जेठ २०, २०८३ बुधबार June 3, 2026

सर्वोच्चमा न्यायाधीश नियुक्तिको ढिलाइ विवाद

भदौ २४ गतेको आगजनी र तोडफोडले फैसला लेखनमा जटिलता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीश पद रिक्त हुनु एक महिनाअगावै नियुक्तिका लागि सिफारिस गर्न न्याय परिषद्उपर परमादेश जारी गरेको छ । न्याय परिषद् ऐनमा भएको प्रधानन्यायाधीश-न्यायाधीश पद रिक्त हुनु एक महिनाअगावै सिफारिस गर्नुपर्ने व्यवस्थालाई यथाशीघ्र कार्यान्वयन गर्न सर्वोच्चले परमादेश जारी गरेको हो ।

अधिवक्ता दीपकविक्रम मिश्रले न्याय परिषद् ऐनको व्यवस्था कार्यान्वयनमा नआएकाले चुनौती दिँदै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । ऐनको दफा ४ मा, ‘न्याय परिषद्ले उमेरको हदबाट अवकाश हुने सर्वोच्च अदालतका न्यायाधीशको पद यकिन गरी त्यस्तो पद रिक्त हुनुभन्दा कम्तीमा एक महिना अगाडि नियुक्तिको लागि सिफारिस गर्नेछ’ भन्ने व्यवस्था उल्लेख गरिएको छ । ऐनको उक्त व्यवस्थालाई परिषद्ले बेवास्ता गरेको भन्दै अधिवक्ता मिश्रले रिट दायर गर्नुभएको हो ।

अधिवक्ता मिश्रले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली र उहाँपछिका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले लामो समयसम्म परिषद्को बैठक राख्न नसक्दा सर्वोच्च अदालतमा ठूलो संख्यामा न्यायाधीश रिक्त भएको प्रश्न उठाएर रिट दायर गर्नुभएको थियो । संविधानमा प्रधानन्यायाधीशको नियुक्तिका लागि संविधानको धारा २८४ मा संवैधानिक परिषद्को व्यवस्था गरेको स्मरण गराउँदै सर्वोच्चले पद रिक्त भएको अवस्थामा नियुक्तिको सिफारिस गर्दा उपधारा (३) अनुसार प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगावै संविधानबमोजिम सिफारिस गर्नुपर्ने व्यवस्था रहेको बताएको छ ।

संविधानतः न्याय परिषद्को अध्यक्ष प्रधानन्यायाधीश र सर्वोच्चका वरिष्ठतम् न्यायाधीश सदस्य रहने प्रावधान छ । हाल प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा र वरिष्ठतम् न्यायाधीशमा सपना मल्ल प्रधान हुनुहुन्छ । परिषद्को अध्यक्षका रूपमा रहने प्रधानन्यायाधीश एवं वरिष्ठतम् न्यायाधीशको नाममा परामादेश जारी गरिएको हो । सर्वोच्चले परिषद्को सदस्य रहने कानुन मन्त्रीका नाममा समेत परमादेश जारी गरेको छ ।

प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तिमा कानुनको समय सीमा क्रस गर्दा न्यायमा गम्भीर आँच पुगेको प्रश्न उठाएर अधिवक्ता मिश्रले प्रधानन्यायाधीश र परिषद् सदस्यलाई विपक्षी बनाउँदै २०७५ साउन १३ गते सार्वजनिक सरोकारको रिट दर्ता गर्नुभएको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र विनोद शर्माको संयुक्त इजलासले २०८१ भदौ १८ गते गरेको फैसलाको पूर्णपाठ दुई वर्षपछि सोमबार (जेठ १८) सार्वजनिक भएको हो । रिट निवेदनको आदेशको पूर्णपाठ तयार नगर्दै २०८२ भदौ २४ गते सर्वोच्च अदालतमा भएको आगजनी, तोडफोड र लुटपाटका कारण फैसला लेखनमा जटिलता उत्पन्न भएको पनि पूर्ण पाठमा उल्लेख छ ।

सर्वोच्चले उक्त घटनाका कारण सक्कल मिसिल फेला नपरेको, मुद्दा व्यवस्थापन सफ्टवेयरबाट देखिएको प्रस्तुत रिट निवेदनको स्थिति, रिट निवेदनको आदेश तयारीको क्रममा गरिएको सफ्टवेयर प्रणालीमा भएको टिपोट तथा उपलब्ध भएका कागजातका आधारमा विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति र प्रमाणीकरणसम्बन्धी निर्देशिका, २०८२ बमोजिम पूर्ण पाठ तयार गर्नुपरेको बाध्यता पनि दर्शाएको छ ।

फैसलामा सर्वोच्चले न्यायाधीश वा प्रधानन्यायाधीश रिक्त हुने व्यहोरा नियुक्ति गर्ने निकाय न्याय परिषद् र संवैधानिक परिषद्लाई अवगत हुने विषय रहेको स्मरण पनि गराएको छ । परिषद् अध्यक्ष प्रधानन्यायाधीश र सदस्य रहेका वरिष्ठतम् न्यायाधीशलाई पनि रिटमा विपक्षी बनाइएको थियो । उनीहरू सबैको नाममा सर्वोच्चबाट आदेश जारी भएको हो ।

हाल तीनजना न्यायाधीशको पद रिक्त

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका अतिरिक्त २० जना न्यायाधीश रहने व्यवस्था संविधानले गरेको छ । तर अहिले प्रधानन्यायाधीशका अतिरिक्त १७ जना मात्रै न्यायाधीश रहेकोमा तीनजना न्यायाधीशको पद अझै रिक्त रहेको छ । न्याय परिषद्को ऐनको व्यवस्थाबमोजिम पद रिक्त हुनु तीन महिनाअगावै नियुक्तिका लागि सिफारिस गरिसक्नु पर्नेमा हालसम्म पनि उक्त तीन जनाको नाम परिषद्ले सिफारिसका लागि नपठाएर कानुनकै बेवास्ता गरिएको छ ।

संविधानतः न्याय परिषद्को अध्यक्ष प्रधानन्यायाधीश हुने संवैधानिक व्यवस्था छ । परिषद् सदस्यमा वरिष्ठतम् न्यायाधीश रहने प्रावधान छ । अबदेखि एक महिनाअघि वा कानुनले तोकेको अवधिमै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने संवैधानिक र कानुनी व्यवस्था कार्यान्वयन गर्न भनिएकोमा परिषद्ले उक्त आदेशलाई कत्तिको पालना गर्छ त्यो भने हेर्न बाँकी छ ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया