बुनिया (कङ्गो), जेठ १२ गते । कङ्गोको पूर्वी भागमा ‘इबोला’ भाइरसको प्रकोप तीव्र बन्दै गएको छ । संक्रमितको संख्या झण्डै एक हजार नजिक पुगे पनि रोग नियन्त्रणका प्रयास स्थानीय विरोध र आक्रमणका कारण प्रभावित भइरहेका छन् ।
स्वयंसेवी स्वास्थ्यकर्मीले जनचेतना फैलाउने क्रममा स्थानीय बासिन्दाबाट ढुंगा हान्ने, गालीगलौज गर्ने जस्ता व्यवहार सामना गर्नुपरेको छ । कतिपय मानिस रोगप्रति शंका व्यक्त गर्दै स्वास्थ्यकर्मीमाथि अविश्वास देखाइरहेका छन् । स्वास्थ्य केन्द्र र उपचार शिविरमाथि आक्रमण र आगजनीका घटना पनि भएका छन् ।
केही स्थानमा संदिग्ध बिरामी राखिएका केन्द्र जलाइएको छ भने कतिपय ठाउँमा अस्पतालबाट बिरामी भाग्न बाध्य भएका छन् । विशेषज्ञका अनुसार स्थानीय समुदायमा डर, भ्रम र अविश्वास बढेकाले रोग नियन्त्रण झनै कठिन बनेको छ । साथै सुरक्षा चुनौती र मानवीय द्वन्द्वले पनि स्वास्थ्य अभियानलाई असर पारेको छ ।
यस प्रकोपमा देखिएको इबोला प्रकार दुर्लभ मानिन्छ र यसका लागि प्रभावकारी खोप वा उपचार सीमित रहेको बताइएको छ । स्वास्थ्यकर्मी भने जोखिमका बाबजुद पनि सङ्क्रमण रोकथाम र जनचेतना फैलाउने प्रयास जारी राखिरहेका छन् । रासस/एपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया