श्रावण २३, २०८३ शनिबार August 8, 2026

थप शक्तिशाली बने बालेन

गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई पुनः प्रधानमन्त्री कार्यालयमातहत लगेपछि सुरक्षाका चारवटै अंग प्रधानमन्त्री शाहसँग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : सुरक्षाका चारै अंग आफैंसँग राखेर प्रधानमन्त्री वालेन्द्र शाह थप शक्तिशाली बनेका छन् । रक्षा मन्त्रालय सुरुदेखि नै उनीसँगै छ । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालय पनि प्रधानमन्त्रीले आफैंसँग राखेका छन् ।

गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत लगेपछि सुरक्षाका चारवटै अंग प्रधानमन्त्री शाहसँग हुने भएको छ । रक्षाअन्तर्गत नेपाली सेना र गृह मन्त्रालय अन्तर्गत सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग छन् ।

गत बुधबारको मन्त्रिपरिषद् बैठकबाट कार्यविभाजन नियमावली २०८३ स्वीकृत गरिएको थियो । त्यसैमा राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्रीमातहत राखिएको छ । स्वीकृत नियमावलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कार्यक्षेत्र विस्तार गर्दै ४८ निकाय तथा कामका क्षेत्रलाई आफूमातहत राखेको छ ।

विवादास्पद व्यवसायीसँगको साझेदारी, सम्पत्तिको स्रोत र हदबन्दीभन्दा बढी जग्गाबारे प्रश्न उठेपछि गुरुङले राजीनामा गरेका थिए । गुरुङले सरकार छाडेको तीन साता भइसक्दा पनि प्रधानमन्त्री शाहले गृहमन्त्री नियुक्ति गरेका छैनन् । विवादमा तानिएर राजीनामा दिएका पूर्वगृहमन्त्री गुरुङमाथि छानबिन भने भएको छैन । त्यसबारे उनी आफैंले टिप्पणी गरेपछि बिहीबार पूर्वन्यायाधीशको नेतृत्वमा एक समिति गठन गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूले भने गुरुङलाई चोख्याएर मन्त्रीमा फर्काउन गृह मन्त्रालय नेतृत्वविहीन राखिएको टिप्पणी गरेका छन् ।

यसअघि नेकपाको झन्डै दुईतिहाइ बहुमतको सरकार हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ फागुन १६ गते राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत लगेका थिए । अनुसन्धानसँगै सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धान विभागलाई पनि आफूमातहत लगेर शक्ति केन्द्रित गरेपछि विपक्षी दलका नेता शेरबहादुर देउवा मात्र होइन, नेकपाकै नेताहरू पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले समेत विरोध गरेका थिए । तर, सर्वोच्चको परमादेशबाट ओली सत्ताच्युत भई देउवा प्रधानमन्त्री बने ।

२०७९को निर्वाचनबाट प्रचण्ड सत्तामा पुगे । तैपनि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत ल्याइएका राष्ट्रिय अनुसन्धान, राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग फर्काएनन् । गत भदौ २३–२४को जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले २०८२ असोज ९ गते ती निकायलाई सम्बद्ध मन्त्रालयमै फर्काएको थियो । राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय फर्काइयो भने सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभाग अर्थ मन्त्रालयमा फर्काइयो । निर्वाचनपछि झन्डै दुईतिहाइ बहुमतसहित सत्तारोहण गरेका प्रधानमन्त्री बालेनले राष्ट्रिय अनुसन्धान विभागलाई अहिले फेरि प्रधानमन्त्रीमातहत लगेका हुन् । मध्यान्ह दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘गोलमाल ५’ मा अक्षयकुमार भिलेनको रूपमा देखिने
२०८३ श्रावण २३, शनिबार
आइपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
२०८३ श्रावण २३, शनिबार
तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त
२०८३ श्रावण २३, शनिबार
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
२०८३ श्रावण २३, शनिबार
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
२०८३ श्रावण २३, शनिबार
माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य
२०८३ श्रावण २३, शनिबार
राष्ट्र बैङ्कद्वारा आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ श्रावण २३, शनिबार