काठमाडौं । गठन भएको दुई महिना पूरा नहुँदै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको झण्डै दुईतिहाइ बहुमत प्राप्त सरकार विपक्षीको घेराबन्दीमा परेको छ । फागुन २१ गते भएको प्रतिनिधिसभाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झण्डै दुईतिहाइ (१८२) मत पाएको थियो । चुनावमा आएको अप्रत्याशित नतिजापछि रास्वपाले आफ्ना वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा अघि सारेको थियो । तर, प्रधानमन्त्री र रास्वपाकै सांसदहरूको कारण शक्तिशाली सरकार अनपेक्षित ढंगले घेराबन्दीमा परेको छ ।
सरकारले ‘हनिमुन पिरियड’ मनाउन नपाउँदै संसद्मै प्रधानमन्त्रीको राजीनामा माग भएको छ । विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहको राजीनामा माग गरेका हुन् । सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री संसद्मा उपस्थित नभएपछि विपक्षी सांसदहरूले राजीनामा माग गरेका हुन् । बुधबार नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची थियो । जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले सदन नै अवरोध गरेका हुन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित प्रतिनिधिसभामा प्रतिनिधित्व रहेका विपक्षी दलहरूले सदनमा प्रधानमन्त्रीको उपस्थितिलाई बटम लाइन बनाएका छन् । बुधबार विपक्षी दलहरूले लगातार प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् । विपक्षीको अवरोधपछि सभामुख डिपी अर्याल दुईपटक बैठक स्थगित गर्न बाध्य हुनुभयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई टेबुल गर्न दिए पनि त्यसमाथिको छलफल गर्न भने प्रधानमन्त्रीको उपस्थिति अनिवार्य भनेर विपक्षीले विरोध जारी राखे ।
प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई उपस्थितिका लागि रुलिङ गर्न सभामुखसँग माग गर्दै भन्नुभयो, ‘उहाँ (प्रधानमन्त्री) ले हस्तान्तरण गरेको नीति तथा कार्यक्रममा उहाँको उपस्थिति खोजेको हो । यसो भन्नु गल्ती हो र ? हामी फेरि पनि भनिरहेका छौँ, प्रधानमन्त्रीज्यू आउनुहोस्, संसद्लाई सौहार्दपूर्ण वातावरणमा अगाडि लैजाऔँ । यसले निकास प्राप्त गरोस् भन्ने हामी चाहन्छौँ । रुलिङ गर्नुपर्यो ।’
कांग्रेस उपसभापति शर्माको रविलाई प्रश्न- ‘के हुँदै छ मित्र यस्तो ?’
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको कार्यशैलीलाई लिएर प्रधानमन्त्री र रास्वपा सभापतिप्रति प्रश्न उठाउनुभएको छ । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शर्माले संसदीय पद्धतिको मर्यादा र नागरिकमा छरेको निराशाका बारेमा सजग गराउनुभएको हो । उपसभापति शर्माले सभापति रवि लामिछानेलाई मेन्सन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह ‘उहाँको समन्वयमा हुनुहुन्छ कि हुनुहुन्न ?’ भनी प्रश्न गर्नुभएको छ । सामाजिक सञ्जालमा उपसभापति शर्माले लेख्नुभएको छ, ‘के हुँदै छ मित्र यस्तो ? के यहाँको समन्वयमा हुनुहुन्छ प्रधानमन्त्री ? संसदीय पद्धति आफैँ सुन्दर बन्दैन, निर्भर हुन्छ हाम्रो व्यवहारमा ।’
प्रधानमन्त्रीलाई सबक सिकाउनु पर्नेछ : अर्याल
विपक्षी दल नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्प्रतिको जवाफदेही बनाउन आफूहरू विरोधमा उत्रिएको तर्क गर्नुभएको छ । प्रधानमन्त्री शाहले संसद्लाई बेवास्ता गरिरहेको टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले यो संसद्लाई जसरी बेवास्ता गरिरहनु भएको छ, जसरी संसद्प्रतिको उत्तरदायित्वलाई केही होइन भनिरहनु भएको छ । त्यसैले उहाँलाई सबक सिकाउनुपर्ने पनि छ । तपाईंको जिम्मेवारी के हो भनेर पढाउनुपर्ने पनि छ । त्यो हिसाबले हामीले बोलाएको हो । उहाँ देशभित्रै हुनुहुन्छ । काममै हुनुहुन्छ । त्यसैले सभामुखज्यूले यो संसद्बाट प्रधानमन्त्रीज्यूलाई बैठकमा सहभागी हुन रुलिङ गर्नुहोस् ।’ नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीले पटक-पटक संसद्को हुर्मत लिएको टिप्पणी गर्नुभयो ।
प्रधानमन्त्रीको आवाज सुन्न नपाउने हो ? : दुलाल
विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले गरिमामय संसद्मा प्रधानमन्त्रीको आवाज सुन्न पाउनुपर्ने बताउनुभएको छ । प्रमुख सचेतक दुलालले पाँच वर्ष हामी नियमावलीको दफा ३८ देखाएर सम्माननीय प्रधानमन्त्रीको एउटा पनि आवाज यो संसद्मा सुन्न नपाउने हो ? भनी प्रश्न गर्नुभएको हो । प्रमुख सचेतक दुलालले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्छ भन्ने संविधानको विषयको खिल्ली उडाइएको समेत टिप्पणी गर्नुभएको छ ।हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया