प्रतिनिधिमध्ये करिब सात सय प्रतिनिधिले विशेष महाधिवेशन आह्वान गर्दै हस्ताक्षर गरेको जोशीले बताए ।

एमालेमा महाधिवेशनका बेला संस्थापन पक्षले वर्चस्व ७५ प्रतिशत थियो । उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले कित्ता फेर्दा शक्ति सन्तुलत बदलिएको अनुमान छ । यसले अध्यक्ष ओली पार्टी कमिटीमै अल्पमतमा पर्ने खतरा पनि छ । बदलिँदो राजनीतिक अवस्था र एमालेप्रति आमनागरिकको बढ्दो अविश्वासलाई विश्वासमा बदल्न नसक्दा पार्टीको नीति र नेतृत्व नै परिवर्तन गरेर जानुको विकल्प नभएको एमाले नेता कर्ण थापाले बताए । ‘समय, परिस्थिति, बदलिँदो राजनीतिक परिवेश, नयाँ पुस्ताको आह्वान र आमनागरिकले मतबाट दिएको सन्देशसमेतलाई बुझेर अध्यक्षले निर्वाचनलगत्तै विकल्प दिनुपथ्र्यो,’ थापाले भने, ‘तर अध्यक्षले आफू बाँचुन्जेल पार्टी ओगट्ने भन्ने खालको सोच राख्नु गलत हो ।’ पार्टीका पदाधिकारीहरूले समेत पछिल्लोपटक ओलीलाई नेतृत्व छाड्न दबाब दिएको उनले दाबी गरे । मध्यान्ह दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया