नयाँदिल्ली, जेठ ७ गते । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोपपछि भारत र अफ्रिकी सङ्घले अर्को हप्ता नयाँ दिल्लीमा हुने तय भएको शिखर सम्मेलन स्थगित गरेका छन् । “महाद्वीपमा फैलिँदो अवस्थामा रहेको इबोला सङ्क्रमणको प्रकोपलाई ध्यानमा राख्दै दुवै पक्ष चौथो भारत-अफ्रिका शिखर सम्मेलनलाई स्थगित गर्न सहमत भएका छन्” भारतीय विदेश मन्त्रालयद्वारा दिइएको जानाकारीमा भनिएको छ ।
भारत-अफ्रिका मञ्च शिखर सम्मेलन मे २८ देखि ३१ सम्म नयाँ दिल्लीमा हुने तय भएको थियो । भारतले अफ्रिका सिडिसीको नेतृत्वमा विकसित स्वास्थ्य अवस्थालाई सम्बोधन गर्ने प्रयासमा योगदान दिन तयार रहेको बताएको छ । विश्व स्वास्थ्य सङ्गठनले बुधबार भनेको छ, “घातक इबोला प्रकोपको जोखिम मध्य अफ्रिकामा उच्च छ तर विश्वव्यापीरूपमा कम छ, यो भाइरस सम्भवतः महिनौँंदेखि फैलिरहेको छ ।”
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शुक्रबार सङ्क्रामक अत्यधिक रक्तस्रावी ज्वरो (इबोला)को प्रकोपको घोषणा गरिएको छ । अफ्रिकामा पछिल्लो आधा शताब्दीमा इबोलाका कारण १५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा १७ औँ पटकको इबोला प्रकोपबाट करिब छ सय जना सङ्क्रमित भएको र १३९ जनाको मृत्यु भएको आशङ्का गरिएको छ ।
दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलले बिहीबार प्रजातान्त्रिक गणतन्त्र कङ्गो, छिमेकी युगान्डा र दक्षिण सुडानबाट भारत आउने यात्रुका लागि स्वास्थ्य परामर्श सेवा लिन सूचना जारी गरेको छ । नयाँदिल्लीले ‘महाद्वीपमा सार्वजनिक स्वास्थ्य तयारी र प्रतिक्रिया क्षमतालाई सुदृढ पार्न निरन्तर सहयोगको महत्त्व’ मा जोड दिएको छ, शिखर सम्मेलनको लागि नयाँ मिति पछि तय गरिने बताइएको छ । रासस/एएफपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया