काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति छानबिन आयोगलाई बयान नदिने उद्घोष गरेका छन् ।
‘पार्टीको सदस्यता नवीकरण र विस्तार उत्प्रेरणासम्बन्धी राष्ट्रिय कार्यशालाको उद्घाटन कार्यक्रम’लाई सम्बोधन गर्दै उनले सम्पत्ति छानबिन आयोगलाई अस्वीकार गर्ने सार्वजनिक चेतावनी दिए । उनले भनेका छन्, ‘यस्ता आयोगलाई हामी मान्यता दिदैनौं । अरू कसैले बयान दिए पनि मचाहिँ बयान दिन्नँ । सम्पत्ति विवरण भरेर पठाइदिँन । जे–जे गर्न सक्छ, गरोस् ।’
सरकारले गत वैशाख २ गते प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न सम्पत्ति, जाँचबुझ÷छानबिन आयोग गठन गरेको थियो । सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय आयोगलाई २०६२/६३ सालदेखि हाल (२०८२/८३) सम्म सार्वजनिक पद धारण गरेका उच्चपदस्थको सम्पत्ति छानबिन गर्ने अधिकार दिइएको छ ।
आयोगका सदस्यहरूमा पूर्वन्यायाधीश चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल रहेका छन् ।
आयोगले काम सुरु गरिसकेको छ । यो अवस्थामा पूर्वप्रधानमन्त्री ओलीले सम्पत्ति छानबिन आयोगलाई अस्वीकार गर्ने चेतावनी दिएका छन् ।
यो आयोगलाई अवज्ञा गर्नेमा उनी एक्ला छैनन् । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण मागेपछि एकीकृत धारणा बनाउन भनेर पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरू पनि छलफल गरिरहेका छन् ।
यही गत जेठ १७ गते उनीहरू छलफलमा जुटेका थिए । उक्त छलफलमा पूर्वप्रधानन्यायाधीश र न्यायाधीश गरी ७० भन्दा बढी सहभागी रहेको दाबी गरिएको छ । त्यसयता पनि उनीहरू छलफलमै छन् ।
पूर्वन्यायाधीश फोरमको अगुवाइमा चलिरहेको अनौपचारिक छलफलमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र, रामकुमारप्रसाद शाह, गोपाल पराजुली, सर्वोच्चका पूर्वन्यायाधीशहरू टोपबहादुर सिंह, कृष्णजंग रायमाझी, वैद्यनाथ उपाध्याय, प्राध्यापक पवन ओझा, उच्च अदालतका पूर्वन्यायाधीश र जिल्ला न्यायाधीशलगायत रहेका छन् ।
पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरू आफूहरूसँग सम्पत्ति विवरण माग्नु संविधानप्रतिकूल रहेको भनेर तर्किंदै छन् । यस्तो प्रयासमा केही पूर्वप्रधानमन्त्रीसमेत लागेका हुन् ।
सम्पत्ति छानबिन आयोगले भने पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, सांसद, उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका अधिकारी, न्यायाधीश तथा संवैधानिक निकायका पदाधिकारीको सम्पत्ति विवरण मागिसकेको छ । कार्यक्षेत्र अनुसार २०६२/६३ देखि २०८२/८३ सम्म सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति, दायित्व र खर्चको स्रोत जाँच्न थालेको छ । आयोगले नेपालभित्र मात्र होइन विदेशमा रहेका चल–अचल सम्पत्ति, बैंक खाता, लगानी, पारिवारिक सम्पत्ति तथा सम्भावित बेनामी सम्पत्तिसमेत अध्ययन गर्न सक्ने अधिकार पाएको छ ।
यसबाहेक आयोगले सार्वजनिक सूचना जारी गर्दै सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउन भनेको छ । साथै नागरिकलाई समेत शंकास्पद व्यक्तिहरूको सम्पत्तिबारे उजुरी र प्रमाण उपलब्ध गराउन आह्वान गरेको छ ।
सम्पत्ति छानबिन आयोगको क्षेत्राधिकार अनुसार करिब ३० हजार सार्वजनिक पदाधिकारीको विवरण संकलन हुने अनुमान छ ।
आर्थिक वर्ष २०६२/६३ सालदेखि २०८१/८२ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति विवरणको संकलनसँगै छानबिनको काम सुरु भइसकेको छ ।
सम्पत्ति छानबिन आयोगलाई सहयोग गर्नेगरी मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयबाट ३८ जना कर्मचारी खटिएका छन् । आयोगमा सरकारी वकिल समूहका चारजना उपसचिवसरहको विज्ञ टोली छ ।
नेपाल प्रहरीका प्रहरीबाट नायव उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागबाट उपअनुसन्धान निर्देशक र चार्टर एकाउन्टेन्ट प्रविधि र अनुसन्धान टोलीसमेत अनुसन्धानमा खटिएका छन् । लेखा अधिकृत, शाखा अधिकृत, कम्प्युटर इन्जिनियर, नायव सुब्बा, सवारीचालक र कार्यालय सहयोगीसम्मका कर्मचारीलाई समेत खटाइएको छ । छानबिनको काम सकिएपछि आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन बुझाउनेछ ।
जसमा तत्कालीन श्री ५को सरकार र नेपाल सरकारका पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीको सम्पत्तिको विवरण हुनेछ । संविधानसभाका सदस्य, तत्कालीन संसद्का सदस्य, हालका प्रदेशसभा सदस्य तथा पदाधिकारीका अलवा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, पूर्वन्यायाधीशको सम्पत्ति छानबिनको विवरण रहनेछ ।
महान्यायाधिवक्ता र मुख्य न्यायाधिवक्ता, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिका पूर्व तथा वर्तमान अधिकारीहरूको पनि सम्पत्ति आयोगले केलाउनेछ ।
निजामती सेवा, संसद् सेवा, स्वास्थ्य सेवा र राष्ट्रिय मानव अधिकार सेवाका सबै सहसचिवको सम्पत्ति छानबिनमा छ । साविकको जिल्ला विकास समिति र हालको जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष, नेपाली राजदूतावास तथा कूटनीतिक नियोगका प्रमुख तथा कर्मचारी छानबिनको दायरामा छन् ।मध्यान्ह दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया