मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

पपुवामा रहस्यमय विस्फोट, पाँचको मृत्यु

इन्डोनेसियामा विस्फोटसँग सम्बन्धित यस्ता घटनाहरू यसअघि पनि भएका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जकार्ता, १८ जेठ (रासस/एएफपी) : इन्डोनेसियाको पूर्वी पपुवा क्षेत्रमा रहेको एक माछा मार्ने गाउँमा आइतबार भएको शक्तिशाली विस्फोटबाट कम्तीमा पाँच जनाको ज्यान गएको छ भने करिब २० जना घाइते भएका छन् । प्रहरीले यो विस्फोट दोस्रो विश्वयुद्धकालीन बाँकी रहेको बम वा मोर्टारका कारण भएको हुनसक्ने आशङ्का गरेको छ ।

स्थानीय समयानुसार आइतबार दिउँसो भएको विस्फोटले गाउँभर ठूलो त्रास फैलाएको थियो । कोम्पास टिभीले प्रसारण गरेको दृश्यमा विस्फोटसँगै ठूलो गर्जन सुनिएको, आगोको ठूलो मुस्लो उठेको र त्यसपछि बाक्लो धुवाँको बादल आकाशतर्फ फैलिएको देखिएको छ । विस्फोट यति शक्तिशाली थियो कि घटनास्थल वरपरका नौवटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् ।

प्रहरीका अनुसार विस्फोट एउटा स्टिल्ट हाउस अर्थात् खम्बामाथि बनाइएको घरमुनि भएको थियो । प्रारम्भिक अनुसन्धानका आधारमा यसको स्रोत दोस्रो विश्वयुद्धताका प्रयोग भएको बम वा मोर्टार हुन सक्ने अनुमान गरिएको छ ।

पपुवा प्रहरीका प्रवक्ता काह्यो सुकार्निटोले एएफपीसँग कुरा गर्दै भन्नुभयो, “विस्फोटको स्रोत दोस्रो विश्वयुद्धबाट बाँकी रहेको बम वा मोर्टार हुनसक्ने आशङ्का गरिएको छ ।”

घटनापछि खोज तथा उद्धार कार्य जारी रहे पनि अवस्था अझै स्पष्ट भइसकेको छैन । तीन जना अझै बेपत्ता रहेको विवरण सार्वजनिक गरिएको छ । काह्योका अनुसार घटनास्थलबाट फेला परेका केही मानव अङ्गहरूको पहिचान प्रक्रिया पनि अझै पूरा हुन सकेको छैन ।

उहाँले कम्तीमा १९ जनालाई सामान्य चोटपटक लागेको र उनीहरूको उपचार भइरहेको जानकारी दिनुभयो । साथै, खोजी कार्य र अनुसन्धान सम्पन्न भएपछि थप विवरण सार्वजनिक गरिने पनि बताउनुभयो ।

“पीडितहरूको खोजी र अनुसन्धान प्रक्रिया पूरा भएपछि हामी थप जानकारी दिनेछौँ”, उहाँले भन्नुभयो ।

इन्डोनेसियामा विस्फोटसँग सम्बन्धित यस्ता घटनाहरू यसअघि पनि भएका छन् । गत वर्ष पश्चिम जाभा प्रान्तमा इन्डोनेसियाली सेनाले प्रयोगबाहिर रहेका हतियारहरू नष्ट गर्ने क्रममा खाडलभित्र विस्फोट गराउँदा १३ जनाको मृत्यु भएको थियो । मृतकमध्ये नौ जना सर्वसाधारण थिए ।

दोस्रो विश्वयुद्धका क्रममा इन्डोनेसिया एसियाको प्रमुख युद्धस्थलमध्ये एक बनेको थियो । त्यसबेला जापानी सेनाले डच इस्ट इन्डिजमाथि कब्जा गरेको थियो भने नियन्त्रण पुनः प्राप्त गर्न सहयोगी सेनाहरूले व्यापक सैन्य अभियान सञ्चालन गरेका थिए । त्यस समयका विस्फोटक सामग्री र सैन्य अवशेषका कारण दशकौँपछि पनि कतिपय क्षेत्रमा जोखिम कायम रहेको मानिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार