जेठ २१, २०८३ बिहिबार June 4, 2026

ओलीको अहं अझै उस्तै, नेतृत्व नछाड्ने अडान

पार्टीभित्र चौतर्फी रूपमा नेतृत्व हस्तान्तरणको दबाब बढिरहेका बेला ओलीले आफू अध्यक्ष पदबाट तत्काल नहट्ने दाबी गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गत भदौमा भएको देशव्यापी युवा विद्रोह र फागुनको आम निर्वाचनले मुलुकको राजनीतिमा ठूलो फेरबदल ल्यायो । निर्वाचनमार्फत संसद्मा नयाँ र युवा अनुहारहरू भित्रिएपछि पुराना राजनीतिक दलहरूभित्र पुस्तान्तरण र आन्तरिक पुनर्गठनको बहस निकै तातेको छ । तर, यति ठूलो राजनीतिक उथलपुथल र पार्टीले इतिहासकै सबैभन्दा खराब पराजय व्यहोर्दा पनि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको आक्रामक शैली र प्रस्तुतिमा भने कुनै बदलाव देखिएको छैन । बुधबारबाट काठमाडौंमा सुरु भएको एमालेको सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो पुरानै शैलीलाई निरन्तरता दिनुभएको छ । निर्वाचनपछि पहिलो पटक सार्वजनिक मञ्चमा देखिनुभएका ओलीले चुनावी परिणामलाई सहज रूपमा स्वीकार्न नसकेको स्पष्ट संकेत गर्नुभयो । उहाँले गत फागुनको निर्वाचनलाई ‘तमासा’ को संज्ञा दिँदै यसको परिणाम पहिले नै निश्चित गरिएको जिकिर गर्नुभयो ।

सरकार र राज्य संयन्त्रलाई चुनौती

सम्बोधनका क्रममा अध्यक्ष ओलीले वर्तमान सरकार र राज्यका विभिन्न निकायहरू पूर्वाग्रही ढंगले अघि बढेको आरोप लगाउँदै उनीहरूलाई संयमित रहन चेतावनी दिनुभयो । ‘समय र परिस्थिति सधैँ एउटै रहँदैन, उत्ताउलिएर धेरै अगाडि नबढ्नुहोला’, ओलीले भन्नुभयो, ‘राणा शासन ढल्यो, पञ्चायती तानाशाही ढल्यो, राजतन्त्र ढल्यो, अनेक तन्त्रहरू गए । यो अराजक तन्त्र कति समयको पाहुना हो ? यो धेरै समय चल्न सक्दैन ।’ प्रधानमन्त्रीको कार्यशैलीप्रति लक्षित गर्दै उहाँले नेपाल कसैको व्यक्तिगत सम्पत्ति नभएको र दुई पक्षीय सिमानाको वार्तामा अर्को देशलाई सामेल गर्ने जस्ता अकूटनीतिक काम भइरहेको आरोपसमेत लगाउनुभयो । उहाँले भदौ २३ र २४ गते भएका आगजनी तथा राष्ट्रिय सम्पत्ति विनाशका घटनालाई सरकारले सामान्य रूपमा लिएर पचाउन खोजेको भन्दै आपत्ति जनाउनुभयो । राष्ट्रको सम्पत्ति जलाउने जस्तो गम्भीर अपराधलाई बेवास्ता गर्नु सामान्य कुरा नभएको उहाँको भनाइ थियो ।

सम्पत्ति छानविन र आयोगप्रति आक्रोश

अध्यक्ष ओलीले ‘जेन-जी’ आन्दोलनबारे छानविन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग र सम्पत्ति छानविन आयोगप्रति तीव्र आक्रोश व्यक्त गर्नुभयो । आफूहरूले यस्ता आयोगलाई मान्यता नै नदिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘मेरो घरमा आगो लगाएर खरानी बनाइएको छ, अब सरकार सम्पत्ति विवरणको फारम भर्नुपर्‍यो भन्दै छ । त्यो घरको खरानी नै उठाएर लैजा सरकार !’ कार्की आयोगले आफूले नदिएको बयान छापेको दाबी गर्दै उहाँले भन्नुभयो, ‘आयोगले प्रश्न लेखेर पठाएको थियो, मैले जवाफ लेखेको छैन । तर मेरो जवाफ भनेर छपियो, त्यो उसको इज्जत जोगाउनका लागि मात्र हो ।’

यस्तै, राष्ट्रिय मानव अधिकार आयोगले पनि प्रतिशोध साँध्ने काम गरेको आरोप ओलीले लगाउनुभयो । भदौको घटनाको मुख्य प्रतिवेदन लुकाएर आयोगले पुरानै कानुनविपरीत आफूहरूलाई कारबाही गर्न सिफारिस गरेको भन्दै उहाँले असन्तुष्टि पोख्नुभयो । अदालतको आदेश पालना गराउन खोज्दा र सामाजिक सञ्जाललाई दर्ता प्रक्रियामा आउन भन्दा त्यसलाई मानव अधिकार हननको रूपमा परिभाषित गरिएको भन्दै उहाँले यसलाई ‘आठौँ आश्चर्य’ को संज्ञा दिनुभयो ।

अध्यक्ष ओलीले भदौको आन्दोलनपछिको राजनीतिक घटनाक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले खेलेको भूमिकाप्रति पनि गम्भीर आपत्ति जनाउनुभयो । राष्ट्रपति सरकारको ‘रबरस्ट्याम्प’ बनेको आरोप लगाउँदै उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री बन्न संविधान चाहिएन, संविधानविपरीत प्रतिनिधिसभा भंग हुन्छ, अनि राष्ट्रपतिजी बडो जुक्तिले लोकतन्त्र बचाएँ भन्नुहुन्छ ।’ राष्ट्रपतिले एकपछि अर्को कदम चालेर बडो जुक्तिका साथ लोकतन्त्र सिध्याउने खेल खेलिरहेको आरोप उहाँले लगाउनुभयो ।

आलोचकहरूलाई कटाक्ष

पार्टीभित्र चौतर्फी रूपमा नेतृत्व हस्तान्तरणको दबाब बढिरहेका बेला ओलीले आफू अध्यक्ष पदबाट तत्काल नहट्ने अडान स्पष्ट पार्नुभएको छ । गत पुसको महाधिवेशनबाट आफू निर्वाचित भएको स्मरण गराउँदै उहाँले भन्नुभयो, ‘म अप्ठेरो परिस्थिति आयो भन्दैमा नेतृत्व छाडेर भाग्न अध्यक्ष बनेको होइन । साथीहरूले प्रधानमन्त्री बन्न पाए बस्ने, नभए झोला फालेर भाग्ने मान्छे मलाई नठान्नुहोला र त्यस्तो अपेक्षा पनि नगर्नुहोला ।’ पार्टीभित्र कतिपयले ‘नेतृत्वको शिर काटेर टेबलमा राखे मात्र पार्टी सुध्रिन्छ’ भन्ने खालका अभिव्यक्ति दिइरहेको भन्दै उहाँले आफ्ना आलोचकहरूलाई कडा कटाक्ष गर्नुभयो । यस्तो मानसिकताले पार्टीको हित नगर्ने र विरोधीहरूले आक्रमण गरिरहेका बेला पार्टीभित्रैबाट भ्रम फैलाउने काम भइरहेको उहाँको गुनासो थियो । उहाँले एमाले ३६ वर्षदेखि ‘जनताको बहुदलीय जनवाद’ को जगमा हिँडेकाले सबै नेता-कार्यकर्ता अनुशासित भएर एउटै विचारमा उभिनुपर्ने निर्देशन दिनुभयो ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया