काठमाडौँ, जेठ ५ गते । संयुक्त अरब इमिरेट्स (युएई) को एक मात्र परमाणु ऊर्जा केन्द्रमा ड्रोन आक्रमण भएपछि पश्चिम एसियामा तनाव थप चर्किएको छ । युएईका अधिकारीहरूले यसलाई आतङ्कवादी हमला भन्दै कडा निन्दा गरेका छन् । आक्रमणपछि आणविक केन्द्रको बाहिरी क्षेत्रमा आगलागी भएको थियो । यद्यपि कुनै मानवीय क्षति वा रेडियोधर्मी पदार्थ चुहावट नभएको अधिकारीहरूले बताएका छन् ।
यो घटना अमेरिका र इरान दुवैले पुनः युद्धका लागि तयार रहेको सङ्केत दिइरहेका बेला भएको हो । पछिल्ला दिनमा फारसको खाडी क्षेत्रमा तनाव तीव्र बन्दै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै सामाजिक सञ्जालमार्फत इरानका लागि समय सकिँदै गएको बताउनुभएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ । उहाँले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँग फोनवार्ता गरेपछि यस्तो प्रतिक्रिया दिनुभयो । इरानका सर्वोच्च नेताका सैन्य सल्लाहकार मोहसेन रेजाईले भन्नुभयो, “हाम्रा सशस्त्र बलहरू युद्धका लागि पूर्ण तयारी अवस्थामा छन् तर कूटनीतिक प्रयास पनि जारी छ ।”
युएई रक्षा मन्त्रालयका अनुसार, तीन वटा ड्रोन साउदी अरेबियाको सीमातर्फबाट युएई प्रवेश गरेका थिए । तीमध्ये दुई वटा ड्रोनलाई हवाई प्रतिरक्षा प्रणालीले बिचमै खसालेको थियो भने एउटा ड्रोनले युएईको बाराकाह आणविक ऊर्जा केन्द्र नजिक आगलागी गराएको बताइएको छ । बाराकाह आणविक ऊर्जा केन्द्रले युएईको कुल विद्युत् आवश्यकताको करिब एक चौथाइ ऊर्जा उत्पादन गर्ने गर्छ । त्यसैले यस केन्द्रमाथिको हमला अत्यन्त संवेदनशील मानिएको छ ।
युएईका कूटनीतिक सल्लाहकार अनवर गर्गासले सामाजिक सञ्जालमा लेख्दै ‘यो हमला प्रत्यक्ष रूपमा वा कुनै प्रतिनिधि समूहमार्फत गरिएको भए पनि अत्यन्त खतरनाक उक्साहट’ भएको बताउनुभयो । साउदी अरेबियाले पनि उक्त आक्रमणको निन्दा गर्दै आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका थप तीन वटा ड्रोन खसालिएको जनाएको छ । हालै इरान समर्थित सशस्त्र समूह तथा इराकस्थित सिया लडाकु समूहले खाडी क्षेत्रका विभिन्न देशमाथि ड्रोन आक्रमण गर्दै आएका छन् । यसैबिच हर्मुज जलमार्गमा अमेरिकी नौसैनिक नाकाबन्दीका कारण क्षेत्रीय तनाव झन् बढेको छ । विश्लेषकहरूका अनुसार युएईको आणविक संरचनामाथि भएको यो हमला पश्चिम एसियालाई फेरि ठुलो युद्धतर्फ धकेल्ने सङ्केत हुन सक्छ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया